प्रत्येक विद्यालयमा कोरोना फोकल पर्सन विद्यालय सञ्चालनमा
सांकेतिक तस्विर
रूकुम । रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाले सबै विद्यालयलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ। गाउँपालिकाभित्रका सबै विद्यालयका प्रधानाध्यापकलाई विद्यालयमा आवश्यक पर्ने स्वास्थ्य सामग्री वितरण गरेको गाउँपालिकाले जनाएको छ।
कोरोना महामारीको यो अवस्थामा विद्यालय खोलेर विद्यार्थीको नियमित पठनपाठन अगाडि बढाएको गाउँपालिकाले कोरोना जोखिमलाई कम गर्न विद्यालयलाई स्वास्थ्य सामग्री प्रदान गरेको हो । प्रदान गरिने स्वास्थ्य सामग्रीमा सेनिटाइजर, मास्क र हात धुने साबुन रहेको गाउँपालिकाका उपाध्यक्ष ओमकुमारी शाहीले बताइन्।
गाउँपालिकाका १४ वटा वडाले रु एक–एक लाख जम्मा गरी रु १४ लाखमा स्वास्थ्य सुरक्षाका सामग्री खरिद गरेर वितरण गरिएको गाउँपालिकाले जनाएको छ । ती स्वास्थ्य सामग्री विद्यालयमा शिक्षक, शिक्षिका र विद्यार्थीले प्रयोग गर्नेछन् । यही असोजको १ गतेबाट विद्यालय खालेको गाउँपालिकाले विद्यार्थीको नियमित पठनपाठनलाई अगाडि बढाउन थालेको छ । गएको वर्ष चैत ११ गतेबाट बन्द भएका शैक्षिक संस्था अझै खुल्न नसक्दा विद्यार्थी समस्यामा छन् ।
विद्यार्थीको शैक्षिक सत्रलाई खेर जान नदिन भन्दै गाउँपालिकाले कार्यपालिका बैठकबाट असोज १ गतेबाट विद्यालय खोल्ने निर्णय गरेको थियो । सोही निर्णयानुसार नै अहिले स्वास्थ्य सुरक्षाका मापदण्डपालन गर्दै विद्यालय खोलेको गाउँपालिकाका उपाध्यक्ष शाहीले बताइन्।
प्रत्येक विद्यालयमा एकजना शिक्षकलाई अनिवार्य रुपमा कोरोना फोकल पर्सन (स्रोत व्यक्ति) तोकेर जिम्मेवारी दिनुपर्ने व्यवस्था गरिएको छ । ती स्रोत व्यक्तिले आफ्नो विद्यालयमा रहेका विद्यार्थीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी राख्ने र कोही बिरामी भएमा तत्कालै गाउँपािलकालाई जानकारी गराउनुपर्ने निर्णय गरिएको उपाध्यक्ष शाहीको भनाइ छ।
गाउँपालिकाभर अहिले ४४ वटा विद्यालय रहेका छन् । गाउँपालिकाको केन्द्र नजिकै रहेका तीन वटा विद्यालयमा भने तत्कालै पठनपाठन सञ्चालन नगरिने उपाध्यक्ष शाहीले बताइन्। ती विद्यालय क्वारेन्टिनको रुपमा प्रयोग भएकाले केही समय पछाडि मात्र त्यहाँ पठनपाठन सुचारु गरिने उपाध्यक्ष शाहीले बताइन्। रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment