‘टन्सिलले पनि नित्याउन सक्छ मुटुरोग’

रासस
२४ असोज २०७७ १९:१८

काठमाडौं । घाँटीमा व्याक्टेरियाको सङ्क्रमणका कारण प्राय नेपालीलाई टन्सिल हुने गर्छ । टन्सिललाई हामीले सामान्य रुपमा लिएर खासै उपचार गर्दैनौँ । त्यही हेल्चेक्र्याई नै पछि मुटु जस्तो संवेदनशील अङ्गमा जटिल प्रकारको रोग लाग्न सक्छ भन्ने कुरा कमैलाई थाहा छ । तर यस्तो समस्यका कारण धेरै मानिसले अकालमा ज्यान गुमाउनु परिरहेको चिकित्सकले बताएका छन् ।

मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मी झण्डै ९९ प्रतिशत मानिसलाई उक्त कुराबारे थाहा नभएको दावी गर्छन् । एक सय रुपैयाँमा उपचार हुने टन्सिलको सही उपचार नगर्दा रु तीन लाखसम्म खर्च लाग्ने मुटुरोगको जटिल समस्याबाट मानिसहरु प्रभावित हुने गरेको उनि बताउँछन् । उनका अनुसार प्राय यस्तो समस्या पाँचदेखि १५ वर्ष समूहका बालबालिकामा हुने गर्दछ ।

सोही समस्या मुलुकका विपन्न परिवारमा रहेकाले सोही विषयलाई चित्रण गर्दै उनले ‘टन्सिलले विगारेको मुटु’ नामक पुस्तक बजारमा ल्याएका छन् । नेपाल हृदयरोग निवारण प्रतिष्ठानले आज काठमाडौँमा उक्त पुस्तक बारे गरेको अन्तरक्रियाका क्रममा डा रेग्मीले आमनेपाली सचेत हुन सकुन् भन्ने उद्देश्यले पुस्तक प्रकाशनमा ल्याएको जानकारी दिए ।

सो अवसरमा शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रका बाल–मुटु रोग विशेषज्ञ डा उर्मिला शाक्यले टन्सिल सामान्य रोग जस्तो लागे पनि यसको कारणले मुटुमा जटिल प्रकारको रोग लाग्न सक्नेतर्फ ध्यानाकर्षण गराउनुभयो । उहाँका अनुसार बालबालिकामा शुरुमा जिवाणुका कारण टन्सिल हुने र त्यो विग्रिएपछि बाथ ज्वरो आउँछ । बाथले मुटुका मासंपेशी र भल्बलाई असर गर्छ । त्यो नै बाथ–मुटुरोग हो ।

जनस्वास्थ्य विज्ञ डा अरुणा उप्रेतीले डा रेग्मीको सो पुस्तक सर्वसाधारण नागरिकले मात्रै नभई हरेक स्वास्थ्यकर्मीले पढ्नै पर्ने धारणा राखिन् । “यो पुस्तकमा राजनेता वा चिकित्सकले नै रोगबारे वास्ता नगरेको वा थाहा नपाएको कुरा उल्लेख छ”, पुस्तकमाथि टिप्पणी गर्दै डा उप्रेतीले भनिन्, “बाथ जोर्नीमा बस्छ तर मुटु खान्छ भन्ने कुरा किताबमा स्पष्ट रुपमा राखिएको छ ।”

अग्रज साहित्यकार तुलसी दिवसले स्वास्थ्य जस्तो विषयगत मान्छेले लेखेको पुस्तकमा मानिसका संवेदनाहरु पत्रैपत्र उनेर पुस्तकाकारको रुपमा प्रस्तुत गर्ने सिर्जनशील कलाका लागि लेखकको प्रशंसा गरे । उनले रोगबाट मानिसको जीवन जोगाउन डा रेग्मीले भौतिक रुपमा मात्रै नभई पुस्तकमार्फत समेत ठूलो योगदान गरेको स्मरण गरे ।

साहित्यकार श्रीओम ‘रोदन’ले लाखौँ मुटुको ढुकढुकी सुनेका डा रेग्मीले अक्षरमार्फत बिरामी भएका, बिरामी नभएका र उपचारमा संलग्न चिकित्सका लागि समेत पुस्तकमार्फत सचेत गराएको बताए ।

बाथ–मुटुरोग गरिबी र अशिक्षाबाट प्रभावित बालबालिकाका लागि ठूलो समस्या हो । यस रोगका कारण नेपालमा वर्षेनी एक हजार बालबालिकाको ज्यान जाने गरेको बताइएको छ । वार्षिक ८०० मानिसको यही रोगको कारणले मुटुको भल्भ फेर्नुपर्ने अवस्था रहेको छ । हजारौ मानिस यस रोगबाट प्रभावित रहेका छन् ।

सामान्य टन्सिल रोगका कारण उत्पन्न हुने बाथ–मुटुरोग बारे मुलुकका ९९ प्रतिशतलाई जानकारी नभएर यो रोग छायाँमा परेकाले जनचेतना जगाउन पुस्तकका माध्यामबाट यो प्रयास गरिएको डा रेग्मी बताउँछन् । उक्त पुस्तकमार्फत डा रेग्मीले समाजका विपन्न वर्गका बालबालिकाको जटिल मुद्दालाई उठाउने प्रयास गरेका छन् ।

पुस्तकमा उनले बाथ–मुटुरोगका विविध पक्षका बारेमा सरल भाषामा उल्लेख गरेका छन् । पुस्तकमा नेपाली समाजको चित्र र रोगीको बेदना समेटिएकोे अन्तरक्रियाका सहिभागिको विचार थियो । केटाकेटी समयमा घाँटी दुख्ने र टन्सिल हुने अवस्था आउँछ । टन्सिल र बाथका कारण बालबालिकाको मुटुलाई कसरी क्षति पु¥याउँछ र यसबाट कसरी बच्न सकिन्छ भन्ने कुरा मिहिन ढङ्गले पुस्तकमा प्रस्तुत गरिएको छ । उक्त पुस्तक विद्यार्थी, शिक्षक, सामाजिक व्यक्ति, राजनीतिज्ञ मात्रै नभइ स्वयं स्वास्थ्यकर्मीका लागि समेत उपयोगी रहेको बताइएको छ ।

एक जना मुटु रोगबाट प्रभावित भई डा रेग्मीबाट उपचार सेवा लिएकी विजया नापितले ‘टन्सिलले विगारेको मुटु’ पुस्तक आफ्नै जीवनसँग मेल खाने रहेको उल्लेख गर्दै स्वास्थ्यमा बेलैमा ध्यान दिन सके रोगबाट बच्न सकिने धारणा राखिन् ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठानका संस्थापक कोषाध्याक्ष डा खेम कोइरालाले उक्त पुस्तकको विक्रीबाट आएको रकम बाथ­मुटु रोग रोकथामका लागि स्थापित अक्षयकोषमा जम्मा हुने जानकारी दिए। विगत ३३ वर्षदेखि मुटु रोगको उपचारमा संलग्न डा रेग्मीका झण्डै एक दर्जन पुस्तक प्रकाशित छन् । उनले २०५४ सालबाट पुस्तक प्रकाशन थालेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *