दुई घण्टा ढिलो सर्वोच्चको पेसी सूची : बहालवाला र भावी प्रधानन्यायाधीश इजलासविहीन
काठमाडौं । प्रधान न्यायाधीश सिफारिसलाई लिएर उत्पन्न विवादका बीच सर्वोच्च अदालतले शुक्रबारको दैनिक पेसी सूची सार्वजनिक गरेको छ।
वरीयता मिचेर प्रधान न्यायाधीश सिफारिस गरिएको विरोधमा न्यायाधीशहरूबीच असन्तुष्टि बढ्दा नियमित समयभन्दा करिब दुई घण्टा ढिलो गरी मात्र मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढेको हो।
आजको पेसी सूचीमा दुई महत्वपूर्ण न्यायाधीशहरूको नाम समावेश गरिएको छैन । बरिष्ठतामा सबैभन्दा माथि रहेकओ तर प्रधानन्यायाधीश बन्नबाट बञ्चित गरिएको कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र प्रधान न्यायाधीशका लागि सिफारिस भएका चौथो वरीयताका न्यायाधीश मनोजकुमार शर्माको आज इजलास छैन ।
सामान्यतया बिहान साढे ९ देखि पौने १० बजेभित्र सार्वजनिक हुने पेसी सूची आज २ घण्टा ढिलो बजे मात्र सर्वोच्चको वेबसाइटमा अपलोड गरिएको थियो। गोला प्रक्रिया मार्फत मुद्दा बाँडफाँड गर्नुपर्नेमा न्यायाधीशहरूबीचको आन्तरिक बैठक र असन्तुष्टिका कारण उक्त प्रक्रिया समयमा सुरु हुन सकेको थिएन।
संवैधानिक परिषद्ले वरिष्ठताका आधारमा पहिलो नम्बरमा रहेकी सपना प्रधान मल्ललाई उपेक्षा गर्दै चौथो वरीयताका मनोजकुमार शर्मालाई नेतृत्वका लागि सिफारिस गरेपछि न्यायालयमा यो सङ्कट उत्पन्न भएको हो।
अदालतको आन्तरिक विवाद र पेसी ढिलाइको प्रत्यक्ष मार भने सेवाग्राहीमा परेको छ। टाढा-टाढाबाट मुद्दाको तारिख र सुनुवाइका लागि आएका सयौँ व्यक्तिहरू अन्योलमा परेका थिए। न्यायाधीशहरू इजलासमा फर्किए पनि धेरैजसो मुद्दाहरूको सुनुवाइ प्रभावित हुने देखिएको छ।
नेपाल बार एसोसिएसनले समेत यस विषयलाई गम्भीरतापूर्वक लिँदै आकस्मिक बैठक बोलाएको बुझिएको छ।







डिसी नेपाल







Facebook Comment