साउनमा भित्रियो ९२.७१ अर्व रेमिट्यान्स

डिसी नेपाल
९ असोज २०७७ २०:०९

काठमाडौं। कोभिड–१९ को महामारीले वैदेशिक रोजगारी प्रभावित भए पनि रेमिट्यान्स भने वृद्धि भएको छ। कोरोना कहरकै बिच चालु आर्थिक वर्षको पहिलो महिना साउनमा रेमिट्यान्स २३ प्रतिशतले बृद्धि भएको छ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थिति सम्बन्धी प्रतिवेदन अनुसार २०७७ साउनमा विदेशमा रहेका नेपालीहरुले रेमिट्यान्सबाट ९२ अर्ब ७१ करोड रुपैयाँ पठाएका छन्। अघिल्लो आर्थिक वर्षको साउनमा ७५ अर्व ४० करोड रेमिट्यान्स भित्रिएको थियो।

कोभिड संक्रमणका कारण रेमिट्यान्स घट्ने अनुमान गरिएपनि बैशाखयता रेमिट्यान्स बढिरहेको छ। असार महिनामा हालसम्मकै उच्च एक खर्व रुपैयाँ भन्दा बढि रेमिट्यान्स भित्रिएको थियो।

कोभिड संक्रमण रोक्न गरिएको लकडाउन र निषेधाज्ञाका कारण हुण्डीको कारोबार बन्द हुँदा बैंकिङ च्यानलबाट रेमिट्यान्स बृद्धि भएको राष्ट्र बैंकले अनुमान गरेको छ। यसैगरी अमेरिकी डलरको भाउ उच्च भएकाले पनि रेमिट्यान्स बृद्धि भएको छ।

कोभिडका कारण वैदेशिक रोजगारीबाट फर्किने नेपालीहरुको संख्या बढेको र उनीहरुले जागीर छोट्दा पाएको रकम एकमुष्ट पठाएकाले पनि रेमिट्यान्स बढेको हो।

कोभिड–१९ को संक्रमण रोक्न नेपाललगायत विश्वका अधिकांश देशमा लकडाउन भएको समय २०७६ चैतमा सबैभन्दा कम ३४ अर्व ४८ करोड मात्र रेमिट्यान्स भित्रिएको थियो। अवस्था सामान्य हुन थालेपछि बैशाखदेखि सुधार हुदै असारमा एक खर्व १६ अर्व रेमिट्यान्स भित्रिएको हो।

आर्थिक वर्षसँगको तुलनामा गत आवमा रेमिट्यान्स ०.५ प्रतिशतले मात्र घटेको छ । अघिल्लो आवमा ८ खर्व ७९ अर्व रेमिट्यान्स भित्रिएकोमा गत आवमा ८ अर्व ८५ करोड रेमिट्यान्स भित्रिएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *