पहिराेका पीडित ३ परिवारलाई आर्थिक सहयोग

डिसी नेपाल
२६ असोज २०७७ ७:३२

कास्की । गत साउन २ गते विहान गएको पहिरामा परी मृत्यु भएका माछापुच्छ्रे गाउँपालिका–८ खोराकोमुखका तीन जनाको परिवारलाई राहत स्वरुप आर्थिक सहयोग प्रदान गरिएको छ ।गाउँपालिका कार्यालयमा आइतबार आयोजित कार्यक्रममा गण्डकी प्रदेश सरकारबाट रु ५० हजार तथा तथा गाउँपालिकाबाट रु ५० हजार गरी मृतकका परिवारलाई जनही रु एक लाखका दरले राहत प्रदान गरिएको हो ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुुर चुमान तथा गाउँपालिका अध्यक्ष कर्ण बहादुर गुरुङले पीडित परिवारलाई राहत रकम हस्तान्तरण गरेका थिए। खोराकोमुख पाखाका प्रेमराज विकको घर माथिबाट आएको पहिरामा पुरिएर उनका तीन छोराका दुई नाति १६ वर्षीय कुशल, १४ वर्षीय समिर तथा १६ वर्षीया नातिनी रेजिना विकको घटनास्थलमै मृत्यु भएको थियो ।

राहत वितरण कार्यक्रममा मन्त्री चुमानले यस वर्ष गण्डकी प्रदेशमा प्राकृतिक विपत्तिका घटनाहरु अघिल्ला वर्षका तुलनामा बढी घटेको बताउँदै विस्थापितहरुको पुर्नःस्थापना तथा पीडितहरुलाई राहत प्रदान गरिने बताए। सङ्घीय सरकारसँगको सहकार्यमा विस्थापितहरुका लागि आवास निर्माण गरिने उनले जानकारी दिए। मन्त्री चुमानका अनुसार मनसुन शुरु भएयता प्राकृतिक विपत्ति परेर गण्डकी प्रदेशमा १२६ जनाको मृत्यु तथा २३ बेपत्ता छन् । विपत्तिमा परेर ८९ जना घाइते भएको बताइन्छ ।

गण्डकी प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले इञ्जीनियरिङ डिजाइन तथा नाप जाँच बिना खनिएका ग्रामिण सडकका कारणबाट वर्खायाममा जनधनको क्षति पुगेको बताए।
यस वर्ष पहिरोमा परी कास्कीमा तीन महिला, दुई पुरुष, तीन बालिका तथा तीन बालक गरी कूल ११ जनाले ज्यान गुमाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *