आसिफको ९४ रन र गुल्सनको ५ विकेट: ओमानमाथि नेपालको सानदार बदला

डिसी नेपाल
२२ वैशाख २०८३ १६:५३

काठमाडाैं। आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत काठमाडौंमा सम्पन्न त्रिकोणात्मक शृंखलाको अन्तिम खेलमा नेपालले ओमानमाथि सानदार जित दर्ता गरेको छ।

ओपनर आसिफ शेखको उत्कृष्ट ब्याटिङ र तीव्र गतिका बलर गुल्सन झाको घातक बलिङको मद्दतले नेपालले ओमानलाई ८१ रनले पराजित गर्दै अघिल्लो हारको बदला समेत लिएको छ।

कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको २५७ रनको मध्यम लक्ष्य पछ्याएको ओमान नेपाली बलरहरूको धारिलो आक्रमणसामु टिक्न सकेन।

ओमान ३९.५ ओभरमा मात्र १७५ रनमा अलआउट भयो। ओमानलाई सस्तैमा समेट्ने क्रममा गुल्सन झाले घातक बलिङ गर्दै महत्वपूर्ण ५ विकेट लिए। उनको कसिलो बलिङका कारण ओमानका कुनै पनि ब्याटरले क्रिजमा जमेर खेल्न सकेनन्।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २५६ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो। नेपालका लागि ‘शेख दाजुभाइ’ आसिफ र आरिफले उत्कृष्ट साझेदारी गरे। आसिफ शेखले ९४ रनको कप्तानी इनिङ खेले पनि मात्र ६ रनले शतक बनाउन चुके। उनलाई आरिफ शेखले ब्याटिङमा बलियो साथ दिएका थिए।

यो जितसँगै नेपालले घरेलु मैदानमा सम्पन्न शृंखलाका चारमध्ये तीन खेल जित्दै कूल ६ अंक जोड्न सफल भएको छ। नेपालले यसअघि युएईलाई दुई खेलमा पराजित गरे पनि ओमानसँग भने पहिलो खेलमा १०२ रनको फराकिलो अन्तरले हारेको थियो।

हाल २४ खेलबाट १८ अंक जोडेको नेपाल आठ टोली सहभागी लिग-२ को अंक तालिकामा सातौँ स्थानमै यथावत् छ। अब नेपालले आगामी वैशाख २९ गतेदेखि घरेलु मैदानमै अमेरिका र स्कटल्याण्ड सम्मिलित अर्को शृंखला खेल्ने तालिका रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *