देशको सीमा गलत उल्लेख गरेको भन्दै साउदी अरबसँग भारत आक्रोशित

डिसी नेपाल
१५ कार्तिक २०७७ ३:२६

काठमाडौं । साउदी अरबले आफ्नो नक्सा तोडमोड गरिदिएको भन्दै भारतले साउदी अरबलाई सो कार्य तत्काल सच्चाउन भनेको छ। आफ्नो सीमाबारे अरुले गलत गरिदिएकोमा भारतले ठूलो आक्रोशसहित सच्याउन भनेको हो।

समाचारअनुसार, भारतको भूगोलबाट विवादित जम्मु काश्मीर र लद्दाख क्षेत्रलाई हटाई एउटा औपचारिक नोट जारी गरेपछि सो कदमप्रति भारतले तीब्र प्रतिक्रिया जनाएको हो।

आफ्नो सीमाबारे गलत चित्रण गरेको भन्दै भारतले साउदी अरबको सो कार्यप्रति गम्भीर चिन्ता व्यक्त गरेको सन्देश पनि साउदी अरबलाई पठाएको छ। भारतीय विदेश मन्त्रालयले यसबारे औपचारिक प्रतिक्रिया दिंँदै विहीबार साउदी अरबको सो कार्यप्रति असन्तुष्टि जनाएको हो।

साउदी अरेबिको मौद्रिक प्राधिकरणले जी २० को अध्यक्ष राष्ट्र भएको खुसीयालीमा अक्टोबर २४ मा जारी गरेको एउटा नोटमा भारतको नक्साबाट लद्दाख तथा जम्मु काश्मीर हटाइएको देखाइएको छ।

एनडीटीभीका अनुसार, भारतीय विदेश मन्त्रालयले यसको विरोध गर्दै अक्टोबर २९ तारिक विहीबार भनेको छ, भारतस्थित साउदी राजदूत र साउदीमा रहेका भारतीय राजदूतमार्फत भारतीय सीमाको गलत उल्लेख गरिएकोबारे ‘हामीले हाम्रो गम्भीर चासो व्यक्त गरिसकेका छौं र साउदी सरकारलाई सो कार्य तत्काल सच्याउन पनि भनेका छौं।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा साउदीको लगानी भित्र्याउन र अरब राष्ट्रहरुबाट पाकिस्तानलाई अलग गर्नका लागि साउदी अरबका शासकलाई रिझाउने प्रयत्न गर्दै आएका छन्। गतवर्ष उनले साउदी राजकुमार महम्मद विन सलमानलाई भारत भ्रमणका क्रममा सरकारी प्रोटोकल तोडेरै भए पनि आफैं विमानास्थल पुगेर स्वागत गरेका थिए।

मोदीको यो कार्यलाई भारतको विदेश मन्त्रालयले द्विपक्षीय सम्बन्धको नयाँ अध्याय भनेको थियो। त्यसपछि मोदीले साउदी अरवको भ्रमण गरी राजा सलमान बिन अब्दुलाजीज अल सउद र क्राउन प्रिन्सलाई भेटेर केही ऊर्जा सम्झौतामा हस्ताक्षर पनि गरे।

एनडीटीभीको समाचारअनुसार, भारत, विश्वको तेस्रो ठूलो तेल उपभोक्ता हो र साउदी अरबको एक प्रमुख ग्राहक पनि हो। साउदीले उसको नक्सामा फेरबदल गरिदिएकोमा चर्को असन्तुष्टि प्रकट गर्ने भारतले भने आफूले बर्षौंदेखि नेपालको सीमा मिचेर आफ्नो नक्साभित्र पार्दै जवर्जस्ती गर्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *