कलाकार, सिर्जना र संस्कृति राष्ट्रका निधि हुन् : राष्ट्रपति

डिसी नेपाल
२५ वैशाख २०८३ १४:५५

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कलाकार, सिर्जना र संस्कृति राष्ट्रका निधि भएको बताएका छन्।

नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह-२०८३ लाई सम्बोधन गर्दै उनले हामी सबैलाई एउटै सूत्रमा बाँध्ने तत्व कला, साहित्य र संगीत भएको बताएका हुन्। कला, साहित्य र संगीतले समाजमा एकता, सहिष्णुता र समृद्धिको विकासमा योगदान पुर्याउने पनि राष्ट्रपति पौडेलको भनाइ थियो ।

राष्ट्रपति पौडेलले संगीतको शक्ति अपरम्पार रहेको भन्दै यो साझा भाषा, सम्पत्ति र राष्ट्रिय पहिचानको आधार पनि भएको बताए । उनले भने, ‘बहुजाति, बहुभाषा, बहुसंस्कृति र अनुपम भौगोलिक विविधता रहेको हाम्रो देशमा साहित्य, कला, गीत, संगीत आपसमा प्रेम, मित्रता र भ्रातृत्व बढाउँदै राष्ट्रिय एकतालाई बलियो बनाउने आधार हो ।’

उनले नेपाली सङ्गीतको विकासमा परम्परा र आधुनिकताको सन्तुलन कायम गर्नुपर्ने आवश्यकता पनि उत्तिकै महत्वपूर्ण रहेको भन्दै परम्परागत धुन, लय र शैलीलाई जोगाउँदै आधुनिक प्रविधि र नवीन प्रयोगमार्फत नयाँ सिर्जना गर्नु आजका सर्जकहरूको चुनौती र अवसर दुवै भएको बताए।

राष्ट्रपति पौडेलले मानवीय संवेदनाका विविध पक्षलाई अभिव्यक्त गर्ने सामथ्र्य रहेको गीतसंगीतका क्षेत्रमा लाग्ने स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कञ्जुस्याइ गर्न नहुने भन्दै सभ्य र सुसंस्कृत समाजको एउटा परिचायक पनि भएको बताए । उनले भने, ‘त्यसैले स्रष्टाको सम्मान, संस्कृतिको संरक्षण र गीतसंगीतको विकासको लागि सरकार र सम्बद्ध पक्षले सदैव सहयोग गर्नुपर्दछ ।’

उनले नेपाली लोक भाका पछ्याउँदै आधुनिक गीतसंगीतको सिर्जनामा नातिकाजीले पुर्याउएको योगदान अनुकरणीय रहेको बताए।

3उनले भने, ‘नातिकाजीका सिर्जनाहरूमा रहेको चेतना, प्रेम, देशभक्ति र मानवीय संवेदनाका अनुभूतिले उहाँलाई नेपाली गीतसंगीतप्रेमीहरूको माझ सदैव अमर बनाइराखेको छ। विशेषत उहाँका देशभक्तिपूर्ण कालजयी गीतहरूले मातृभूमिप्रतिको स्नेहलाई प्रगाढ बनाउँदै नेपाली संगीतको गौरवलाई बढाएको छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *