हिरासत मृत्यु प्रकरणमा गम्भीर छानविनको तयारी, दलितमाथि हुने हिंसा रोक्न सुझाव दिइने
काठमाडौं। राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले प्रहरी हिरासतमा मारिएका श्रीकृष्ण बिकको घटनालाई अत्यन्त गम्भीर रूपमा लिइएको बताएका छन्।
मंगलबार आयोजित दलित समुदायमाथि भएका हिंसा र विभेदका घटनाबारे मानवअधिकार समुदायसँगको विशेष अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले श्रीकृष्ण बिकको हिरासतमा भएको अप्रत्यासित मृत्युलाई सुरुदेखि नै आयोगले प्राथमिकताका साथ उठाएको बताए।
उनका अनुसार आयोगले प्रारम्भमै उक्त मृत्यु प्रहरी यातनाका कारण भएको हुन सक्ने धारणा सार्वजनिक गरेको थियो। ‘राष्ट्रिय दलित आयोगले धारणा सार्वजनिक गरेपछि दबाब सिर्जना भई जिल्ला प्रशासनबाट छानविन समिति गठन भयो, त्यसपछि प्रदेश र डिआइजीको संयोजकत्वमा समेत छानविन अघि बढ्यो,’ उनले भने।
विश्वकर्माले सबै तहका छानविन समितिमा दलित प्रतिनिधित्व सुनिश्चित गरिएको र उनीहरूसँग निरन्तर संवाद भइरहेको जानकारी दिए। उनले थपे, ‘यो छानविन फरक ढंगले हुनुपर्छ, जसले भविष्यमा देशभर यस्ता सम्भावित घटना रोक्न मद्दत गरोस् भन्ने हाम्रो उद्देश्य छ।’
आयोगले घटनासम्बन्धी विस्तृत विवरण माग गर्दै प्रहरीलाई विभिन्न प्रश्न सोधेको उनले बताए। ‘श्रीकृष्ण बिकविरुद्ध परेको जाहेरीमा के थियो? कसरी नियन्त्रणमा लिइयो? हिरासतमा को–को ड्युटीमा थिए? अदालतमा म्याद थप गर्दा बयान के थियो? लगायतका सबै विवरण माग गरेका छौं,’ उनले भने।
कार्यक्रममा मानवअधिकार आयोगका सचिव मुरारी खरेलले मानवअधिकार आयोगमा दलित समुदायको प्रतिनिधित्व नभएको विषय उठाए। ‘मानवअधिकार आयोगमा दलित सदस्य छैनन्, किन छैनन् भन्ने प्रश्न उठ्छ। संवैधानिक परिषद्ले योग्य ठानेन कि भन्ने प्रश्न पनि आउँछ,’ उनले भने।
खरेलले आयोगले काम गरिरहेको भए पनि त्यसबारे प्रभावकारी रूपमा जानकारी दिन नसकिएको स्वीकार गरे। ‘हामी काम गरिरहेका हुन्छौं तर कहिलेकाहीँ सार्वजनिक गर्न सक्दैनौं। आयोग अनुसन्धान गर्न गयो तर आयोग गएको कुरा भन्न सकेनौ। आगामी दिनमा समुदायसम्म स्पष्ट सन्देश पुग्ने गरी काम गर्छौं,’ उनले भने।
उनले सरकारलाई जवाफदेही बनाउनु नै आयोगको मुख्य जिम्मेवारी रहेको उल्लेख गर्दै ‘सरकारले जे गरे पनि ठीक हुन्छ भन्ने होइन,’ भन्दै मानवअधिकार संरक्षणमा आयोग सक्रिय रहने बताए।







डिसी नेपाल







Facebook Comment