कर्णाली विवादः मुख्यमन्त्रीसहित पदाधिकारीलाई काठमाडौं आउन दुई अध्यक्षको निर्देशन

डिसी नेपाल
२७ असोज २०७७ १७:५४

काठमाडौं। कर्णालीका मुख्यमन्त्री तथा नेकपा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध पार्टीकै विधायकहरुले अविश्वास प्रस्ताव दर्ता गराएपछि नेकपा कर्णालीमा विवाद देखिएपछि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुख्यमन्त्री शाहीसहित नेकपा कर्णालीका पदाधिकारीलाई काठमाडौं बोलाएका छन्। मंगलबार ओली र प्रचण्डबीच भएको छलफलपछि उनीहरुलाई काठमाडौं आउन निर्देशन दिइएको हो।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले दुई अध्यक्षको हस्ताक्षरसहितको पत्र कर्णाली पठाइएको पुष्टि गरे। मुख्यमन्त्री शाही, नेकपा कर्णालीका अध्यक्ष गोरखबहादुर बोगटी, सचिव मायाप्रसाद शर्मा, कर्णाली प्रदेश सहइन्चार्ज यामलाल कँडेललगायत पदाधिकारीलाई बिहीबारसम्म काठमाडौं आउन निर्देशन दिइएको छ।

स्रोतका अनुसार यो अविश्वास प्रस्ताव प्रकरणमा जोडिएका सबै नेताहरुलाई काठमाडौं बोलाइएको हो। नेता कँडेलको अगुवाईमा पूर्व एमालेका विधायक र पूर्व माओवादीका ३ जनासहित १८ जनाले अविश्वास प्रस्ताव पेश गरेका थिए। तर, मंगलबारसम्म आइपुग्दा वरिष्ठ नेता माधवकुमार नेपाल निकट ७ जना विधायकहरु अविश्वासको प्रस्तावबाट पछाडी हटेपछि अविश्वासको प्रस्ताव असफल हुने देखिएको छ। यहीबीचमा पार्टीको केन्द्रलेसमेत हस्तक्षेप गरेपछि सो प्रस्ताव विफल हुने भएको हो।

आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याएपछि मुख्यमन्त्री शाहीले प्रमुख सचेतक गुलावजंग शाहलाई हटाएर सिता नेपालीलाई प्रमुख सचेत नियुक्त गरेका थिए। शाहले मंगलबारका लागि संसदीय दलको बैठक बोलाए पनि सो बैठक हुन सकेन। नेपालीले भने कार्तिक ७ गतेका लागि बैठक बोलाएकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *