वैदेशिक रोजगार विभागको कडा एक्सन : तीन महिनामै ५ करोड ४२ लाख क्षतिपूर्ति दिलाइयो

बिनेश खनाल
५ कार्तिक २०७७ १६:४९

काठमाडौं। वैदेशिक रोजगारको क्रममा ठगिएका पीडितले छोटो समयमै क्षतिपूर्ति पाउन थालेका छन्। वैदेशिक रोजगार विभागले पछिल्लो समय क्षतिपूर्ति र कारवाही प्रक्रियालाई तीव्रता दिएसँगै पीडितहरुले द्रूत रुपमा न्याय पाउन थालेका हुन्। विभागका महानिर्देशक कुमारप्रसाद दाहालले ठगीविरुद्धको कारवाहीलाई थप प्रभावकारी बनाएका हुन्।

विभागले पछिल्लो तीन महिनामा मात्रै वैदेशिक रोजगारीका क्रममा पीडितलाई ५ करोड ४२ लाख रुपैयाँ क्षतिपूर्ति दिलाएको छ। गत साउन १ गतेदेखि हालसम्म ५ करोड ४२ लाख २ हजार ९६३ रुपैयाँ क्षतिपूर्तिस्वरूप भराइएको महानिर्देशक दाहालले डिसी नेपाललाई बताए।

उनका अनुसार यो अवधिमा संस्थागततर्फ ४८ र व्यक्तिगततर्फ ५३ उजुरी दर्ता भएका थिए। यो अवधिमा तुलनात्मक रुपमा अधिकतम मुद्दा फरफारक भएको महानिर्देशक दाहालको भनाइ छ।

ठगी गर्ने १४ म्यानपावर कम्पनीलाई कारवाही

तीन महिनाको अवधिमा ठगी गर्ने विभिन्न १४ म्यानपावर कम्पनीलाई विभागले कारवाही गरेको महानिर्देशक दाहालले बताए। विभागले सबैभन्दा बढी बीएण्डबी म्यानेजमेन्ट प्रालिबाट पीडितलाई क्षतिपूर्ति दिलाएको छ। बीएण्डबी म्यानेजमेन्टलाई कारवाही गरी १ करोड ४७ लाख ३१ हजार रुपैयाँ क्षतिपूर्ति भराइएको छ।

बीएण्डबी म्यानेजमेन्टमै अझै ७५ लाख ८६ हजार रकम बिगो दाबी भएको विभागले जनाएको छ। बाँकी रकमको हकमा अनुसन्धान तथा मुद्दा शाखाबाट सञ्चालकहरुलाई पक्राउ पूर्जी जारी गरी कारवाही भइरहेको महानिर्देशक दाहालले बताए। सोही कम्पनीले ठगी गरेको भन्दै विभागमा अन्य उजुरी पनि आइरहेको उनको भनाइ छ।

दाहालका अनुसार विभागले बीएण्डबी एचआर म्यानेजमेन्टका ४ जना सञ्चालकलाई असोज २५ गते पक्राउ पूर्जी जारी गरेको छ। सञ्चालकहरु अरुणकुमार मगर, अजय तामाङ, डिल्लीराम दाहाल र रामकुमार रिजालविरुद्ध पक्राउपूर्जी जारी गरिएको हो।

बीएण्डबी म्यानेजमेन्टपछि दीपज्योति ओभरसिज प्रालिबाट धेरै क्षतिपूर्ति रकम भराइएको छ। दीपज्योतिबाट पीडितहरुलाई १ करोड ६१ लाख ६५ हजार क्षतिपूर्ति रकम दिलाइएको हो। दीपज्याति ओभरसिजमै अझै १ करोड ४ लाख ७५ हजार क्षतिपूर्ति रकम बिगो दावी भएको छ।

बाँकी रकमको हकमा मुद्दा शाखाबाट कारवाही भइरहेको विभागले जनाएको छ। सोही कम्पनीले ठगी गरेको भन्दै विभागमा अन्य उजुरी पनि आइरहेको महानिर्देशक दाहालले बताए।

त्यस्तै मिनवा म्यानपावरबाट ठगीएका पीडितलाई ४२ लाख २० हजार रुपैयाँ जरिवाना भराइएको छ। मिनावाका सञ्चालकहरुलाई अनुसन्धान तथा मुद्दा शाखाबाट पक्राउ पूर्जी जारी गरी कारवाही भइरहेको विभागले जनाएको छ।

सोही कम्पनीले ठगी गरेको भन्दै विभागमा अन्य उजुरी पनि आइरहेको बताइएको छ। विभागले मिनावाका सञ्चालक दिक्पाल लिम्बु, खगेन्द्र गुरुङ, आविष्कार शिवाकोटी र मोहन शमेशेर योङ्गहाङ्ग विरुद्ध पक्राउ पूर्जी जारी गरेको हो।

त्यसैगरी विभागले जियो नेपाल ओभरसिजबाट ३१ लाख ४७ हजार ७७७ रुपैयाँ क्षतिपूर्ति पीडितलाई दिलाएको छ। विभागले जियो नेपालको कारोबारसमेत रोक्का गरेको छ। संस्थाको इजाजतपत्र रद्द नै गरेको दाहाले बताए। उक्त कम्पनीको धरौटीमा पर्याप्त रकम नभएकोले २५ लाख रुपैयाँ दामासाहीले वितरण गर्ने विभागले निर्णय समेत गरेको छ।

त्यस्तै विभागले लिङ्कस्टार म्यानपावरबाट २ लाख ४० हजार रुपैयाँ, रेश इन्टरनेशनल ह्युमन रिसोर्स प्रालिबाट ७ लाख ९८ हजार रुपैयाँ, स्काइब्रिज ओभरसिज प्रालिबाट १२ लाख ७० हजार, द हिमालयन एचआर प्रालिबाट ८ लाख ९७ हजार १९६, अल अरेबिया ओभरसिज प्रालिबाट १९ लाख ९५ हजार रुपैयाँ, डायमण्ड ओभरसिज सर्भिसेज प्रालिबाट १ लाख ३३ हजार रुपैयाँ, गुडलक इन्टरनेशनल म्यानपावर प्रालिबाट ८ लाख, नक्षत्र इन्टरनेशनल प्रालिबाट ३ लाख १५ हजार रुपैयाँ, प्रिसियस इन्टरनेशनल प्रालिबाट ३ लाख रुपैयाँ र साकुरा इन्टरनेशनल इम्पलोइमेन्ट कन्सल्टेन्सी प्रालिबाट १६ लाख ३५ हजार रुपैयाँ पीडितलाई दिलाएको महानिर्देशक दाहालले जानकारी दिए।

जरिवानावापत २१ लाख संकलन

यो अवधिमा ठगी गर्ने म्यानपावार कम्पनीलाई कारवाही गरेर विभागले राज्य कोषमा २१ लाख जम्मा गरेको छ। जरिवानावापत संकलन भएको रकम राजश्व विभागमा जान्छ।

विभागले बीएण्डबी म्यानेजमेन्ट प्रालिबाट ३ लाख ५० हजार, दीपज्योति ओभरसिज प्रालिबाट ३ लाख ५० हजार, जियो नेपाल ओभरसिज प्रालिबाट ५ लाख, लिङ्कस्टार म्यानपावर सर्भिसेज प्रालिबाट १ लाख, रेश इन्टरनेशनल ह्युमन रिसोर्स प्रालिबाट १ लाख, स्काइब्रिज ओभरसिज प्रालिबाट १ लाख, अलअरेविया ओभरसिज प्रालिबाट १ लाख ५० हजार, डायमाण्ड ओभरसिज सर्भिसेज प्रालिबाट १ लाख, गुडलक इन्टरनेशनल म्यानपावर प्रालिबाट १ लाख, नक्षेत्र इन्टरनेशनल प्रालिबाट १ लाख, प्रिसियस इन्टरनेशनल प्रालिबाट १ लाख र साकुरा इन्टरनेशनल इम्प्लोइमेन्ट कन्सल्टेन्सी प्रालिबाट १ लाख गरेर जम्मा २१ लाख रुपैयाँ जरिवाना संकलन गरेको हो।

ठगी गर्ने म्यानपावरमाथि आगामी दिनमा थप कडाइ गरिने महानिर्देशक दाहालले बताए। त्यस्तै विभागले आकर्षक मुलुकहरुमा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने गिरोह तथा विभिन्न व्यक्तिहरुलाई कारवाही गर्न सिफारिस गरेको छ।

उनीहरुलाई तुरुन्तै पक्राउ गरी अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर (अपराध अनुसन्धान तथा कारवाही शाखा) टेकु र केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जलाई पत्राचार गरिएको महानिर्देशक दाहालले जानकारी दिए।

अनुसन्धानकै क्रममा रहेकोले यसरी ठगी गर्ने गिरोह तथा व्यक्तिहरुको पहिचान अहिले सार्वजनिक गर्न नमिल्ने उनले बताए। विभागमा वैदेशिक रोजगारीको लागि ब्राजिल, क्यानाडा, क्रोएसिया, चेक गणतन्त्र, डेनमार्क, फ्रान्स, जर्मनी, बेलायत, हङकङ, हंगेरी, इजरायल, इटाल, नर्वेलगायतका देशहरुमा पठाइदिने भन्दै ठग्ने गरेका सूचनाहरु बढी आउन थालेको उनको भनाइ छ।

त्यस्ता ठगी गिरोह तथा व्यक्तिहरुले सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर, वेबसाइट लगायतमा झुटो विज्ञापन गरेर मोटो रकम असुल्ने गरेको पाइएको उनले बताए।

यूएई लगेर अलपत्र पार्नेविरुद्ध पक्राउ पूर्जी जारी

रोजगारीको लागि यूके पठाउने भन्दै यूएई लगेर अलपत्र पार्ने ३ जनाविरुद्ध विभागले पक्राउ पूर्जी जारी गरेको छ। मानव तस्करहरुले भिजिट भिसामा यूएई पुर्याएर उनीरुलाई अलपत्र पारेका थिए।

यसरी प्रतिव्यक्ति १० लाखसम्म लिएर २८ जना नेपाली यूएईमा अलपत्र पारेको अभियोगमा विभागले सिर्जना अधिकारी, सन्तोष थापा र श्याम थापाविरुद्ध पक्राउ पूर्जि जारी गरेको महानिर्देशक दाहाले बताए। यी तीनजनाले २ करोड ५९ लाख १७ हजार १४ रुपैयाँ ठगी गरेको विभागमा उजुरी परेको छ।

यूएईमा अलपत्र परेपछि पीडितहरुले दूतावासमार्फत विभागमा उजुरी गरेका थिए। वैदेशिक रोजगारीको नाममा ठगी धन्दा चलाउने जो कोहीलाई कारवाही गर्ने दाहालले दावी गरेका छन्। उनले ठगी गर्नेलाई विभागले कुनै पनि हालतमा उन्मुक्ति नदिने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *