चण्डेश्वरी र पलाञ्चोकमा प्रवेशद्वारबाट नै दर्शन र पूजा

डिसी नेपाल
८ कार्तिक २०७७ १०:२९
80
Shares

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका वडा नं ५ चण्डेश्वरीस्थित चण्डेश्वरी मन्दिर प्रवेश गर्ने मूलद्वारमा नै सूचना टाँसिएको छ, ‘जिल्ला प्रशासन कार्यालयको अत्यन्त जरुरी सूचना ।’ एकातिर संक्रामक रोगको डर, अर्कातिर जिप्रकाले शक्तिपीठ र मन्दिरमा प्रवेश निषेध गरेको सूचना प्रवेशद्वारमा नै टाँसेपछि हिजोआज मन्दिरमा दर्शन गर्न जानेहरु मूल प्रवेशद्वारबाट नै दर्शन र पूजा गरी फर्कने गरेका छन्।

जिप्रकाले विषम परिस्थितिमा बडादशैंँमा घटस्थापनादेखि नवरात्रभर जिल्लाका विभिन्न शक्तिपीठ तथा मन्दिरका साथै स्थापना गरिने दुर्गाभवानीको पण्डालमा समेत सर्वसाधारणको भीड अत्यधिक भई कोरोना संक्रमणको सम्भावित जोखिम हुने भएकाले सर्वसाधारणलाई प्रवेश निषेध गरेको छ।

विगत दशैंँमा मन्दिर परिसरमा दर्शनार्थीको ठूलो घुइँचो हुने गरेको थियो । अहिले कोरोना भाइरस संक्रमण जोखिमका कारण प्रवेशमा निषेध गरिएपछि बाहिरबाट नै दर्शन गर्ने ब्यवस्था मिलाइएको मन्दिरका पुजारी लक्ष्मण कर्माचार्यले बताए। ‘हामीले मन्दिरमा गर्नैपर्ने पूजाबाहेक अरु पूजासमेत बन्द गरेका छौंँ’, उनले भने। मन्दिरमा बनेपा आसपासका बासिन्दा दर्शन गर्न जाने गरेका छन्।

त्यसैगरी पाँचखाल नगरपालिका वडा नं ९ पलाञ्चोकमा रहेको प्रसिद्ध एवं ऐतिहासिक पलाञ्चोक भगवती मन्दिरमा हरेक वर्ष राष्ट्रपतिबाट महाअष्टमीमा पूजा र दर्शन गरेकामा यस वर्ष भ्रमण स्थगन भएको वडाध्यक्ष किरण श्रेष्ठले बताए। सर्वसाधारण दर्शनका लागि आए पनि बाहिरबाट नै दर्शन गरी फर्कने गरेको र बलिपूजा पूर्ण रुपमा निषेध गरिएको उनको भनाइ छ। यसअघि पनि बन्दाबन्दीपछि मन्दिरमा यस वर्षको वैशाख पूर्णिमामा लाग्ने पूजा र जात्रा स्थगन गरिएको थियो।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *