विदेशमा भएकालाई दशै : ‘कागलाई बेल पाक्यो हर्ष न विस्माद’

तर्कबहादुर थापा
१० कार्तिक २०७७ ६:००

काठमाडौं। आज विजया दशमी, असत्यमाथि सत्यको विजय भएको दिन पनि हो। नेपाली हिन्दुहरुको महान चाड दशैंमा घर बाहिर गएका सम्पूर्ण आफन्तहरु घर आउँछन्।  दशैंमा जब लाहुरेहरु घर आउँछन तब गाउँको वातावरणमा नै अलगै रौनक छाउँछ। अहिलेको दशैंमा यस्तै हजारौं लाहुरे विदेशी भूमिमै छन्। ठूलो सपना देखेर विदेश गएका लाहुरे मध्येका १ हुन तुलबहादुर शाही। हाल साउदीमा भएका शाही विगत ८ वर्षदेखि वैदेशिक यात्रामा छन्।

‘अहिले घर पनि बनाएको थिएँ। ७ वर्षदेखी दशैं मनाउन पाइएको छैन। दशैं रमाइलोसँग मनाउँला भन्ने कत्रो सपना थियो,’ शाहीले डिसी नेपालसँग भने ‘कोरोनाले सबै सपना चक्नाचुर पा-यो। आज भोलि त कसैले दशैंका फोटाहरु फेसबुकमा राख्दा पनि आखाँ रसाउँछ त्यसैले मैले फेसबुक पनि चलाउँदिन्।’

‘विदेशमा पनि खानपान त गरिन्छ,’ उनले भने, ‘तै पनि घरमा खाएको जस्तो त कहाँ हुन्छ विदेशमा। विदेशमा त जति मिठो मसिनो खाए पनि आफूलाई जन्म दिएका र आफूले जन्म दिएकाहरुसँगै भएर खाए जस्तो कहाँ हुँदो रहेछ। सबै साथिहरुलाई मैले नै सम्झाउँछु तै पनि आफ्नै मन समाल्न सक्दिन। एकान्तमा जान्छु। टोलाउँछु। आशुँ चुहाउछु।’

यूएईमा प्रदिप खड्का पनि अहिलेको दशैंमा खुसी नभएको बताउँछन्। ‘हुन त चाडबाडमा जहिले पनि नरमाइलो भइ हाल्छ। तर, अहिले त कोरोनाका कारण जताततै त्राहीमाम छ। कोरोनाका कारणले पनि यसपालिको दशैं त्यति धेरै रमाइलो नहुने भयो। यही यूएईमा भएका नेपाली साथीभाइसँग पनि कोरोनाका कारणले भेटघाट नहुने भयो। गर्न पनि नसकिने अवस्था फोनबाटै शुभकामना दिएर अहिलेको दशैं मनाइन्छ होला।’

नुवाकोटका दिलबहादुर स्याङतान पनि विगत धेरै वर्षदेखि विदेशी भूमिमै छन्। ‘हामीलाई दशैं के तिहार के केही पनि थाहा छैन,’ दिलबहादुरले भने, ‘जहिले उस्तै हो ड्यूउटी गर। कोठामा फर्क। नेपाल आएर मनाउँने भन्ने सोच हो । यो कोरोनाले त्यो पनि हुन सकेन। दुर्गामातासँग विदेशी भूमिबाट नै प्रथाना गरौं। अर्को वर्ष घरमै रमाइलोसँग दशैं मनाउन पाइयोस्।’

खोटाङका पुष्कर कार्की हाल पोल्यान्डमा बस्छन्। उनलाई पनि दशैंको रमझम जति नेपालमा हुथ्यो त्यति पोल्यण्डमा हुँदैन। हामीले कसरी दशैं मनाउँनु हुन्छ भनेर सोधेका थियौं। कार्कीले आफ्नो दशैं मनाउँने तालिका यसरी सुनाए। ‘विदेशमा बस्ने नेपालीहरु महान चाड बडा दशैंमा पहिले आफ्ना परिवारसँग फोनमै शुभकामना आदान प्रदान गर्ने गर्छैां। विदा हुने साथीभाइ भेटघाट गरी खुशी साटासाट गरी मनाउने भने विदा नहुनेहरु कार्यस्थलमा नेपालीहरु भए शुभकामना आदानप्रदान गर्दै छुट्टी पश्चात कोठामा साथीहरु मिली केही रमाइलो गरी खुशी साट्दै मनाउने गर्छौं। कोरोनाले गर्दा धरै भेला हुने धेरै रमाइलो गर्ने भन्ने छैन। दशैं फोनबाट मनाएको धेरै वर्ष नै भयो, अब त आफूलाई सम्हाल्न धेरै हदसम्म सिकी पनि सकियो।’

सोलुखुम्बुका गाविन्द खत्री हाल यूएइमा छन्। यूएईमा रहँदा उनलाई नेपालका चाडबाडको सम्झना धेरै नै आउँछ। उनले धेरै वर्ष निधार रित्तोभएको तितो अनुभव सुनाए। उनले पनि आफ्नो विदेशको दशैंको योजनाबारे यसरी बेलीविस्तार लगाए।

‘बिदेसमा हुँदा निधार रित्तो भएको धेरै भयो। कता कता नरमाइलो त लाग्छ त्यही पनि यहाँ बिरानो ठाउँमा आएर पनि सबै साथीसँग मिलेर मिठो मिठो खाएर मनाइएको छ। घरमा भएको भए चौरासी व्यञ्जन खान पाइन्थ्यो तर यहाँ भने कहाँ त्यस्तो पाउनु।

‘जे होस् चाडबाडमा घरको याद सारै आउछ। गाउँघरको रोटे पिंङ र मेलापात, हासोरंङ,सबैको हसिलो मुहार झल्झली आइरहेछ यसलाई समझेर साथीसँग बस्ने र काममा गएर नै दशै मनाउने गरिन्छ।’

दैलेखका दुर्ग भण्डारी भारतमा छन्। खुल्ला सीमाना भए पनि कोरोनाका कारण यो वर्षको दशैंमा घर आउने वातावरण थिएन। तै पनि दशैं भनेपछि घर आउँन त मन कसलाई पो हुँदैन र? तर पनि आइएन ।

डिसी नेपालसँग उनले आफू भारतमै भएर पनि घर आउन नपाएकोमा दुःख व्यक्त गरे। उनले भने, ‘दशैं त थिएन। तै पनि कोरोना नभएको भए घर आइथ्यो होला । आफन्तसँग रमाइलो हुथ्यो होला। के गर्नु प्रदेशीलाई दशैं कागलाई बेल पाक्यो हर्ष न विस्माद त हो।’

कोरोनाका कारण विश्वका सवा २ सय बढी देशहरु प्रभावित भइरहँदा रोजगारीको शिलशिलामा विदेश गएका नेपालीहरु अझै समस्यामा परेका छन्। कतिले रोजगारी गुमाएका छन्। रोजगारी गुमाएकाहरु पनि केही देशहरुबाट नेपाल फिर्ता हुन सकेका छैनन्। विदेशमा रहेर दशैंमा घर आउने मन भएका हरेक नेपालीको मन अमिलो भएको छ। आखाँ धमिलो भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *