इटलीमा कोरोनाको दोस्रो लहर, सरकारले लगाएको प्रतिबन्धको विरोधमा ठाउँठाउँमा झडप

डिसी नेपाल
११ कार्तिक २०७७ १०:२९

काठमाडौं। कोरोना महामारीको ठूलो असर भोगिसकेको देश इटलीमा महामारीको दोस्रो लहरको खतरा बढेको छ । प्रशासनले दोस्रो लहरबाट बच्नको लागि पूर्वतयारीस्वरुप मिलान, तुरिन लगायतका शहरमा रेष्टुरेन्ट, क्याफेहरु छिटै बन्द गर्न आदेश दिएको छ । सिनेमा हल, जिम र मनोरञ्जनका अन्य साधनहरु बन्द गराएको छ । जनताले भने सरकारले लगाएको प्रतिबन्धको विरोध गरेका छन् ।

द गार्डियनका अनुसार उत्तरी इटलीको शहर तुरिनमा सरकारी प्रतिबन्धको विरोधमा सडकमा उत्रिएको भिड हिंस्रक भएको छ । प्रदर्शनकारीहरुले तोडफोड गरेका छन् र पुलिसमाथि सिसाका बोतलले आक्रमण गरेका छन् । ८ अक्टोबरदेखि इटलीमा कोरोना स.क्रमितको संख्या लगातार बढिरहेको छ । ८ अक्टोबरमा इटलीमा नयाँ संक्रमित ४ हजार ४ सय ५८ जना भेटिएका थिए । त्यसपछि यो संख्या लगातार बढ्दै गएको छ । २४ अक्टोबरमा इटलीमा नयाँ संक्रमितको संख्याले १९ हजार नाघेको छ । २५ अक्टोबरमा नयाँ संक्रमितको संख्या २१ हजार थियो । २६ अक्टोबरमा नयाँ संक्रमित १७ हजार भेटिए ।

लगातार नयाँ संक्रमणका केसहरु भेटिएपछि सरकारले प्रतिबन्धको घोषणा गर्यो तर इटलीका जनता प्रशासनको विरोधमा उत्रिए । इटलीको व्यवसायिक राजधानी मिलानमा पनि पुलिसले प्रदर्शनकारीहरुमाथि अश्रुग्यास प्रहार गर्नुपरेको छ । यहाँ प्रशासनले रेष्टुरेण्ट क्याफे र बारहरु ३० दिनसम्मका लागि बेलुकी ६ बजे बन्द गर्न आदेश दिएपछि जनता विरोधमा उत्रिएका थिए । इटलीमा सामान्यतया बेलुकीको खाना खान साढे ७ बजे सुरु गरिन्छ तर प्रशासनले यसमा रोक लगाएपछि चर्को विरोध भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *