कोभिड १९ मा त्रिभवन विश्व विद्यालयको सक्रियता

डिसी नेपाल
१८ असोज २०७७ १५:२१

काठमाडौं। त्रिभुवन विश्व विद्यालयले कोभिड १९ ले स्वास्थ्य, शिक्षा, अर्थतन्त्र एवम् समाजको विविध विधामा पारेको असरको वारेमा अनुसन्धान मुलक जर्नल प्रकाशित गरेको छ।

त्रिवि सभाको बैठक लगत्तै आयोजित जर्नल विमोचन कार्यक्रमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवम् त्रिविका सहकुलपति गिरिराजमणि पोखरेलले उक्त जर्नलको अनलाइन प्रविधिको माध्यमबाट बिमोचन गरेका हुन्। त्रिवि अनुसन्धान केन्द्रद्वारा प्रकाशित उक्त जर्नलमा कोभिड १९का बारेका अनुसन्धान मुलक सामग्रीहरु उपलब्ध छन्।

त्रिभुवन विश्व विद्यालयले कोभिड १९ को संक्रमणको जटिल परिस्थितिमा शैक्षिक एवम् जनस्वास्थ्यको क्षेत्रमा अग्रणी र नेतृत्वदायी भूमिका निर्वाह गरेको छ।

विश्वव्यापी जटिलताको विषम परिस्थितिमा विश्व विद्यालयले आफूलाई जिवन्त तुल्याई शैक्षिक एवम् स्वास्थ्यका क्षेत्रमा आफ्नो विज्ञताको प्रयोग गर्दै स्वास्थ्य सम्वन्धी अनुसन्धान, स्वास्थ्य सेवा,विज्ञ परामर्श, विद्युतीय माध्यमको नीतिगत कार्यान्वयन गर्दै शिक्षण सिकाईलाई प्रविधीमैत्री बनाउने कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गरेको छ।

२०७६ चैत्र ११ गतेदेखि लकडाउन घोषणा गरेलगत्तै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा धर्मकान्त बास्कोटाले सरकारलाई आधिकारिक पत्राचार गर्दै विश्व विद्यालयको भौतिक सम्पति,उपकरण,विज्ञ जनशक्तिलाई कोेभिड १९ विरुद्धको प्रयोजनका लागि उपयोग गर्न सकिने संस्थागत जानकारी गराएका थिए।

कोभिड १९ को संक्रमण विस्तारित हुँदै गर्दा त्रिभुवन विश्व विद्यालयले तत्काल निर्णय गरी आंगिक क्याम्पसलाई क्यारेन्टाइन र आइसोलेसन केन्द्रको रुपमा प्रयोग गर्ने निर्णय गरेको थियो।

यसैगरी त्रिविको विशेष अग्रसरतामा शिक्षण अस्पताल महाराजगञ्ज, कीर्तिपुर र सुर्खेतमा पिसिआर मेसिन जडान गरी स्वास्थ्य परिक्षण समेत गरिएको थियो। नेपाल सरकारसँगको समन्वय एवम् सहकार्यमा त्रिवि शिक्षण अस्पतालको हाडर्जोनी र नाक, कान, घाँटी वार्डलाई खाली गराई आइसियूसहितको कोभिड अस्पतालको रुपमा सेवाउपलब्ध गराउन पदाधिकारी सहितको पहलले समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

करिव २ सयजना स्वास्थ्यकर्मीहरु आफै संक्रमित भएर पनि स्वास्थ्य सेवामा क्रियाशिल रहेका छन् । साथै विश्व विद्यालयको स्वास्थ्यविज्ञले देशभरी कोभिड १९ प्रयोगशाला निर्माण र विस्तारमा अग्रणी भूमिका निर्वाह गर्दै देशलाई कोभिडको जोखिमबाट सुरक्षित बनाउन योगदान गरिरहेका छन्।

त्रिभुवन विश्वविद्यालयले कोभिड संक्रमणको चुनौतीपूर्ण परिस्थितिमा समेत शैक्षिक गतिविधिलाई जीवन्त राख्दै आफूलाई समयानुकुल परिवर्तन गर्न अध्ययन अध्यापनको वैकल्पिक विधि आत्मसात गरेको छ।

सामाजिक दूरीको प्रयाग गरी घरवाटै कक्षा लिने परिस्थितिको निर्माण गरी अनलाइन कक्षालाई व्यवस्थित गर्न एनआरइएन भन्ने संस्थासँग सहकार्यमा जुम प्रविधिको निशुल्क १७५ लाइसेन्स तत्काल उपलब्ध गराई शिक्षण सिकाई प्रारम्भ गरिएको छ।

शिक्षाको अन्तराष्ट्रियकरणको महत्वपूर्ण उपलब्धीबाट सिक्दै त्रिविले माइक्रोसफ्ट टिमसँग पाँच लाख लाइसेन्स लिएर शिक्षक, कर्मचारी र विद्यार्थीहरुको इमेल बनाई कक्षालाई थप व्यवस्थित गरेको छ ।

आधुनिक प्रविधिको माध्यमवाट शिक्षण सिकाई प्रक्रियामा जान नीतिगत निर्णय गर्नुका साथै सूचना प्रविधिको पहुँचलाई सम्र्पूण क्याम्पस एवम् निकायहरुमा पुर्याउन केन्द्रीय स्तरमा सूचना प्रविधि नवप्रवर्तन केन्द्रको स्थापना भएको छ। विश्व विद्यालयको सम्पूर्ण निकायहरुलाई एउटै डोमेनमा व्यवस्थित गर्न सवै १३० भन्दा बढी निकायहरुको सवडोमेन निर्माण गर्ने कामले सफलता प्राप्त गरिसकेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *