‘कौसी क्विन फोटो प्रतियोगिता’ हुने

डिसी नेपाल
१३ असोज २०७७ १६:४०

काठमाडौं । कौसी खेती प्रवद्र्धनका लागि वाग्मती प्रदेशस्तरीय ‘कौसी क्विन–२०७७ फोटो प्रतियोगिता’ हुने भएको छ ।

प्रतियोगितमा राम्रो फोटो पठाउनेलाई विभिन्न पुरस्कारको व्यवस्था गरेको छ । प्रज्ञान क्रियसन प्रालिद्वारा सञ्चालित हलोखबर डटकमले आयोजना गरेको सो प्रतियोगितामा वाग्मती प्रदेशका प्रतियोगीले मात्र भाग लिन पाउने प्रज्ञान क्रियसन प्रालिका प्रबन्धक मनोज श्रेष्ठले बताए ।

कौसी खेतीलाई प्रवद्र्धन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरेको बताउँदै उनले यस प्रतियोगितमा सहभागी हुनका लागि कौसी खेती गर्दै गरेको कम्तीमा तीनवटा फोटो र एउटा भिडियो पठाउनुपर्ने बताए ।

पठाइएको फोटोमा क्याप्सन अनिवार्य रुपमा राख्नुपर्ने हुन्छ । विवरण नेपाली वा अङ्ग्रेजी भाषामा हुनुपर्ने, फोटो स्पष्ट र ठूलो साइजको हुनुपर्ने र फोटो इमेलबाट मात्र पठाउनुपर्ने प्रावधान राखिएको छ । यस प्रतियोगितामा सहभागी हुनका लागि कुनै शुल्क नलाग्ने प्रबन्धक श्रेष्ठले बताए ।

सर्वोत्कृष्ट पुरस्कार विजेतालाई रु ५५ हजार ३५० मूल्य बराबरको कौसी खेती गर्ने विभिन्न सामग्री प्रदान गर्नेछ । विधागत पुरस्कारअन्तर्गत तरकारी खेतीतर्फ प्रथम हुनेलाई रु २५ हजार ३५०, दोस्रो हुनेलाई रु १६ हजार ८५० र तेस्रो हुनेलाई रु १० हजार ५० मूल्य बराबरको कौसी खेतीका विभिन्न सामग्री प्रदान गरिने आयोजकले जनाएको छ ।

साना जनावर (कुखुरा, बट्टाइँ, परेवा, हाँसलगायत) विधातर्फ प्रथम हुनेलाई रु सात हजार, दोस्रोलाई रु छ हजार र तेस्रोलाई रु पाँच हजार प्रदान गरिने छ भने साना फलफूल तथा पुष्प खेती विधातर्फ प्रथमलाई रु २० हजार, दोस्रोलाई रु १५ हजार र तेस्रोलाई रु १० हजार प्रदान गर्ने बताइएको छ ।

प्रतियोगी छनोटका लागि हलोखबर डटकमको फेसबुक पेजमा पोस्ट गरिएका आफ्नो फोटोमा प्रतियोगीले धेरैभन्दा धेरै लाइक, कमेन्ट, सेयर र ट्याग गर्ने र गर्न लगाउनुपर्ने हुन्छ । त्यसका साथै हलोखर डटकम पेज लाइक र सेयर अनिवार्य गनुपर्ने हुन्छ । जुन फोटोमा जसको जति लाइक, कमेन्ट र सेयर हुन्छ । त्यसले त्यति नै अङ्क प्राप्त गर्ने आयोजकले जनाएको छ । फोटो पठाउने अन्तिम मिति २०७७ असोज मसान्तसम्म रहेको छ । कात्तिक १ गते सबै प्रतियोगीको फोटो एकैसाथ हलोखबर डट कमको पेजमा पोस्ट गर्नेछ । कात्तिक महिनाभर सो फोटो फेसबुकमा रहनेछन् । यसको नतिजा मङ्सिर १ गते सार्वजनिक हुने आयोजकले जनाएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *