कांग्रेस विवादः निर्णायक संघर्षमा पौडेल समूह

डिसी नेपाल
१२ असोज २०७७ ८:२६

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसमा चर्किएको विवादका बीच सोमबार सभापति शेरबहादुर देउवा विरुद्ध वरिष्ठ नेता रामचन्द्र पौडेल समुहले विरोध पत्र बुझाउने भएको छ। सोमबार पार्टी मुख्यालय पुगेर विरोध पत्र बुझाउन लागिएको केन्द्रीय सदस्य गुरु घिमिरेले पुष्टि गरे।

उनका अनुसार केन्द्रीय सदस्य दीपक गिरी र नविन्द्रराज जोशीले सभापति देउवाविरुद्धको विरोध पत्र पार्टी कार्यालयमा बुझाउने कार्यक्रम तय भएको बताए।

२०७० फागुनमा सभापति निर्वाचित भएका देउवाले पार्टीको विधान विपरित गतिविधि गर्दै आएको आरोप लगाइरहेको पौडेल समूहले सभापतिविरुद्ध निर्णायक संघर्षमा उत्रिन लागेको हो।

सभापति देउवाको कार्यकाल काँग्रेस विधानअनुसार गत फागुनमा सकिए पनि महाधिवेशन हुन नसक्दा एक वर्ष कार्यकाल थपेर आगामी फागुनमा महाधिवेशन गर्ने मिति तोकियो। तर, सो समयमा पनि महाधिवेशन गर्ने सम्भावना नदेखिएपछि पौडेल समूह देउवाको ‘अवैधानिक गतिविधिविरुद्ध’ आन्दोलनमा जाने भएको हो।

सोमबार बुझाउन लागिएको विरोध पत्र पनि संघर्षको एक कार्यक्रम रहेको केन्द्रीय सदस्य घिमिरेले बताए।  सपभापति देउवाले महाधिवेशन सकिएको ६ महिना भित्र गठन गर्नुपर्ने पार्टीका विभाग आफ्नो थपिएको कार्यकालमा धमाधम गठन गरिरहेका छन्।

महाधिवेशन प्रभावित पार्ने नियतका साथ सभापति देउवाले विभाग गठन गरेको र सो कदम विधानविपरित भएको भन्दै पटक पटक विरोध गर्दा पनि सभापति देउवाले आफ्नो मनोमानी गर्न नछोडेको पौडेल समूहको आरोप छ।

राधेश्याम अधिकारीको संयोजकत्वमा रहेको केन्द्रीय निर्वाचन समितिमा समेत पौडेल समुहले सभापति देउवाले विधान विपरित गतिविधि गरेको भनेर उजुरी दिएको थियो। तर, सो उजुरीमाथि पनि सुनुवाई नभएको पौडेल समुहको आरोप छ।

वरिष्ठ नेता पौडेलले सभापति देउवालाई भेटेरै विधान विपरितका काम नगर्न भनेका थिए। तर, पनि देउवाले मानेनन्। केन्द्रीय सदस्य घिमिरेले भने, ‘वरिष्ठ नेता पौडेलको भनेको नमान्ने, निर्वाचित महामन्त्रीले भनेको नमान्ने, निर्वाचित कोषाध्यक्षले भनेको नमान्ने, उहाँ (देउवा)को नियत के हो?’

केन्द्रीय सदस्य घिमिरेले पार्टीको क्रियाशिल सदस्यता वितरण तथा नवीकरणमा पनि सभापति देउवाले विधान मिचेको दावी गरे। उनले भने, ‘विभिन्न जिल्लाहरुमा व्यक्तिगत ढंगबाट सदस्यता फार्म वितरण गरिएको छ। तर कार्भेलगायतका जिल्लामा भने सदस्यता फार्म नदिने? उहाँ (सभापति)को नियत के हो?’

केन्द्रीय सदस्य घिमिरेले पार्टीको विधान विपरित गतिविधि गर्ने छुट कसैलाई नभएको बताए। उनले पार्टीको अवस्था नाजुक रहेका बेला सुधार गरेर अगाडि बढ्नुपर्ने बेला सभापति देउवा पार्टीलाई विधान विपरित चलाउन क्रियाशील भएको दावी गरे।

उजुरी गर्दा, भेटेर असन्तुष्टि व्यक्त गर्दा र पटक पटक मौखिक रुपमा विरोध जनाउँदा पनि सभापति देउवा विभाग गठनलगायतका पौडेल समूहकै शब्दमा विधान विपरितका गतिविधि नरोकिएपछि चरणवद्ध आन्दोलनमा जाने पौडेल समूहले निष्कर्ष निकालेको छ।

सोमबार बुझाउन लागिएको विरोध पत्र आन्दोलनकै एक कार्यक्रम हो। त्यसपछि पनि नरोकिए, धर्ना दिने, देश व्यापी ‘भण्डारफोर’ गर्नेलगायतका कार्यक्रम गरिने पौडेल समूहले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *