मध्यपहाडी लोकमार्गको पर्वत खण्डको काम शुरु
सांकेतिक तस्वीर
काठमाडाैं । कोरोना महामारीपछि रोकिएको मध्यपहाडी लोकमार्गको पर्वत खण्डको निर्माण कार्य शुरु भएको छ। गत चैत्रको दोस्रो साता रोकिएको निर्माण कार्य असोजको दोस्रो सातादेखि शुरु भएको हो। पर्वत खण्डको निर्माण जिम्मा लिएको लामा कन्स्ट्रक्सन कम्पनीले वर्षा रोकिएसँगै काम थालेको हो। भदौमा म्याद सकिने भएपनि अहिलेसम्म ६० प्रतिशत काम सकिएको छ।
“लकडाउनले रोकिए पनि अब काम तीब्र रुपमा अघि बढ्छ”, निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर गोविन्द भुसालले भने, “घाम लागेका कारण दशैपछि कालोपत्रेको काम पनि थाल्छौ ।” निर्माण कम्पनीका अनुसार आयोजनाको पर्वत प्रवेशद्वारदेखि मालढुङ्गासम्मको २३ दशमलब ७६९ किलोमिटर स्तरोन्नतिको कम्पनीले रु.८३ करोड ९८ लाख ठेक्का लिएको हो । पर्वत खण्डको २३ किलोमिटर मध्ये संरचनागत काम ९५ प्रतिशत सकिएको छ । बागलुङको सीमाना मालढुङ्गादेखि नयाँपुल सम्म करिब ५ किलोमिटर कालोपत्रे गरिएको छ।
बाढीपहिराले त्यो खण्डका केही ठाउँमा सडक बिग्रेकाले पुनः कालोपत्रे गर्नुपर्नेछ । “अहिले बाँकी स्ट्रक्चरको काम र बेस राखेको ठाउँमा वर्षाले बिग्रेको खण्ड सक्छौ”, प्रोजेक्ट म्यानेजर भुसालले भने, “बाँकी यसै आर्थिक वर्षमा सक्ने तयारी छ”, पहिले जस्तो विभिन्न कारणले काम नरोकिने उनको भनाइ थियो।
मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख आशिष थापा मगरले काम शुरु गरेको व्यवस्थापनलाई सहयोग गर्न थप जनशक्ति तथा स्रोत साधन परिचालित भएकाले असारसम्ममा काम सकिने विश्वास व्यक्त गरे। उनले निर्माण व्यवसायीले असारसम्मको म्याद मागेकाले समयमा कालोपत्रेको सक्ने जानकारी दिए। रोकिएको काम शुरु भएपछि लोकमार्गको पर्वत खण्डमा पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी सहितको टोलीले अनुगमन गरेको छ । उनले स्थानीयस्तरमा देखिने समस्यालाई सहजीकरण गर्न प्रशासन तयार रहेको बताउँदै काम छिटो र गुणस्तरीय बनाउन आग्रह गरे। रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment