ट्युमरले आधा अनुहार ढाकिएका र दृष्टि गुमाएका नेपालीले अमेरिका पुगेर पाए नयाँ जीवन

डिसी नेपाल
२२ असोज २०७७ ११:१९

काठमाडौं। अनुहारमा पलाएको विशाल ट्युमरले आधा अनुहार ढाकिएका र ट्युमरले आँखा ढाकिएर दाहिने आँखाको दृष्टि समेत गुमाएका एक नेपालीले अमेरिका पुगेर नयाँ जीवन पाएका छन् । उनको अमेरिकाको शिकागोमा शल्यक्रिया गरेर ट्युमर हटाइएको छ । उनको शल्यक्रिया हुनुभन्दा अगाडि क्रुर अपरिचितहरुले उनलाई घुरेर हेर्ने, उनको अनुमतिबिना फोटो खिच्ने र केहीले त उनलाई पूर्वजन्ममा राक्षस भएको समेत भनेका थिए ।

डेलिमेलको रिपोर्टअनुसार काठमाडौंका ६० वर्षका अशोक श्रेष्ठको यो स्वास्थ्य समस्यालाई मेडिकल भाषामा न्यूरोफाइब्रोमेटोसिस भनिन्छ । यो एक किसिमको जेनेटिक विकृति हो जसका कारण स्नायु तन्तुहरुबाट ट्युमर पलाउँछ । यी पूर्व लेखापाल २ वर्षको हुँदादेखि नै उनको अनुहारमा ट्युमर पलाउन सुरु भएको हो । ३० वर्षको हुँदासम्म ट्युमर ६ इन्चसम्म लामो भइसकेको थियो र उनको आधा अनुहार ढाकेर दाहिने आँखाको ज्योतिसमेत खोसिसकेको थियो । १९८९ मा उनी यसको उपचारको लागि भारत पनि गएका थिए तर शल्यक्रिया सफल भएन । उनको अनुहारको ढ्युमर बढ्दै गयो र अपरिचितले उनीप्रति गर्ने दुर्व्यवहार पनि बढ्दै गयो ।

अशोकले लेखामा स्नातकोत्तर गरेका छन् तर उनको अनुहारका कारण उनलाई काम पाउन निकै कठिन भयो । अशोकका पिताको हृदयाघातका कारण र आमाको ब्रेन ह्यामरेजका कारण निधन भएपछि उनी एक्लै छन् । आफ्नो कठिन अवस्था, मानिसहरुको दुर्व्यवहार र असफल शल्यक्रियाबाट तनावमा परेका अशोकले विश्वका उत्कृष्ट डाक्टरको खोजी सुरु गरे जसले उनको अनुहारबाट ट्युमर हटाइदिन सकुन् । खोजीका क्रममा उनले डा. म्याके म्याक्किन्नलाई फेला पारे । डा. म्याक्किन्न चर्चित प्लास्टिक सर्जन हुन् र उनी ठूला ट्युमर हटाउन विशेषज्ञ छन् । डाक्टर फेला पारेपछि अशोकले उपचारको लागि खर्च जुटाउन क्राउडफण्डिङ सुरु गरे ।

लण्डनकी गायिका २४ वर्षकी क्रिस्टिना एलेन काठमाडौंमै हुर्किएकी हुन् र उनले अशोकलाई काठमाडौंमा एउटा चियापसलबाहिर बसिरहेको देख्थिन् । बेलायतमा अध्ययन गर्ने क्रिष्टिना २०१५ मा क्रिसमसको विदामा काठमाडौं फर्किन् । उनले अशोकलाई सहयोग गर्ने र उनको क्रउडफण्डिङ अभियानका लागि जनचेताना जगाउने उद्देश्य पनि राखेकी थिइन् । क्रिष्टिनाले अशोकको लागि गोफण्डमी पेज सुरु गरिन् र उनले यहाँबाट ३१ हजार पाउण्ड (४७ लाख नेपाली रुपैयाँ) जुटाइन् ।

मार्च २०१८ मा अशोकको पहिलो शल्यक्रिया गरियो । त्यसपछि उनको थप ५ शल्यक्रिया भएको छ र यसबाट उनको अनुहारको टयुमरको आकार ९० प्रतिशत कम भएको छ । यी शल्यक्रियाले उनको आत्मविश्वास पनि बढाएका छन् र यसबाट उनी अरुसँग प्रस्टसँग बोल्न पनि सक्ने भएका छन् । पहिले ट्युमरका कारण उनको मुख छोपिँदा उनले प्रस्ट बोल्न सक्दैनथे । उनको दायाँ आँखाको ज्योति त फर्केको छैन तर उनलाई प्रोथेस्टिक आँखा प्रत्यारोपण गरिएको छ जसले उनको आत्मविश्वस थप बढाएको छ ।

आत्मविश्वास बढेसँगै अशोकले शिकागोमै एक नेपाली रेष्टुरेण्टमा काम पनि पाएका छन् । यद्यपि उनी अझै पनि आफ्नो लोखाको पुरानो करिअरमा फर्कन चाहन्छन् । ‘म २ वर्षको हुँदा लण्डनका एक डाक्टर काठमाडौं गएका थिए र मेरो पहिलो शल्यक्रिया गरेका थिए’ अशोकले भने ‘तर ट्युमर बढ्ने क्रम रोकिएन । म ३० वर्षको हुँदासम्म केही परिवर्तन भएन । त्यसपछि म थप शल्यक्रियाको लागि भारत गएँ ।’ भारतमा गएर गरेको शल्यक्रिया पनि असफल भएको श्रेष्ठले बताए ।

शिकागोमा रेष्टुरेण्टमा कुकको काम गरिरहेका अशोकले शल्यक्रियापछिको जीवन निकै सहज भएको महसुस गरेका छन् । यद्यपि अझै पनि मानिसहरुले उनलाई घुरेर हेरिरहेको पाउँछन् तर अशोकलाई आशा छ एक दिन उनी अरु सामान्य मानिसजस्तै देखिनेछन् । उनका अझै कम्तीमा २ शल्यक्रिया गर्ने तालिका तय भइसकेको छ । यी दुई शल्यक्रियापछि आफू सामान्य देखिने अशोकको आशा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *