एक चुटकी ‘माल’ की कीमत…

डिसी नेपाल
९ असोज २०७७ १३:११

मुम्बइ। बलिउड अभिनेत्री दीपिका पादुकोण पनि बलिउडको ड्रग्स काण्डमा फसेकी छिन् । बलिउडकी सर्वाधिक महंगी अभिनेत्री मानिने दीपिका ड्रग्स केसमा फसेपछि यो विषयले झनै चर्चा पाएको छ । दीपिका भोलि शनिबार नारकोटिक्स कन्ट्रोल ब्यूरोमा बयान दिन उपस्थित हुनेछिन् । आज ब्यूरोले दीपिकाकी म्यानेजर करिश्मा प्रकाश र अर्की अभिनेत्री रकुल प्रित सिंहसँग सोधपुछ गरिरहेको छ । दीपिकाले ड्रग्सका विषयमा गरेको च्याट सार्वजनिक भएपछि उनी यो केसमा फसेकी हुन् ।

दीपिकाको बलिउड डेब्यू फिल्म थियो – ‘ओम शान्ति ओम’ । यो फिल्ममा दीपिकालाई एउटा डाइलग बोल्न भनिएको थियो जुन पुरानो हिन्दी फिल्मको डाइलग थियो । डाइलग थियो ‘एक चुटकी सिन्दूर की कीमत तुम क्या जानो रमेश बाबू …’ । यो डाइलग अहिले फेरि चर्चामा आएको छ । सामाजिक संजालमा ट्रोल बनेका छन् । ट्रोलमा पहिलेको डाइलगमा केही परिमार्जन गरिएको छ र नयाँ डाइलग बनेको छ ‘एक चुटकी माल की कीमत … । दीपिकाले च्याटमा ड्रग्सलाई माल भनेकी थिइन् ।

यदि दीपिका एक चुटकी ‘माल’को केसमा दोषी ठहर भइन् भने यसको मूल्य कति होला ? बलिउडकी सबैभन्दा महंगी नायिकामाथि अहिले उद्योगले कति रकम दाउमा राखेको होला ? यस विषयमा सर्वत्र चासो बढेको छ । भारतीय अखबार दैनिक भास्करका अनुसार ‘एक चुटकी माल’को मूल्य अहिले करिब ६ सय करोड पर्न सक्छ अर्थात बलिउडले अहिले दीपिकामाथि ६ सय करोड दाउमा लगाएको छ । यो ६ सय करोड २ फिल्म र ३३ ब्राण्ड इन्डोर्समेन्टमा गरेर दाउमा लगाइएको छ ।

ट्रेड एनालिस्ट अतुल मोहनले दैनिक भास्करलाई बताएअनुसार निर्माता मधु मन्तेनाको आगामी फिल्म २ सय करोडको प्रोजेक्ट हो र निर्देशक शकुन बत्राको फिल्म ८० देखि ९० करोडको प्रोजेक्ट हो । यसबाहेक ३३ ब्राण्ड इन्डोर्समेन्टमा ३ सय करोड रुपैयाँ दाउमा छ । मधु मन्तेनाको फिल्मको कथा पौराणिक कथा महाभारतकी पात्र द्राैपदीबाट प्रेरित भएको बताइएको छ । अर्कोतर्फ मधु मन्तेना स्पयं पनि दीपिकासँगै ड्रग्स केसमा फसेका छन् ।

ट्रेड एनालिस्ट र ४० वर्षदेखि फिल्म वितरणमा सक्रिय राज बंसलका अनुसार यसबाट दीपिकाको करिअरमा असर पर्नेछ । अहिले देशमा किसान बिलको विषयमा कुरा कम भएको, सुशान्त सिंहको हत्या कसले  गर्यो भन्ने विषयमा पनि चर्चा नभएको बरु आम जनताले हरेक समय ड्रग्स केसमा को फस्ट भनेर चासो दिएकोले यसको प्रभाव गम्भीर हुने बंसल बताउँछन् । अर्का ट्रेड एनालिस्ट अतुल मोहनले संजय दत्त पनि ड्रग्स केसमा फसेको र दर्शकले उनलाई त्यसपछि पनि स्वीकार गरेको उदाहरण दिँदै यो घटनाले दीपिकाको फिल्ममा असर नगरे पनि ब्राण्ड एन्डोर्समेन्टमा भने नोक्सानी हुने बताउँछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *