औषधि होइन समय मिलाऔं: प्राकृतिक घडी अनुसार यसरी चल्छ हाम्रो शरीर
काठमाडौं। आधुनिक जीवनशैली र व्यस्तताका कारण मानिसहरू आज विभिन्न स्वास्थ्य समस्याबाट गुज्रिरहेका छन्। रोग लाग्नासाथ औषधिको खोजी गर्ने धेरैको बानी हुन्छ, तर हाम्रो शरीर पहिले समयको सही चक्रसँग बिग्रिएको कुरामा धेरैको ध्यान जाँदैन।
वास्तवमा हाम्रो शरीर २४ घण्टाको एउटा प्राकृतिक चक्र अनुसार चल्छ, जसमा हरेक समय शरीरका विभिन्न अंग र प्रणाली सक्रिय हुने आफ्नै नियम हुन्छ । यो समयलाई बुझेर जीवनशैली मिलाउन सके शरीर धेरै रोगबाट आफैँ बच्न थाल्छ।
जैविक घडी अनुसार शरीरका विभिन्न अंग कुन समयमा कसरी सक्रिय हुन्छन् र हामीले के ध्यान दिनुपर्छ भन्ने विस्तृत विवरण यसप्रकार छ।
रात्रिकालीन चक्र: आराम, मानसिक सन्तुलन र सफाइ (डिटक्स)
राति ९ देखि ११ बजे (निद्राको तयारी): यस समयमा शरीर निद्राको तयारी अवस्थामा जान्छ। मस्तिष्क, स्नायु प्रणाली र हार्मोन प्रणाली सक्रिय रूपमा शान्त हुँदै जान्छन्। शरीर “आराम मोड” मा प्रवेश गर्ने भएकाले यो बेला मोबाइल चलाउने, तेज उज्यालोमा बस्ने र धेरै सोच्ने गर्दा निद्रा र हार्मोनको सन्तुलन बिग्रन सक्छ।
राति ११ देखि १ बजे (पित्ताशयको सक्रियता): यो समयमा पित्ताशय सक्रिय हुन्छ। शरीरले दिनभरका भावनात्मक र मानसिक बोझ व्यवस्थापन गर्ने तथा पित्त सम्बन्धी प्रक्रिया सन्तुलन गर्ने काम गर्छ। यस समयमा नसुतेमा चिडचिडापन, मानसिक अस्थिरता र निर्णय क्षमतामा कमजोरी देखिन सक्छ।
राति १ देखि ३ बजे (कलेजोको सफाइ): यस समयमा कलेजो सबैभन्दा बढी सक्रिय हुन्छ। शरीरको गहिरो सफाइ, विषाक्त पदार्थ हटाउने र रगत पुनः शुद्ध गर्ने काम यही बेला हुन्छ। रातभर जागा बस्दा शरीर भित्रैबाट थकित हुँदै जान्छ ।
बिहानी चक्र: ऊर्जा, निष्कासन र भोजन
बिहान ३ देखि ५ बजे (ब्रह्ममुहूर्त): यो फोक्सो र प्राण-ऊर्जाको समय हो। ध्यान, जप, अध्ययन र साधनाका लागि यो सबैभन्दा उपयुक्त समय मानिन्छ । यस बेला उठ्ने मानिसको मन शान्त, एकाग्र र स्मरण शक्ति बलियो हुन्छ।
बिहान ५ देखि ७ बजे (ठूलो आन्द्रा र निष्कासन): यो समयमा ठूलो आन्द्रा सक्रिय हुन्छ र शरीरले फोहोर बाहिर निकाल्ने प्राकृतिक प्रक्रिया बलियो बनाउँछ । उठ्ने बित्तिकै पानी पिउने र पेट सफा गर्ने बानी स्वास्थ्यका लागि अत्यन्त महत्वपूर्ण हुन्छ।
बिहान ७ देखि ९ बजे (पेट र भोजन ग्रहण): यो समयमा पेट खाना ग्रहण गर्न पूर्ण रूपमा तयार हुन्छ, त्यसैले बिहानको भोजन नछोड्नु भनिन्छ। तर यसको अर्थ भारी भोजन नभई हल्का, सात्त्विक र सजिलै पच्ने भोजन उपयुक्त हुन्छ।
बिहान ९ देखि ११ बजे (ऊर्जा निर्माण र दिमागी कार्य): यस अवधिमा शरीरले खानाबाट ऊर्जा निर्माण गर्ने काम गर्छ। यो समय पढाइ, योजना, सिर्जनात्मक काम र दिमागी गतिविधिका लागि सबैभन्दा राम्रो मानिन्छ । यस बेला आलस्य वा निष्क्रिय बस्नु शरीरको प्राकृतिक लय विपरीत हुन्छ।
दिउँसो र साँझको चक्र: सन्तुलन र शक्ति संरक्षण
दिउँसो ११ देखि १ बजे (मुटुको सक्रियता): यस समयमा मुटु बढी सक्रिय हुन्छ र रक्तसञ्चार तेज हुन्छ। त्यसैले यो बेला तनाव, रिस र झगडा कम गर्नु राम्रो हुन्छ। यही समयमा लिएको भोजन पनि सबैभन्दा राम्रोसँग पच्छ।
दिउँसो १ देखि ३ बजे (सानो आन्द्रा): यस समयमा सानो आन्द्रा सक्रिय भई खानाबाट आवश्यक र अनावश्यक तत्व छुट्याउने काम हुन्छ। यस बेला हल्का थकान वा निद्रा लाग्नु सामान्य हो, त्यसैले छोटो विश्राम लाभदायक हुन्छ।
दिउँसो ३ देखि ५ बजे (मूत्राशय): यो समयमा मूत्राशय सक्रिय भई शरीरले तरल फोहोर बाहिर निकाल्ने काम गर्छ। यस बेला पर्याप्त पानी नपिउँदा स्वास्थ्यमा समस्या देखिन सक्छ।
साँझ ५ देखि ७ बजे (मिर्गौला र शक्ति संरक्षण): यो समयमा मिर्गौला सक्रिय हुन्छ, जुन शरीरको ऊर्जा सन्तुलन, शक्ति संरक्षण र तरल पदार्थ नियन्त्रणको समय हो । यस बेला अत्यधिक थकान र तनाव लिनु हुँदैन, यसले शरीर कमजोर बनाउँछ।
साँझ ७ देखि ९ बजे (भावनात्मक सन्तुलन): यो समय भावनात्मक सन्तुलनको हो। परिवारसँग बस्ने, शान्त कुराकानी गर्ने, भजन, ध्यान वा अध्ययन गर्ने बानीले मानसिक स्थिरता बढाउँछ।
प्राकृतिक घडीको एउटै मर्म:
स्वस्थ जीवनका लागि प्रकृति र शरीरको यो नियम बुझ्न आवश्यक छ-“सूर्यसँगै उठ्नु, समयमै भोजन गर्नु, पेट सफा राख्नु, बेलुका हल्का भोजन गर्नु र चन्द्रमासँगै विश्राम गर्नु।” शरीरको समयलाई प्रकृतिसँग मिलाउन सके धेरै रोगहरू आफैँ निको भएर जान्छन्।







डिसी नेपाल







Facebook Comment