बच्चाहरुलाई पिटेर भोलिपल्ट उनीहरुलाई नै कागज गराइएछ : शाही

डिसी नेपाल
१४ कार्तिक २०७७ १२:४२

काठमाडौं। अघिल्लो दिन खेदी खेदी पिटेर भोलिपल्ट उल्टै बच्चाहरुलाई कागज गराएको पाइएको छ। भारतको देहरादुनस्थित शाक्य एकेडेमीमा अध्ययनरत बालिबालिकालाई प्रहरीको सामु राखेर कागज गराइएको छ।

नेपाली मुलका भारतीयहरु संलग्न केही संघसंस्थाले स्थानीय प्रहरी र विद्यालय दुबैलाई आफूहरुलाई घटनाबारे चासो रहेको र नेपाली बच्चाहरुको अभिभावकको भूमिका निर्वाह गर्न तयार भएको जानकारी गराएपछि ती संघ संस्थाका प्रतिनिधिहरु विद्यालयमा आइपुग्नुअघि नै विद्यालय र प्रहरीले मिलेर विद्यार्थीहरुलाई हतार हतार कागज गराएको पाइएको देहरादुनस्थित गोर्खा डेमोक्रेटिक संघका अध्यक्ष सूर्यविक्रम शाहीले डिसी नेपाललाई बताए।

घटनाबारे थाहा पाएपछि विद्यालय र स्थानीय प्रहरीलाई खवर गरी विद्यालय पुगेका सूर्यविक्रम शाहीले त्यहाँको अवस्थाबारे डिसी नेपाललाई यसरी बताए :

घटना बुधबारको रहेछ। दशैंतिहारको समयमा नेपाल फर्कन पाऊँ आफ्नो परिवारसँग चाड मनाउन पाऊँ भन्ने इच्छाले शाक्य एकेडेमीमा पढ्ने बच्चाहरुले विद्यालयका गुरु, गुरुआमालाई निवेदन दिएका रहेछन्।

झण्डै ५० भन्दा बढी विद्यार्थीहरुले निवेदन दिएकोमा कसैलाई पनि बिदा नदिनेभन्दै विद्यार्थीहरुलाई थर्काइएको, सम्झाइएको र फकाइएको रहेछ। त्यसैले केहीले निवेदन फिर्ता लिन्छौं पनि भनेका रहेछन् तर धेरैले फिर्ता लिन नमानेपछि रिसको आवेगमा आएर मुख्य गुरुजीको छोरा(गुरुजी नै) ले लठ्ठी लिएर उनीहरु बसेकै बेड बेडमा पुगेर पिटेको रहेछ।

जथाभावी पिट्दा कसैको खुट्टा सुन्निएका, कसैको पिडौंला सुन्निएका, कसैको हात पाखुरा सुन्निएका, कसैको निधार र टाउकोमा चोट लागेको त कसैको ढाडमा चोट लागेको देखियो।

यो घटनाबारे बिहीबार विहान जानकारी पाएपछि म र अरु स्थानीय नेपाली मुलका साथीहरु विद्यालय जाने भयौं। स्थानीय प्रहरी र विद्यालयलाई पनि खबर गरियो। तर, हामी आउनुभन्दा पहिला नै प्रहरी सो स्कूलमा गइसकेको रहेछ। प्रहरीले विद्यार्थीहरु भेटेर उनीहरुसँग कुराकानी गरी कागज पनि गराएको रहेछ।

हामीले प्रहरीलाई बालवालिकालाई के कागज गराएको हो हेर्न पाउनुपर्छ भन्यौं तर प्रहरीले त्यो देखाउन मानेको छैन। कुटिएका विद्यार्थीहरुको घटनाको वयानमात्रै हो कि वा अरु केही छ त्यसमा भन्ने खुलेको छैन। हाम्रो साथमा बाल आयोगकी अध्यक्ष उषा नेगी पनि जानुभएको थियो।

उहाँले पनि प्रहरीसँग यसबारे कुरा गर्नु भएको छ। के कागज गराएको रहेछ विस्तारै खुल्दै जाला। मुख्यकुरा त विद्यार्थी पिटिएका छन् फेरि यस्तो पिट्ने काम भयो भने कालिला बालबालिकामा फ्रस्टेशन आउला र जे पनि गरिदेलान् भन्ने पीर हामीलाई भयो। हामीले स्कूलका मुख्य गुरु र अरु गुरुहरुसंग सो कुरा राख्यौं।

घर जान दिने कि नदिने भन्ने कुरामा आवेशमा आएर बच्चाहरुलाई पिटिएका रहेछन्, हामीसँगको भेटमा उहाँहरुले गल्ती भयो भनेर माफी माग्नुभयो। हामीले बच्चाहरुसँग पनि कुरा गर्न चाह्यौं।

बच्चाहरुलाई पनि बोलाइयो र उनीहरुलाई के भएको हो भनेर हामीले सोध्यौं। उनीहरुले आफूहरु पिटिएको कुरा सबैका सामुन्ने भनिदिए। कतिपय बच्चाहरुले अब नेपाल गएपछि अब फर्किएर सो स्कूलमा नआउनेसमेत बताएका थिए।

नेपालका दुर्गम ठाउँका बच्चाहरु लगेर बुद्ध धर्म पढाइने मूल उदेश्यसहित बच्चाहरुलाई नियमित स्कूलको शिक्षा पनि दिँदै आएको सो स्कूलले त्यहाँ भर्ना भएपछि वच्चाहरुको नाम थर नै फेरिदिने गरेको रहेछ।

विद्यार्थीहरुले सो गुनासो गरेपछि हामीले कुरा उठायौं। कोही तामाङ, कोही राई र कोही अन्य जातका बच्चाहरु छन् तर सबैको नाम छिरिङ, सोनाम, दोर्जे आदि बनाइएको रहेछ र थर पनि बेग्लै।

यो कुरा उठाएपछि उनीहरुले बच्चाहरुको वास्तविक नाम जे छ त्यही राखिदिने जानकारी हामीलाई गराएका छन्। नेपाल फर्कन चाहने बच्चाहरुलाई स्कूलले नै गाडी रिजर्भ गरेर पठाउने र उनीहरुलाई घर घर पुर्याएको जानकारी गराउने भन्ने सहमति भएको छ।

अब केही दिनमा नै घर फर्कन चाहने बच्चाहरुलाई पठाइदिने विश्वास लिएका छौं। झण्डै दुईसय जति विद्यार्थी रहेको सो स्कूलमा ८० प्रतिशत विद्यार्थी नेपालबाट लगिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *