चावहिल चोकमा निर्माण भएको आकाशे पुल शुभारम्भ

डिसी नेपाल
२१ असोज २०७७ १२:३८

काठमाडौं। कोविड महामारीको समस्या समाधान गर्दै पार्क निर्माण र हरियाली प्रबर्धनलाई जोड दिएको बताउँदै काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले वडा ६ मा मात्र करीब ८ करोड रुपैयाँ लागतमा २ वटा पार्क निर्माण भइरहेको बताएका छन्।

बुधबार बिहान आकाशे पुलको उद्घाटन, वडा भवन र पार्क निर्माणस्थलको अवलोकनपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्। वडा ७ चावहिल चोकमा आकाशे पुलको उद्घाटनपछि मेयर शाक्यले वडा ६ को भवन निर्माण स्थल, त्यही वडाको निर्माणाधीन बागमती नगर पार्क र शान्ति नमूना पार्क, वडा ७ को मचागाः पार्कको अवलोकन गरेका थिए।

अवलोकनका क्रममा वडा ६ कार्यालय भवन निर्माण कार्यको प्रगति विवरण लिएका थिए। त्यस्तै बागमतीनगर र शान्ति नमूना पार्क निर्माण स्थलको अवलोकन गरेपछि उनले भने, ‘महानगरका क्षेत्रगत काममध्ये आजको अवलोकन यात्रु सुरक्षा तथा ट्राफिक व्यवस्थापन, पार्क निर्माण र हरियाली प्रत्रर्धन कार्यक्रममा केन्द्रित छ।’

‘खुल्ला ठाउँलाई अहिले पनि जोगाउन सकिएन भने भोलि सहरले झन् ठूलो संकट व्यहोर्नुपर्ने हुन सक्छ। त्यसैले हामीले सार्वजनिक जग्गा संरक्षण गरेर पार्क बनाउने अभियान थालेका हौं। मेयर शाक्यले भने, ‘सहरको अर्को ठूलो समस्या भनेको ट्राफिक व्यवस्थापन, पैदल यात्रु सुरक्षा र पार्किङ व्यवस्थापन हो।’

‘पैदल यात्रु सुरक्षाका लागि आकाशे पुल निर्माण गरिरहेका छौं। पिक एण्ड ड्रपलगायत अभियानबाट ट्राफिक व्यवस्थापनमा प्रयास गर्दैछौं,’ मेयर शाक्यले, पार्किङ व्यवस्थापनको प्रसङ्ग उठाउँदै भने, ‘यदि कसैले जग्गा उपलब्ध गराउँछ भने पार्किङ भवन हामी बनाइदिन्छौं । म तपाईमार्फत सबैमा आव्हान गर्न चाहन्छु । जग्गा भए वडामार्फत महानगरमा प्रस्ताव लिएर आउनोस्।’

आकाशे पुलको संख्या थपिँदै

फलामबाट बनेको चावहिलको पुलको लागत ८२ लाख ६६ हजार ७८३ रुपैयाँ हो। बोलपत्रबाट छनौट भएको कान्छामान निर्माण सेवाले यसको निर्माण गरेको हो। २०७६ कार्तिक २७ गते नै सम्झौता गरेर काम थालनी गर्ने बेलामा सडक किनारा क्षेत्र कम भएकोले निर्माण कार्य हुन सकेको थिएन। जग्गाको समस्या समाधान गरेर माघ १६ गते पुलको शिलान्यास गरिएको थियोे । सम्झौताबमोजिम पुल निर्माणको काम २०७७ असार २७ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने थियो।

आकाशे पुलका डिजाइनर इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार पुलको लम्बाइ २३ मिटर र चौडाइ २ मिटरको छ।

योसँगै वडा ८ को जयबागेश्वरीमा पनि आकाशे पुल निर्माण भइरहेको छ। महानगरका मेयर शाक्यकाअनुसार मित्रपार्कबाट पशुपति जाने क्षेत्रका स्थानीयले पनि यस्तै पुल निर्माण गराउन माग गरेका छन्। यो आवश्यकता पनि हो,’ उनले भने, ‘माइतीघर मण्डला क्षेत्रको पुल तयार भइसकेको छ। यो वर्ष हामी अन्य बिभिन्न ठाउँमा निर्माण गर्दैछौं।’

वडा ७ का अध्यक्ष शुद्धकुमार डंगोलले भने, ‘यसैको समानान्तर हुने गरी अर्को पाटोमा पनि यस्तै प्रकारको पुल बनाउन आवश्यक छ। प्रक्रिया यसका लागि प्रक्रिया अगाडि बढाइनेछ। आकाशे पुलले पैदल यात्रुलाई त सजिलो हुन्छ नै उनीहरुबाहेक दिनरात सडकमा बसेर सवारी व्यवस्थापन गर्ने ट्राफिक प्रहरीको काममा पनि धेरै खुकुलो हुनेछ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *