महाष्टमीमा पनि वाग्मती सफाइ महाभियान रोकिएन

डिसी नेपाल
८ कार्तिक २०७७ २३:२८

काठमाडौँ । बडादशैँको मुख्य दिनमध्येको महाष्टमीमा पनि काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत वाग्मती सफाइ महाभियान रोकिएन । महाभियानको ३८९ औँ हप्तामा पशुपतिनाथ र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ ।

पशुपति क्षेत्रमा अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य माला खरेलको नेतृत्वमा सफाइ गरिएको छ । पशुपति क्षेत्र विगतभन्दा सफा भेटिएको उहाँले सुनाउनुभयो । भष्मेश्वरघाट क्षेत्रमा भने सफाइमा ध्यान दिनुपर्ने देखिएको जनाइएको छ ।

शङ्खमूल क्षेत्रको सफाइ अभियानकर्मी डा लक्ष्मी पौडेलको नेतृत्वमा भएको थियो । सफाइमा कुहिने र नकुहिने फोहर छुट्याएर व्यवस्थापन गरियो । अभियानकर्मी प्रिया लामिछानेका छोरा युशुनको जन्मदिनका अवसरमा समी र कपुरको बिरुवासमेत रोपिएको डा पौडेलले सुनाइन् ।

यसैगरी गुह्येश्वरीमाथि गोकर्णेश्वर नगरपालिकाको डौढिकस्थित हनुमान वाटिका क्षेत्रमा सफाइ गरिएको छ । बडादशैँका बेलामा समेत उल्लेख्य रुपमा अभियानकर्मीको सहभागिता थियो । यसैगरी रुद्रमती, विष्णुमती, मनोहरा, ललितपुरको गोदावरी खोला, चक्रपथको उत्तरी र पश्चिमी खण्डलगायत स्थानमा पनि भौतिक दूरी कायम गर्दै सफाइ गरिएको छ ।

विसं २०७२ जेठ ५ गतेदेखि शुरु भएको महाभियान चाडपर्व, जाडो, झरी जस्तोसुकै अवस्थामा पनि जारी छ । कोरोना भाइरसको संक्रमणबाट बच्न गत चैत ११ गतेदेखि जारी बन्दाबन्दीका बीच पनि वाग्मतीलगायत नदी किनारको नजिकै निवास भएका अभियानकर्मीले सफाइ अभियानलाई निरन्तरता दिँदै आएका छन् ।

नदी किनारभन्दा टाढा बस्ने अभियानकर्मीले भने टोल सफाइ गर्दै अभियानलाई निरन्तरता दिएका छन् । महाभियान शुरु भएपछि यसका सहायक नदीका साथै देशभरका मुख्य शहर गरी १०६ स्थानमा सफाइ अभियान शुरु भइसकेको छ । प्रत्येक हप्ता शनिबार बिहान ७ देखि ९ बजेसम्म ‘राष्ट्रका लागि दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सफाइ अभियान जारी छ ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *