सबै सरकारी सञ्चारमाध्यम एकै छातामुनि ल्याउन कानून तर्जुमा गरिने

डिसी नेपाल
१८ कार्तिक २०७७ २१:०९

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले समृद्ध मुलुक निर्माण गर्न सूचनाको महत्वपूर्ण भूमिका हुने भएकाले राष्ट्रिय समाचार समिति जस्ता संस्थाले सत्य, तथ्य तथा विश्वसनीय सूचना जनतासमक्ष सम्प्रेषण गर्नुपर्ने बताएका छन् । पुरानै कार्यशैली, सोच र संरचनाबाट अहिलेका परिस्थितिमा प्रतिस्पर्धी बन्न नसकिने जनाउँदै उनले आफ्ना सोच, संरचना र कार्यशैलीलाई परिवर्तित समयानुसार पुनः संरचना गर्न निर्देशन दिए ।

“अब खोजमूलक समाचारमा ध्यान दिनुहोस्”, सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालेपछि आज राससको निरीक्षणका क्रममा उनले भने, “सरकारले गरेका जनपक्षीय कामलाई जनतासमक्ष पु¥याउनुहोस्, राज्यका सबै तह र माथिल्ला निकायबीच समन्वय हुने ढङ्गबाट राससले काम गर्नुपर्छ ।”

उनले सक्षम रासस बनाउन पञ्चायतकालदेखि हालसम्मका गतिविधि र भावी योजनासहितको श्वेतपत्र निर्माण गरी चाँडै मन्त्रालयमा प्रस्तुत गर्न निर्देशन दिए । उनले राससलाई थप प्रतिस्पर्धी र सुदृढ बनाउन सरोकार भएकाहरुसँग निरन्तर संवाद गर्न पनि निर्देशन दिए ।

राससको सुदृढीकरणका लागि सरकारका तर्फबाट सदैव सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै उनले यसलाई भरपर्दो, विश्वसनीय र आधिकारिक सूचना केन्द्रका रुपमा विकास गर्न मन्त्रालय सकारात्मक रहेको बताए । अहिलेको समयमा राससजस्ता संस्थाले आफूलाई थप प्रतिस्पर्धी र विश्वसनीय बनाउन शुद्धीकरणको जरुरी रहेको उल्लेख गर्दै उनले पदाधिकारी र सम्पूर्ण कर्मचारीले आफूलाई तोकिएको जिम्मेवारी इमान्दारीका साथ पूरा गरे÷नगरेका विषयमा मन्त्रालयका तर्फबाट पनि अनुगमन तथा मूल्याङ्कन गरिने स्पष्ट गरे ।

सो अवसरमा मन्त्री गुरुङले चारवटै सरकारी सञ्चारमाध्यमलाई एकै छातामुनि राख्दा स्रोत साधन, जनशक्ति, भौतिक पूर्वाधार र समाचार सम्प्रेषणका क्षेत्र प्रभावकारी हुने आफ्नो धारणा रहेको बताए। “राज्यको स्रोतबाट सञ्चालन भएका रासस, गोरखापत्र संस्थान, रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एउटै संरचनाअन्तर्गत हुने गरी छाता ऐन तर्जुमा गर्नुपर्ने आवश्यकता मैले महसुस गरेको छु, यसमा हामी मन्त्रालयभित्र र विज्ञहरुसँग पनि थप छलफल गरी निर्णय गर्नेछौँ”, सबै माध्यमको एकीकृत संयोजनबाट ठोस परिणाम निकाल्न सकिने उल्लेख गर्दै उनले भने।

सो अवसरमा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले चारै सरकारी सञ्चारमाध्यमले एकापसमा समन्वय गरेर जानुपर्नेमा जोड दिए। राससलाई साधन, स्रोतसम्पन्न बनाउन मन्त्रालयको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै उनले भौतिक सम्पत्तिको सदुपयोग गर्न पनि सुझाव दिए ।

राससका अध्यक्ष श्यामल अधिकारीले राससका प्रदेश कार्यालयहरुलाई सरकारका गतिविधिको समाचारको आधारथलो बनाउनुपर्ने बताउँदै भिडियो सेवा सञ्चालन गर्न न्यूनतम सात जनाको जनशक्ति र पर्याप्त स्रोतको व्यवस्था गरिदिन आग्रह गए । राससलाई हेर्ने राज्यको दृष्टिकोण बदल्न आग्रह गर्दै उनले मुलुकको बदलिँदो परिवर्तित अवस्थाअनुसार रासस ऐन परिमार्जन गरेर थप प्रभावकारी काम गर्ने वातावरण सिर्जना गरिदिन पनि आग्रह गए ।

राससका प्रमुख समाचारदाता राजु शाक्यलगायत विभागीय प्रतिनिधि सहभागी छलफलमा राससका प्रधानसम्पादक श्याम रिमालले जनताका बीचमा सरकारविरुद्ध फैलाइएका भ्रम चिर्ने उपयुक्त माध्यम रासस रहेको उल्लेख गर्दै सरकारका निर्णय र आधिकारिक धारणा राससमार्फत छिटो छरितोरुपमा सार्वजनिक गर्ने व्यवस्था गर्न सकिए थप प्रभावकारी हुने बताए । सो अवसरमा राससका प्रशासन प्रमुख उत्तम सिल्वालले राससले प्रवाह गर्दै आएको सेवा र भावी योजनाका बारेमा जानकारी गराएका थिए ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *