‘अयोग्य’को राजीनामा माग्दै इन्जाबाट वरिष्ठ उपाध्यक्ष दाहालको राजीनामा

डिसी नेपाल
१७ कार्तिक २०७७ ११:०५

काठमाडौं। नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) का केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुनीलमणि दाहालले पदबाट राजीनामा दिँदा असक्षम नेतृत्वको समेत राजीनामा माग गरेका छन्।

उनले लगाएका आरोपहरुबारे केन्द्रीय समितिको बैठकमा पेश नगरी गुपचुप राख्न खोजिएपछि एकजना पदाधिकारीहरुले बैठकमै ती आरोपहरु पढेर सुनाएका थिए। गम्भीर विषयहरुलाई छलफलमा ल्याउनुको साटो लुकाइएको भन्दै केही केन्द्रीय सदस्यहरु तथा सल्लाहकारहरुले असन्तुष्टि पोखेका थिए।

दाहालको राजीनामामा ‘इन्जा अध्यक्षलगायत व्यवस्थापन समितिमा निर्णायक पदमा रही हालसम्म दिइएको जिम्मेवारीअनुरूप इन्जामा कुनै योगदान नगरेको र उनीहरुमै अत्याधिक पदलोलुपता, कमजोर लिडरशीप, जिम्मेवारी बहन गर्न अयोग्य, ग्लोबल संस्था संचालबारे शून्यसरहको अनुभव तथा संस्था संचालन र संस्थाको भिजनमा समेत निस्क्रिय रहेकाहरूले स्थानीय ससाना संस्थाहरूप्रति चासो र पदीय सहभागिता जनाउने गरेकाले ती पदाधिकारीहरूबाट इन्जाको गरिमा घटन गएको’ आरोप लगाएका छन्।

दाहालले आफ्नो राजीनामामा यसरी अयोग्यहरूको भिडबाट इन्जाको भविष्य अनिश्चित र संस्थाको बिकास असम्भब हुने भन्दै संस्था कुनै पनि समयमा दुर्घटनाग्रस्त हुने चेतावनीसहित अयोग्य र असमर्थ पदाधिकारीहरूको राजीनामा समेत मागेका छन्। दाहाल इन्जामा अहोरात्र खटिएका थिए। किन राजीनामा दिनुभएको भन्ने प्रश्नको उत्तर दिन दाहालले मानेनन्।

उनले आधिकारिक धारणा र कारण इन्जासँगै बुझ्न आग्रह गरे। उनको राजीनामा छलफल नै नगरी हतारमा स्वीकृत गरिएको एक सल्लाहकारले बताए। यसबारे प्रतिक्रिया दिँदै इन्जाका अध्यक्ष गुणराज लुईंटेलले व्यक्तिगत कारण उल्लेख गरेर दाहालले राजीनामा दिएको र सबैसँगको सल्लाहमा राजीनामा स्वीकृत गरिएको बताए।

उनले भने, ‘उहाँको योगदानको उच्च मुल्यांकन गरिएको छ।’ लुईटेलले राजीनामा पत्रमा कुनै आरोपहरु नभएको दावी पनि गरे। इन्जाले लेखन वृत्तिसहित नेपालमा ७० पत्रकारहरुलाई अप्ठेरोको बेला सहयोग गरेको र सक्रियताका साथ आगामी कार्यक्रमहरु पनि तय गरिएको उनले बताए।

इन्जाका सल्लाहकार तीर्थ कोइरालाले इन्जामा ठूलो विवाद नै आउने गरी कुनै इस्यू भएको आफूलाई जानकारी नभएको बताए। ‘कुनै पनि संगठनहरुमा राजीनामा दिने र आउने सामान्य प्रक्रिया हो,’ वरिष्ठ पत्रकार कोइरालाले डिसी नेपालसँग भने, ‘यो कुनै इस्यू नै हो जस्तो लाग्दैन। काम गर्न संस्था नै चाहिन्छ भन्ने पनि छैन। यो कुनै इस्यूको विषय नै होइन।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *