संजय दत्तको स्वास्थ्यका कारण केजीएफ २ का कैयौं दृश्यहरु फेरिने

डिसी नेपाल
८ कार्तिक २०७७ १४:२५

मुम्बइ। अभिनेता संजय दत्तले क्यान्सरलाई जितेका छन् । संजय ठिक भएर फर्किएसँगै उनका फ्यानहरुले संजयलाई पुनः फिल्ममा देख्ने चाहना व्यक्त गरेका छन् । तर, फ्यानहरुले संजयलाई पहिलेजस्तो एक्सन रुपमा देख्न पाउने छैनन् । अहिले संजयको फिटनेस एक्सन दृश्यको लागि उपयुक्त छैन । संजयले अहिले एक्सन सिन गर्न सक्ने स्थिति नभएपछि उनका आगामी फिल्महरुमा ठूला परिवर्तन गरिने भएको छ ।

संजयका २ ठूला फिल्महरु अहिले सुटिङका क्रममा छन् । दक्षिण भारतीय स्टार यशको फिल्म केजीएफको च्याप्टर २ अहिले सुटिङको क्रममा छ । बहुप्रतिक्षित यो फिल्ममा संजय अधिराको भूमिकामा देखिँदैछन् । यसबाहेक संजय दत्त अक्षय कुमारसँग फिल्म पृथ्वीराजमा देखिँदैछन् । पृथ्वीराज चौहानको ऐतिहासिक कथामा आधारित यो फिल्ममा पनि संजयले धेरै एक्सन सिन गर्नुपर्ने थियो । यी दुवै फिल्ममा पहिले संजयको लागि दमदार एक्सन सिन राखिएका थिए तर अब संजयको स्वास्थ्यका कारण यी सिनहरुमा परिवर्तन गरिने भएको छ ।

केजीएफका मुख्य कलाकार यशले एक भारतीय समाचार पोर्टलसँग कुरा गर्दै पहिले तय गरिएका एक्सन सिनका लागि संजयको फिटनेस अत्यन्तै जरुरी भएकोले सिनमै परिवर्तन गर्न लागिएको पुष्टि गरे । यशले भने ‘संजयको स्वास्थ्य सबैभन्दा पहिले आउँछ । हामीले उहाँ ठिक हुने प्रतिक्षा गरिरहेका थियौं । अब उहाँ ठिक भएपछि हामीले उहाँको स्वास्थ्य अनुसार नै काम गर्नेछौं ।’ रिपोर्टअनुसार यशकै अनुरोधमा फिल्मका केही दृश्यहरु परिमार्जन गरिँदैछन् । पृथ्वीराजमा पनि संजयले युद्धमा घोडा दौडाउने, तरवार चलाउने जस्ता दमदार एक्सन दृश्यहरु राखिएको भए पनि ती दृश्यहरुमा अब आवश्यक परिमार्जन गरिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *