आइपिएलः सन्दिप लामिछाने ५ दिनभित्र दिल्ली छाडेर अर्कै टिममा पुग्न सक्छन्

डिसी नेपाल
२७ असोज २०७७ ११:५३

काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपिएल)को जारी सिजनका आधा खेल पूरा भएका छन् । सबै टिमले पूरै प्रतियोगिता अवधिभर लिग चरणमा १४ खेल खेल्न पाउँछन् । सबै टिमले ७–७ खेल खेलिसकेका छन् । सबै टिमले एक अर्कासँग २–२ खेल खेल्न पाउने नियम छ र अहिलेसम्म सबैले एक अर्कासँग एक–एक खेल खेलिसकेका छन् । यससँगै यो सिजनका लागि मिड सिजन ट्रान्सफर विन्डो खुला भएको छ ।

यो ट्रान्सफर विन्डो ५ दिनको हुनेछ । यो अवधिमा फ्रेन्चाइजी टिमहरुले एक अर्का टिमसँग खेलाडी किनबेच गर्न पाउँछन् । सिजनका आधा खेल पूरा हुँदा हरेक टिमले ७ खेल खेलेका छन् । ट्रान्सफर विन्डोमा भने यी ७ खेल खेलमध्ये २ वा सोभन्दा कम खेल खेलेका खेलाडी मात्र किनबेच गर्न पाइन्छ । यो सिजन २ वा सोभन्दा कम खेल खेलेका ९० खेलाडी छन् जसलाई अर्को टिमले किन्न सक्छन् । यीमध्ये एक नेपाली खेलाडी सन्दिप लामिछाने पनि हुन् । उनले जारी सिजन कुनै पनि खेल खेलेका छैनन् । यदि अर्को कुनै टिमले उनलाई किन्न चाहेमा दिल्लीसँगको सहमतिमा किन्न सक्छ ।

यस सिजन विभिन्न कारणले निकै महंगा खेलाडीले पनि २ भन्दा कम खेल खेलेका छन् । १२.५ करोडका राजस्थानका बेन स्टोक्स, १० करोड मूल्यका रोयल च्यालेन्जर्स बैंगलोरका क्रिस मोरिस, ८ करोड मूल्यका मुम्बइका नथान कुल्टर नाइल, ५.२५ करोड मूल्यका दिल्ली क्यापिल्सका अजिंक्या राहाणे चेन्नइ सुपरकिंग्सका ५ करोड रुपैयाँ मूल्यका करण शर्मा समेत यस सिजन मिड सिजन ट्रान्सफरका लागि उपलब्ध छन् । मिड सिजन ट्रान्सफरको लागि मुम्बइका १३, दिल्लीका ९, कोलकाताका १०, बैंगलोरका ११, हैदराबादका १३, राजस्थानका ११, चेन्नइका १० र पंजाबका १३ खेलाडी उपलब्ध छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *