सरकारको स्वास्थ्य रणनीतिमा परिवर्तन नगरे अबका ३ महिना कोरोना जाेखिम उच्च

तर्कबहादुर थापा
१२ कार्तिक २०७७ १२:११

काठमाडौं। पछिल्ला केही दिन यता विश्वमा नै कोरोना संक्रमित हुनेको सूचाकांक ग्राफ उकालो लागेको देखिन्छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पनि भदौपछि उकालो लागेको संक्रमित हुनेहरुको संख्याको ग्राफ ओरालो लाग्न सकेको छैन। एकपटक कोरोना मुक्त भएका देशहरुमा पनि पुनः कोरोनाको जोखिम देखिएको छ। केही देशहरुले भने पुनः संकटकाल नै लगाएका छन्।

जनस्वास्थ्यविद्  डा. रवीन्द्र पाण्डे नेपालमा सरकारको स्वास्थ्य रणनीति परिवर्तन नभए अबका ३ महिना कोरोनाको उच्च जोखिममा रहने बताउँछन्। चिसो मौसम सुरु भएसँग हुने मौसमी फ्ल्यू र कोरोनाका लक्षणहरु मिल्दो जुल्दो भएका कारण सर्वसाधारणले चिसोको रुगाखोकी हो भन्दै घरमै बस्न सक्ने र संक्रमण बढ्न सक्ने उनको अनुमान छ।

डिसी नेपालसँगको कुराकानीमा उनले भने, ‘कोरोना सर्नका लागि संक्रमित व्यक्तिहरुको मुख वा नाकबाट आउने तरल पदार्थको छिटाहरु अन्यको सम्पर्कमा आउनु पर्छ। छ्यूँ गर्दा वा खोक्दा हामीले नदेखिने छिटाहरु हाम्रो वायूमण्डलमा आएका हुन्छन्। गर्मी मौसममा ती छिटाहरु गमीका कारण चाडैँ सुक्छन भने जाडोमा ती छिटाहरु लामो समयसम्म रहन्छन्। हामीले मास्क विना लिएको स्वासबाट हाम्रो शरीरमा प्रवेश गर्छन् र हामीलाई संक्रमित गराउँछन्। त्यसकारण गर्मी महिनाको भन्दा जाडो महिनामा कोरोनाको संक्रमण दर बढ्छ।’

कोरोनाको जोखिम कम गर्न यूके र इटालीको जस्तो निर्णय लिन पनि सरकार तयार हुनुपर्छ। यो ३ महिनामा कोरोनाको प्रकोपलाई स्थिरमात्र राख्न सक्नु पनि उपलब्धि हो। जनचेतना जगाउनका लागि मास्क, स्यानिटाइजर, भौतिक दूरी लगायतका विषयमा सरकारले धेरै ख्याल गर्नुपर्छ।

नेपालमा सामान्यतः कात्तिक महिना लागेपछि चिसो मौसम सुरु हुन थाल्छ। डा. पाण्डेका अनुसार मंसिर, पुष र माघमा कोरोनाको उच्च जोखिम रहने छ। ‘सरकारले आफ्नो स्वास्थ्य रणनीतिमा परिवर्तन नगरे यी ३ महिनामा कोरोना भयावह पनि हुन सक्छ,’ डा. पाण्डेले भने।

‘फ्रान्स, स्पेन, इटाली, बेलायत लगायतका धेरे देशहरुमा कोरोना फर्किएको छ,’ डा. पाण्डेले भने, ‘केही देशहरुले संकटकाल लगाएका छन् भने कतै कफ्र्यू पनि लागेको छ। यूरोपका देशहरुमा कोरोनाको संक्रमण पुनः बल्झिन थालेपछि अहिले त्यहाँको सरकारले कडा रणनीति बनाएर अघि बढेको छ। उदाहरणको लागि यूकेमा एउटा व्यक्ति होम आइसोलेसनम छन्। उनी बाहिर निस्किँमा १० हजार पाउण्डसम्मको जरिवाना तोकिएको छ। यस्तै अर्को उदाहरण पनि दिउँ इटालीमा मास्क नलगाएको भेटे ३ सयदेखि ५ सय यूरो जरिवाना तोकेको छ।’

नेपाल सरकारले गरेको एउटा निर्णयले जाडोमा कोरोना संक्रमणको प्रकोप बढने डा. पाण्डेको अनुमान छ। सरकारले यस अघि नै कोरोनाको परीक्षण र उपचार खर्च स्वयम व्यक्तिले नै गर्नु पर्ने भनि निर्णय गरेको थियो। सरकारको यो निर्णका कारण धेरैले कोरोनाको चेकअप पनि नगराएर घरमै बस्ने अथवा कसैलाई नभन्ने भएकाले पनि कोरोना संक्रमण जोखिम रहने डा. पाण्डेको बुझाइ छ।

डा. पाण्डेले भने, ‘सरकारले गरेको निर्णय फिर्ता लिनु पर्छ र जनचेतनामा ध्यान दिनुपर्छ। कोरोनाको जोखिम कम गर्न यूके र इटालीको जस्तो निर्णय लिन पनि सरकार तयार हुनुपर्छ। यो ३ महिनामा कोरोनाको प्रकोपलाई स्थिरमात्र राख्न सक्नु पनि उपलब्धि हो। जनचेतना जगाउनका लागि मास्क, स्यानिटाइजर, भौतिक दूरी लगायतका विषयमा सरकारले धेरै ख्याल गर्नुपर्छ।’ आवश्यक परेमा स्वास्थ्य मापदण्डको प्रयोग नगर्नेलाई कारवाही समेत गर्नुपर्ने डा. पाण्डेको सुझाव रहेको छ।

बेलायले कोरोनाका विरुद्ध कसरी लड्ने भन्ने विषयमा फिल्म नै बनाएको सुनाउँदै डा. पाण्डेले भने, ‘हाम्रो सरकारले पनि यस्ता विषयवस्तुमा ध्यान दिनुपर्छ। सर्वसाधारणलाई कसरी कोरोनाबाट बच्न सकिन्छ भन्ने विषयमा महजोडी जस्ता कलाकारलाई लिएर टेलिफिल्ममात्र भएपनि बनाएर सचेतना फैलाउनु पर्छ।’

‘अब अस्पतालमा कोरोना संक्रमितलाई राख्ने बेडहरु पनि थप्नुपर्छ,’ पाण्डेले भने, ‘हामी अहिलेको अवस्थामा अस्पतालका बेड र जनशक्तिको भर परेको खण्डमा आउने ३ महिनामा नेपालमा मृत्युदर पनि बढ्न सक्छ। संक्रमित धेरै हुन्छ भन्ने कुरामा दुविधा नै छैन। सरकारको निर्णयले पनि कोरोना संक्रमितको संख्या बढाउनमा ठूलो भूमिका खेलेको छ। र, अझै पनि अस्पतालका बेडहरु र जनशक्तिमा ध्यान नदिएसम्म सरकारले मृत्युदर पनि घटाउन सक्दैन।’

तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने कोरोनाका लागि जाडो र गर्मीमा अलग रणनीति हुन नसक्ने बताएका छन्। डिसी नेपालसँग उनले भने, ‘अहिलेसम्म जाडोले बढ्ने र गर्मीमा घट्छ भन्ने कुराका अहिलेसम्म कुनै प्रमाण छैन। प्रमाण विना त्यसको कुनै नीति निर्माण हुँदैन।’

डा गौतमले भिरमा जाने गाईलाई ‘रामराम भन्न सकिन्छ काँध हाल्न सकिन्न’ भन्दै सर्वसाधारणलाई आफै सजग हुन पनि आग्रह गरेका छन्। उनले भने, ‘मन्त्रालयले विभिन्न खालका स्वास्थ्य मापदण्ड बनाएको छ। उक्त मापदण्डलाई सबैले पालना गर्नु पयो। यदि मापदण्ड पालना नगरेको पाइएमा सरुवारोग ऐन अन्र्तगत कारवाही हुन्छ। र, जानी जानी कोही कोरोनाको बेलामा खेलाची गर्छ भने हामीले जिम्मेवारी लिन सक्दैनौं।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *