प्रदर्शनकारीमाथि कुटपिट गर्ने प्रहरीलाई विभागीय कारबाही गर्न सिफारिस

डिसी नेपाल
२२ असोज २०७७ २१:११

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनर्नियुक्ति माग्दै प्रदर्शनमा निस्केकामाथि भएको प्रहरी कुटपिटउपर गठित छानविन समितिले कुटपिटमा संलग्न प्रहरीलाई विभागीय कारवाहीको सिफरिस गरेको छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले असोज १ र २ गते भएका दुई घटनाको अनुसन्धानका लागि प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्जको नेतृत्वमा तीन सदस्यीय समितिले कुटपीटमा संलग्न प्रहरीलाई प्रहरी नियमावली अनुसार विभागीय कारवाहीको सिफारिस गरेको हो। सो समतिमा प्रहरी नायब उपरीक्षक भावेश रिमाल र प्रहरी निरीक्षक विनोदप्रदीप बस्याल थिए। सो समितिले केही दिन अघि छानवीन प्रतिवेदन महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआइजी विश्वराज पोखरेललाई बुझाएको छ।

समितिलाई एक सातासम्म दुवै घटनाको छानविन गरी दोषी देखिएका प्रहरीमाथि कारबाही गर्न कार्यादेश दिइएको थियो। एसएसपी बज्राचार्य समितिले फिल्डमा खटिएका प्रहरीको समस्या र कमाण्डरले अपनाउनुपर्ने सावधानीको विषयमा पनि प्रतिवेदन दिएको छ। कमाण्डहरु संयमित नहुँदा फिल्डमा खटिएका जवानहरु बढी आक्रोसित हुने गरेको निष्कर्ष निकाल्दै प्रर्दशनमा उत्रेकाहरुमाथि प्रहरी दमन भएको जनाइएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अधिकारीहरुले सो प्रतिवेदन अध्ययन गरिरहेको जनाइएको छ।

असोज १ गते बबरमहलमा हन्ड्रेड ग्रुपका अध्यक्ष बब्लु गुप्तामाथि प्रहरीले कुटपिट गरेको थियो। घिसिङको समर्थनमा आएकाहरूलाई नियन्त्रण गर्ने क्रममा गुप्तालाई प्रहरीले कुटपिट गरेको थियो। त्यस्तै २ गते घिसिङको समर्थनमै बुद्धनगरमा निस्केका उक्त ग्रुपकै सदस्य मनिष श्रेष्ठको प्रहरीले टाउको फुटाइदिएको थियो। प्रहरीले भाग्ने क्रममा उनी लडेर घाइते भएको बताए पनि भिडिओमा भने प्रहरीले टाउकोमा लाठीले हिर्काएको देखिएपछि एसएसपी बज्राचार्यको नेतृत्वमा समिति बनेको थिय ।

‘हामीले छानवीन गरी प्रहरीको कमजोरी र भविष्यमा अपनाउनुपर्ने सावधानीबारे सुझाव दिएका छौ’, समितिका एक सदस्यले भने। उनका अनुसार त्यसबेला प्रहरी कमाण्डरले संयमता गुमाउँदा प्रर्दशनकारीलाई बढी नै दमन भएको देखिएकाले संलग्न प्रहरी कमाण्डरलाई प्रहरी नियमावली अनुसार विभागीय कारवाहीको सिफारिस गरिएको हो। ‘केहीलाई विभागीय कारवाही र केहीलाई एकपटकलाई सचेत गराउन सिफरिस गरिएको छ’, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एक अधिकारीले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *