बाढीपीडितको सहयोगका लागि नेपाल-बंगलादेश टी-२० क्रिकेट सिरिज प्रस्ताव

डिसी नेपाल
२६ भदौ २०८३ ११:५६

काठमाडौं । बंगलादेश र नेपालले खेलकुद तथा सांस्कृतिक आदानप्रदानका माध्यमबाट द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन चासो व्यक्त गरेका छन् । यसका लागि दुई देशबीच टी–२० क्रिकेट शृङ्खला आयोजना गर्ने विषय मुख्य प्रस्तावका रूपमा अगाडि आएको छ।

बंगलादेशी अखबार डेली सनका अनुसार बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले बिहीबार बंगलादेश सचिवालयमा बंगलादेशका युवा तथा खेलकुद राज्यमन्त्री अमिनुल हकसँगको भेटवार्ताका क्रममा सो प्रस्ताव राखेका हुन्।

भेटका क्रममा राजदूत भण्डारीले हालै नेपालमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्का समयमा बंगलादेश सरकार र त्यहाँका जनताले पुर्‍याएको समयसापेक्ष सहयोगका लागि धन्यवाद ज्ञापन गरे।

दुई देशबीचको बलियो राजनीतिक सम्बन्धलाई जोड दिँदै राजदूतले खेलकुद र सांस्कृतिक आदानप्रदानमार्फत सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रसस्त सम्भावना रहेको बताए। उनले द्विपक्षीय क्रिकेट प्रतियोगिताहरूलाई पुनः निरन्तरता दिने प्रस्ताव गर्दै टी–२० शृङ्खलाका लागि नेपाल बंगलादेश भ्रमण गर्न वा बंगलादेशी टोलीलाई नेपालमा आतिथ्यता प्रदान गर्न तयार रहेको जानकारी गराए।

प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिँदै राज्यमन्त्री अमिनुलले खेलकुद कूटनीतिप्रति बंगलादेशको प्रतिबद्धता दोहोऱ्याए र मन्त्रालयले बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) सँग छलफल अघि बढाउन सकोस् भन्नका लागि राजदूत भण्डारीलाई औपचारिक मनसाय पत्र बुझाउन आग्रह गरे।

यसैगरी, अमिनुलले पर्वतारोहणको क्षेत्रमा थप सहकार्यको प्रस्ताव गर्दै नेपाली खेलाडीहरूसँग अभ्यास गरी बंगलादेशी एथलीटहरूलाई पर्वतारोहणसम्बन्धी सीप विकास गर्न सहयोग पुर्‍याउन नेपालको भौगोलिक अनुकूलताको उपयोग गर्ने वातावरण बनाउन आग्रह गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *