इन्धनको मूल्यवृद्धिमा अन्तर्राष्ट्रिय बजारको दबाब: प्रतिसिलिन्डर ग्यासमा अझै हजार रुपैयाँ घाटा
काठमाडाैं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्यवृद्धिमा अन्तर्राष्ट्रिय बजारको सिधा प्रभाव रहेको स्पष्ट पारेका छन्।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव राउतले नेपाल आयल निगमले ठूलो आर्थिक घाटा सहेर पेट्रोलियम पदार्थको आपूर्ति गरिरहेको जानकारी दिए।
सचिव राउतका अनुसार विगतमा लागू गरिएको स्वचालित मूल्य प्रणालीमा रूस-युक्रेन युद्धका कारण अवरोध सिर्जना भएको थियो।
युद्धको समयमा अन्तर्राष्ट्रिय बजारमा मूल्य अत्यधिक बढेपछि नेपालमा सोही अनुपातमा मूल्य बढाउन नसक्दा आयल निगमले एक समय प्रतिलिटर पेट्रोलमा १०० रुपैयाँभन्दा बढी घाटा बेहोरेर बिक्री गरेको उनले उल्लेख गरे।
निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) बाट इन्धन खरिद गर्ने र आईओसीले १५-१५ दिनमा पठाउने रिफाइनरी शुल्कसहितको मूल्यकै आधारमा नेपालमा दर तय हुने उनको भनाइ छ।
विशेषगरी खाना पकाउने ग्यास (एलपी ग्यास) मा निगमलाई अझै पनि ठूलो वित्तीय दबाब रहेको सचिव राउतले बताए।
हाल १४.२ केजीको एक सिलिन्डर ग्यासमा करिब १,१४२ रुपैयाँ घाटा रहेको तथ्यांक प्रस्तुत गर्दै उनले पछिल्लो पटक १५० रुपैयाँ मूल्य बढाउँदा पनि प्रतिसिलिन्डर झण्डै १,००० रुपैयाँ घाटा कायमै रहेको जानकारी दिनुभयो। यो घाटा हाल राज्यले नै बेहोरिरहेको उनको दाबी छ।
अन्तर्राष्ट्रिय बजारमा गत भदौदेखि नै मूल्य बढ्न सुरु गरेको र नेपालमा चाडपर्व तथा निर्वाचन जस्ता संवेदनशील समयका कारण मूल्य समायोजनमा दबाब परेको सचिव राउतले स्पष्ट पारे। अन्तर्राष्ट्रिय रेट र आईओसीको नयाँ मूल्यसूचीका कारण नेपालमा मूल्य बढाउनु निगमको बाध्यता रहेको उनले समितिलाई अवगत गराए।







डिसी नेपाल







Facebook Comment