२० नेपालीले क्यानडा सरकारविरुद्ध हाले मुद्दा, २ अर्ब रुपैयाँभन्दा बढी क्षतिपूर्ति माग

काठमाडौं। ४ वर्षअघि २०१६ मा अफगानिस्तानको काबुलमा भएको विष्फोटमा मारिने नेपालीका आश्रित विधवा र विष्फोटमा बाँच्न सफल नेपाली गरी कूल २० नेपालीले क्यानडा सरकारविरुद्ध क्षतिपूर्तिको मुद्दा दायर गरेका छन् । २०१६ को जून २० मा भएको यो आक्रमणमा त्यहाँ कार्यरत १३ नेपालीले ज्यान गुमाएका थिए । काबुलमा क्यानडाको दूतावासका लागि सुरक्षाको काम गर्ने यी नेपाली सवार बसमा इस्लामिक स्टेटका एक आत्मघाती बम आक्रमणकारीले आक्रमण गरेका थिए ।

क्यानडाको सरकारी मिडिया क्यानेडियन ब्रोडकास्टिङ कर्पोरेसन (सीबीसी)का अनुसार यो आक्रमणमा बाँच्न सफल नेपाली र मारिएका नेपालीका विधवाहरुले मंगलबार क्यानडा सरकारविरुद्ध टोरन्टोमा आन्टारियो सुपेरियर कोर्ट अफ जस्टिसमा मुद्दा दर्ता गराएका हुन् । यी नेपालीहरुले क्यानडा सरकारमाथि लापरवाहीको आरोप लगाएका छन् । उनीहरुले ती नेपालीलाई काममा लगाउने सब्रे इन्टरनेशनल सेक्युरिटी कम्पनीमाथि निगरानी गर्न क्यानडा सरकार असफल भएको आरोप लगाएका छन् ।

‘यो आक्रमण क्यानडा सरकार र सब्रे इन्टरनेशनल सेक्युरिटीको लापरवाही र नेपाली तथा भारतीय सुरक्षाकर्मीप्रति विभेदपूर्ण व्यवहारको परिणाम थियो’ नेपालीहरुले दायर गरेको अभियोग पत्रमा भनिएको छ ‘ती नेपाली र भारतीय सुरक्षाकर्मीलाई कैयौं किलोमिटर टाढा बस्ने व्यवस्था गरिएको थियो र उनीहरुलाई दैनिक आवतजावतका क्रममा पर्याप्त सुरक्षा उपलब्ध गराइएको थिएन ।’ मुद्दा दर्ता गरिसकेपछि कुनै पनि बाँच्न सफल नेपाली वा मारिनेका परिवारले सार्वजनिक रुपमा केही भनेका छैनन् । बाँच्न सफल २ जना र ४ जना विधवाहरु अनुवादकको सहयोगमा सीबीसीसँग कुरा गर्न राजी भएका छन् ।

ती नेपालीहरुलाई त्यहाँ काममा लगाउने ठेकेदार कम्पनीलाई पनि यही अभियोग लगाइएको छ । मारिने नेपालीका विधवाहरुलाई ३ लाख डलर दिने भनिएकोमा त्यसको केही अंश मात्र दिइएको र बाँच्न सफल नेपालीहरुलाई पनि उपचारको लागि ३ लाख डलर दिने भनिएकोमा ३० हजार डलर मात्र दिइएको उनीहरुले अभियोग पत्रमा उल्लेख गरेका छन् । नेपालीहरुले ती नेपालीलाई दिने भनिएको रकम र दिइएको रकमबीचको फरक क्यानडा सरकारले पूर्ति गर्नुपर्ने र सबै २० जना लाभग्राहीलाई भएको क्षतिको पूर्ति गरिनुपर्ने माग गरेका छन् । उनीहरुले सबैका लागि क्षतिपूर्तिस्वरुप २०.४ मिलियन डलर (करिब २ अर्ब ३९ करोड नेपाली रुपैयाँ) एकमुष्ट रुपमा माग गरेका छन् ।

प्रेम क्षेत्री

यो आक्रमणमा बाँच्न सफल एक नेपाली प्रेम क्षेत्री भन्छन् ‘मेरो भाग्यमै यस्तै लेखिएको थियो होला र म बाँचें तर मलाई थाहा छैन यो कसरी सम्भव भयो । मलाई अहिले पनि भित्रबाट म जीवित छैन जस्तो अनुभूति हुन्छ । मैले मेरा साथीहरुलाई मेरो आँखै अगाडि मरेको प्रत्यक्ष देखेको छु । केहीले आफ्नो टाउको त केहीले खुट्टा गुमाएका थिए ।’ पूर्व गोर्खा सैनिक क्षेत्रीले हातमा लञ्चबक्स बोकेर बसतर्फ जाने क्रममा उनको हातबाट लञ्चबक्स खसेपछि उनी बाँचेका थिए । उनी लञ्च बक्स उठाउन केही बेर रोकिनुपरेको थियो । उनले झुकेर लञ्च बक्स उठाउँदै गर्दा विष्फोट भएको थियो ।

काबुलमा क्यानडाको दूतावासका लागि काम गर्ने नेपालीहरुले ८ सय डलरदेखि ११ सय डलरसम्म पारिश्रमिक पाउँथे । ‘उनीहरु हाम्रो देशको सेवा गर्ने क्रममा मारिएका हुन् र उनहिरुलाई पन्छाइएको छ’ उजुरीकर्ता नेपालीको तर्फबाट मुद्दा लड्ने वकिल जो फियोरेन्टेले भने । फियोरेन्टेले यस प्रकारका अन्तर्राष्ट्रिय उत्तरदायित्व सम्बन्धी धेरै केस लडिसकेका छन् । फियोरेन्टेले अगाडि भने ‘हाम्रो सरकारले उनीहरुलाई परित्याग गरेको छ र हामीलाई लाग्छ त्यो अपमानजनक र स्पष्ट भन्दा अस्वीकार्य कुरा हो ।’

सब्रे इन्टरनेशनल सेक्युरिटीका प्रतिनिधिसँग सीबीसीले प्रतिक्रिया लिन खोजेको भए पनि प्रतिनिधि उपलब्ध हुन सकेनन् । कम्पनीको वेबसाइट बन्द गरिएको छ र यसका नेपालसहित विभिन्न देशमा भर्तीको लागि संचालन हुने इमेलहरुमा पठाइएका सन्देशमध्ये केहीको जवाफ आएन र केही फिर्ता आएका छन् । सामान्य रुपमा बुझ्दा सब्रे इन्टरनेशनलले विष्फोटपछि क्यानडा सरकारसँग आफ्नो सम्झौता खारेज गर्यो र क्यानडा सरकारलाई अर्को विकल्प खोज्नुपर्ने स्थितिमा छाडेर भाग्यो । यो कम्पनीले अहिले इराक र अफगानिस्तानमा कानुनी रुपले काम पनि गरिरहेको छैन ।

अदालतको नोटिस दिन सब्रेको ठेगाना खोज्न पनि निकै कठिनाइ भएको वकिल फियोरेन्टेले बताएका छन् । ‘तिनीहरु लुकेको जस्तो देखिएको छ’ फियोरेन्टेले भने ‘यसले यो कम्पनीसँग क्यानडा सरकारले कसरी सम्झौता गर्यो भन्ने विषयमा पनि गम्भीर प्रश्न उठाएको छ ।’ सम्झौता गर्ने क्यानडा सरकारको ग्लोबल अफेयर्स विभागलाई गत हप्ता यसबारे सोधिएको थियो । मंगलबार समेत पटक पटक आग्रह गर्दा समेत अधिकारीहरुले कम्पनीको छनोटबारे कुनै प्रश्नको जवाफ दिएनन् ।

मान बहादुर थापा

गोर्खाली सैनिकको रुपमा १५ वर्ष बिताएका मान बहादुर थापा पनि यो विष्फोटमा बााच्न सफल भएका थिए । उनको काँधमा अझै पनि बमका छर्रा छन् र यो आक्रमणबारे निकै कम सम्झिन्छन् । थापाका अनुसार उनी घटनाको करिब २ हप्तापछि दिल्लीको एक अस्पतालमा होसमा आएका थिए जहाँ उनले आफूलाई शोकाकूल आफन्तका अनुहारले घेरिएको अवस्थामा पाएका थिए । ‘म रुन्थें’ थापाले सीबीसी न्यूजसँग भने ‘डेढ महिनाको अवधि निकै कठिन थियो । मलाई लाग्थ्यो त्यो कष्टकर अवस्थामा बाँच्नुभन्दा शायद मृत्यु सजिलो हुनथ्यो ।’

थापाका अनुसार दिल्लीमा भारतको लागि क्यानडाको दूतावासका कर्मचारी र स्वयं राजदूतले नियमित रुपमा घाइते सुरक्षाकर्मीहरुसँग काबुलमा रहँदा उनीहरुको खाना, आवास र काम गर्ने स्थितिको बारेमा सोधिरहन्थे तर ती गोर्खालहिरु कम्पनीको नीतिका कारण आफ्नो समस्याबारे बोल्न प्रतिबन्धित थिए । ‘गोर्खालीहरुको सबैभन्दा ठूलो चिन्ताको विषय भनेको काममा जाँदा र फर्किंदा सुरक्षाको थियो । पश्चिमाहरु त काबुलमा हतियारबन्द एसयुभी र सैनिकका गाडीका हिँड्ने’ थापाले भने । थापाका अनुसार उनीहरुले १ वर्षदेखि कम्पनीसँग सुरक्षाको कुरा उठाइरहेका थिए तर कम्पनीले वास्ता गरेन ।

नेपाल सरकारले २ वर्षदेखि क्यानडा सरकारसँग ती बाँच्न सफल गोर्खाली र मारिने गोर्खालीका परिवारलाई उचित क्षतिपूर्ति दिलाउन प्रयास गरिरहेको छ । नेपाल सरकारले उक पटक औपचारिक कूटनैतिक नोट समेत पठायो तर पीडितले कुनै क्षतिपूर्ति पाउन सकेका छैनन् । नेपाली राजनीतिज्ञले सार्वजनिक रुपमै क्यानडामाथि बेवास्ता र गोर्खालकिो सुरक्षामा असफल भएको आरोप लगाएका छन् । तर, क्यानडा सरकारले यस विषयमा केही गरेको छैन । ‘ती सुरक्षाकर्मी र क्यानडा सरकारबीच कुनै रोजगारी सम्झौता छैन । ती गार्डहरुलाई सब्रेले काममा राखेको हो’ तत्कालीन क्यानडाली विदेशमन्त्री स्टेफेन डायोनले विष्फोटको उक महिनापछि एक प्रेस नोटमा भनेका थिए ।

चित्र कुमारी कोइराला

चित्र कुमारी कोइराला काबुलमा मारिले गोर्खालीमध्ये एक मधुसुदन कोइरालाकी विधवा हुन् । १७ वर्ष नेपाली सेनामा काम गरेर अवकाश पाएका कोइरालाकी पत्नी चित्रकुमारीले क्यानडा सरकार आफ्नो जिम्मेवारीबाट पन्छिएकोप्रति आक्रोशित छिन् । ‘हाम्रो परिवारले उनीहरुको सुरक्षामा काम गरिरहेको थियो’ कोइरालाले भनिन् ‘जब मारिसहरु ड्युटीमा मारिन्छन्, उनीहरुको (क्यानडालीको) कुनै जिम्मेवारी हुँदैन ? उनीहरुले स्वीकार गर्नुपर्छ कि हाम्रा नेपालीहरु उनहिरुको गैरजिम्मेवार व्यवहार र बेवास्ताका कारण मारिएका हुन् । उनहिरुले हाम्रो कुरा सुन्नुपर्छ ।’

नेपाली गोर्खालीहरु विश्वभर आफ्नो बहादुरीका लागि परिचित छन् । उनीहरुले १९ औं शताब्दीदेखि बेलायती सेनामा सेवा गरिरहेका छन् र अहिलेका ‘वार जोन’मा उनीहरु लामो समयसम्म कठिन परिस्थितिका काम गर्नका लागि पहिरो रोजाइमा छन् । कोइरालाले आफ्ना श्रीमानलाई सब्रेको लागि काम नगर्न बिन्ती गरेको बताइन् । यो दम्पतीले यसअघि नै एक छोरा र एक छोरी गुमाएको पीडा झेलिसकेका थिए । २०१५ को भूकम्पमा उनीहरुका दुई सन्तान मारिएका थिए ।

‘उहाँले मलाई छ महिनामा फर्किन्छु भनेर सान्त्वना दिनुभयो’ कोइरालाले भनिन् ‘उहाँले हाम्रो छोरा मारिएको पीर नगर्न सम्झाउनुभयो र जीवनभर मेरो ख्याल राख्ने बाचा गर्नुभयो ।’ अफगानिस्तानमा रहँदा पनि उनका श्रीमानले उनलाई आफू सुरक्षित रहेको र खतरा भनेको १० मिनेटको बाटोको यात्रामा मात्र भएको बताउने गर्थे । उनीहरुको अन्तिम कुराकानीले उनको घाउ बल्झाइरहन्छ । ‘उहाँले भन्नुभएको थियो – सबै भाग्यको खेल हो त्यसैले राम्रो सोच ।’

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो