६० रुपैयाँमा एककिलो प्याज
काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो थापाथली बिक्रीकक्षबाट प्रतिकेजी रु ६० मा प्याज सर्वसाधारणलाई बिक्रीवितरण गर्न शुरुआत गरेको छ । सरकारले बजार अनुगमनका क्रममा बढी मूल्यलिई बिक्री गर्न लागेका प्याजलाई जफत गरी सर्वसाधारणलाई सो कक्षबाट प्याज बिक्री गर्न थालेको हो । काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको थापाथली बिक्रीकक्षबाट सर्वसाधारणलाई प्रतिकेजी रु ६० मा प्याज उपलब्ध गराउँदै आएको जानकारी दिए।
उनका अनुसार बजार अनुगमनका क्रममा १४ हजार ६०० केजी प्याज सरकारले नियन्त्रणमा लिएको छ । “ हामीले प्याजको चर्को मूल्यमा बेच्ने व्यापारीबाट प्याज नियन्त्रणमा लिए आफै बेच्न थालेको हौ ”, उनले भने, “ एक जनालाई तीन किलोसम्म दिन थालेको छौ । ”
उनका अनुसार रु ५२ राजस्व र रु ८ खाद्य कम्पनीको खातामा जिम्मा गरिने छ । केही दिन अघि उपत्यकामा प्याजको मूल्य रु १२० सम्म पुगेको बताइएको छ ।
उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजार अनुगमन समेत गरेका थिए। प्रजिअ दाहालले प्याजजस्तै चिनी लगायत अन्य खाद्यान्नमा कृत्रिम अभाव सिर्जना गरेर बजारमूल्य भन्दा बढी बिक्रीको पाइएमा हस्तक्षेप गरि आफैँ बिक्री गर्ने जानकारी दिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment