संवादहीनतामा आइसब्रेक, भारतीय सेनापति नेपाल भ्रमणमा आउँदै

चूडामणि भट्टराई
२८ असोज २०७७ ११:४६

वाशिंटन डिसी।  नेपाल र भारतकाबीच कुटनीतिक र राजनीतिक स्तरमा संवादहीनताको स्थितिमा भारतीय स्थल सेनाका सेनापति मनोजमुकुन्द नरभनेको नेपाल भ्रमण तय भएको छ।

गत वर्ष नै तय भएर पनि बन्दाबन्दीका कारण स्थगित हुँदै आएकोमा सेनापति नरभनेको नेपाल भ्रमण अव भने हुने भएको छ। नेपाल सरकार मन्त्रिपरिषद्ले उनको नेपाल भ्रमणसम्बन्धी प्रस्ताव गत बर्ष नै स्वीकृत गरी आवश्यक तयारीका लागि रक्षा मन्त्रालय र नेपाली सेनालाई निर्देशन दिइसकेको बुझिएको छ।

समाचार स्राेतकाअनुसार, सेनापति नरभनेको आगामी कात्तिक १८ गतेदेखि हुने ३ दिने भ्रमणले नेपाल र भारतका बीचमा पछिल्ला दिनहरुमा देखा परेको संवादहीनता अन्त्य भई आइसब्रेक हुने विश्वास गरिएको छ।

भारतीय सत्ताका कतिपयले नेपालसँग झुकेको सन्देश जाने भन्दै नेपालसँग कुनै पनि तहको बार्ता वा भ्रमण नगर्न दवाव दिँदै आएको अवस्थामा सेनापति नरभनेले भने नेपाल भ्रमण गर्ने भएका छन्।

यसअघि उनको भ्रमण मार्च र मे महिनामा तय भए पनि दुई देश बीचको राजनीतिक असमझदारी र विश्वभर नै कोरोना महामारीको प्रकोप एवं बन्दाबन्दीका कारण स्थगित भएको थियो।

सेनापति नरभनेको आगामी कात्तिक १८ गतेदेखि हुने ३ दिने भ्रमणले नेपाल र भारतका बीचमा पछिल्ला दिनहरुमा देखा परेको संवादहीनता अन्त्य भई आइसब्रेक हुने विश्वास गरिएको छ। भारतीय सत्ताका कतिपयले नेपालसँग झुकेको सन्देश जाने भन्दै नेपालसँग कुनै पनि तहको बार्ता वा भ्रमण नगर्न दवाव दिँदै आएको अवस्थामा सेनापति नरभनेले भने नेपाल भ्रमण गर्ने भएका छन्।

नेपाल र भारतबीच सीमा विवाद बढेर दुई पक्षीय वार्ता गर्नसमेत आनाकानी गर्दै आएको परिस्थितिमा भारतीय सेनापति नरभनेको नेपाल भ्रमणले दुई देशबीच सैनिक कुटनीतिको बाटो खुल्ला गर्न भारत इच्छुक रहेको सन्देश दिन खोजेको देखिएको छ।

यसअघि नाकाबन्दीको असहज अवस्थामा पनि दुवै देशहरुले सैन्य कुटनीतिको प्रयोग गरेका थिए। राजनीतिक तहमा संवादहीनता बढेको त्यसबेला नेपाली सेनाका तत्कालीन सेनापति राजेन्द्र क्षेत्रीको भारत भ्रमण भएका थियो।

यसपटक फेरि दुई देशबीच राजनीतिक तहमा संवादहीनताको स्थिति रहेको बेला भारतीय सेनापतिको पहल र नेपाली सेनाको व्यबस्थापनमा नरभनेको नेपाल भ्रमण तय भएको अनुमान गर्न सकिन्छ।

यो घटनाक्रमले भारत फेरि एकपटक सैनिक कुटनीतिका माध्यमबाट नेपालसँग सम्बाद अघि बढाउने अवस्थामा आइपुगेको देखाएको छ। र, यो अवस्थामा भारतीय सेनापतिले यसअघि नेपालको मिचिएको भूमिबारे कस्तो धारणा सार्वजानिक गर्छन् भन्ने कुरा निकै महत्वपूर्ण हुनसक्छ।

यसअघि कालापानी सीमा सन्दर्भमा राजनीतिक टिप्पणी गरेपछि भारतभित्रै नरभनेको व्यापक आलोचना भएको थियो भने नेपालमा पनि उनको ठूलो विरोध भयो। तर, उनको राजनीतिक टिप्पणीको प्रतिउत्तर नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापाले दिएनन् बरु समय आएपछि उपयुक्त फोरममा यसबारे बोल्ने भन्दै कुटनीतिक जवाफ दिएर दुई सेना बीचको सम्बन्धलाई जोगाइ राख्ने सुझबुझ देखाए।

यो कुराले भारतीय सेनापति नरभनेलाई पनि सीमाबारे आफ्नो राजनीतिक टिप्पणी फिर्ता लिन बाध्य तुल्यायो। उनले आफूले नेपाल र नेपालीको हृदय दुखाउन नचाहेको भन्दै आफ्नो टिप्पणीप्रति दुख व्यक्त गर्नुपर्ने अवस्था आयो।

साथसाथै भारतीय रक्षामन्त्री राजनाथ सिंहले पनि नेपाली सेनासँगको सम्बन्धको अपरिहार्यताका कारण आफ्नो पूर्व वक्तव्यका विपरीत नेपालप्रति आफ्नो सद्भाव रहेको कुरा सार्वजानिक गरे। उता, ओठेजवाफको पछि नलागी नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापाले आफ्नो जिम्मेवारीलाई सक्रियतापूर्वक पूरा गर्दै आएको प्रमाण उनका गतिविधिले दिएका छन्।

उनले भारतसँगको सीमा विवादको क्षेत्रमा भ्रमणमात्र गरेनन् सेनाभित्र सीमा सुरक्षा निर्देशनालय नै गठन गरेर नेपालको सीमा संरक्षणका प्रयास शुरु गरेको सन्देश दिएका छन्।

स्पष्ट के छ भने कालापानी क्षेत्र दक्षिण एशियाली क्षेत्रकै रणनीतिक बिन्दुका रुपमा प्रकट भएको छ। भारत र चीनका बीच बढ्दै गएको आपसी असमझदारीले यो क्षेत्रलाई थप संवेदनशील बनाएको छ।

यस्तो अवस्थामा भारतले अहिले नै सो क्षेत्रको नेपाली भूमि छोडेर फर्केला भन्ने अनुमान गर्नु ब्यबहारिक नहोला तर नेपालको सार्वभौमसत्ता र अखण्डतालाई भारतीय सेनाले गर्ने सम्मानबारे नरभनेको बदलिएको धारणा कसरी प्रकट हुन्छ भन्ने कुराले यो भ्रमणको सफलतालाई मापन गर्न सक्छ।

आपसी सहयोग, तालिम लगायतका दुईपक्षीय सहयोगका कार्यहरु राजनीतिक तहमा जतिसुकै समस्या आए पनि दुईसेनाका बीच सुमधुररुपमै जारी रहेका छन्, कुनै रोकावट आएको छैन। त्यसैगरी दुई सेनाका उच्चतहका सैनिक अधिकारीहरु बीचको संवाद पनि कायमै रहेको सहजै अनुमान गर्न सकिन्छ।

यतिबेला भारत र चीन गलबान क्षेत्रमा आमने सामने छन्। दुबैतिरका सेनाका बीचमा हानाहान हुँदा केहीले ज्यान गुमाइसकेको स्थिति छ र दुवै सरकारहरु सीमा तनाव कम गर्नेभन्दा पनि सैन्य बल सीमामा थप्नेतिर उद्धत भएका छन्।

भारतले सो क्षेत्रमा नेपाली र नेपाली मूलका भारतीय नागरिक रहेको गोर्खा फौजका हजारौं जवानलाई खटाइसकेको अवस्था छ र भारतीय बायु सेनामा पनि भर्ती खोलिदा नेपालीलाई पनि भर्ती गरिने सूचना सार्वजानिक गरिएको अवस्था छ।

यो अवस्थामा नेपालसंगको सम्बन्धमा थप चिसोपना आउनु भारतका लागि कुनै पनि अर्थमा सकारात्मक हुन सक्दैन। त्यसैले उसले आफ्नो सेनापतिलाई नेपाल भ्रमणमा पठाएर नेपालसँगको सम्बन्धमा फेरि सुमधुरता ल्याउने प्रयास गरेको बुझ्न सकिन्छ।

भारतभित्र पनि राजनैतिक विवादलाई लिएर दुई देशका सेनाबीचको सम्बन्धलाई टुट्न दिनु हुंदैन भन्ने आवाज उठ्दै आएको सन्दर्भमा यो भ्रमण तय हुनु भारतीय संस्थापन पक्ष आफ्नो पुरानो हठबाट एक कदमपछि सरेको संकेत पनि हो।

नेपाललाई चीनले उक्साएको वा नेपाल चीनको पोल्टामा पुगेको भन्नेजस्ता अकुटनीतिक टिप्पणी गर्ने नेपाल विरोधी भारतीयहरुको रबैयाभन्दा एक कदमअघि बढेर भारतीय सेनाले नेपाली सेनासँग आफ्नो परम्परागत सम्बन्धलाई जोगाइराख्ने प्रयास गरेको अर्थमा पनि यो भ्रमणलाई लिन सकिन्छ।

भारतको नीति निर्माण तहमा समेत नेपाली सेना विरोधी प्रचार हुँदा पनि नेपाली सेना उत्तेजित नभई तथ्यगत र तर्क संगत जवाफ दिँदै आएको परिस्थितिले पनि दुई सेनाबीच सैन्य कुटनीतिलाई नयाँ उचाइमा पुर्याउने अवस्था आएको बुझ्न कठिन छैन।

भारतीय सत्तापक्ष नेपालको राजनीतिक तहसँग खटपट आएको बखतमा पनि नेपाली सेनासँग सुमधुर सम्बन्ध बनाउन चाहान्छ भन्ने कुरा सैन्य सहयोगमा जारी निरन्तरताले पुष्टि गर्दै आएको छ।

केही हप्ताअघि मात्र नेपाली सेनामार्फत नेपालका लागि भेन्टिेलटरहरु दिएर कोरोनाविरुद्ध लड्न सहयोग गरेको थियो। त्यसो त स्वदेशमा पनि कोरोना महामारीका विरुद्ध लड्न प्रधानमन्त्रीले नेपाली सेनालाई नै विश्वास गरेको अवस्था छ।

राज्यका अरु निकायहरु विवादित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको औषधि र अन्य सामाग्री खरिदको सम्पूर्ण जिम्मेवारी नेपाली सेनालाई दिएका थिए, यद्यपि यसबाट नेपाली सेना हटेको अबस्था छ।  यो भ्रमणमा भारतीय सेनापतिले प्रचलित परम्पराअनुसार, राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानर्थ महारथीको दज्र्यानी चिन्ह प्राप्त गर्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *