प्रमबाट ‘फर्किन् मेरी आमा’ लोकार्पित

डिसी नेपाल
१८ कार्तिक २०७७ २१:५८

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्रष्टा प्रेमनाथ अधिकारीको गीति एल्बमको ‘फर्किन् मेरी आमा’ को आज लोकार्पण गरेका छन्। सो गीति एल्बमको प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा विमोचन गर्दै प्रधानमन्त्री ओलीले नेपाली परम्परा र नेपाल एकीकरणका क्रममा पनि गीतका माध्यमले जनतालाई एक सूत्रमा बाँध्ने काम गर्न थालिएकामा खुशी व्यक्त गर्दै यसका पक्षमा जनतालाई निरन्तर जागरुक र सचेत गराउन आग्रह गरे ।

“सधैँ सत्यका पछि लाग्नुपर्छ । यस क्रममा एक्लै भए पनि सत्यका पछि लाग्दा अन्ततः सत्यकै विजय हुन्छ”, प्रधानमन्त्री ओलीले भने, “अतिक्रमणमा परेको नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा फिर्ता भएरै छाड्नेछ ।” वर्तमान सरकारकै कार्यकालमा उक्त भूमिलाई नेपालको नक्शामा समावेश गर्ने गरी संविधान संशोधन गराइएको थियो ।

राष्ट्रिय जनसांस्कृतिक महासङ्घका नेता अधिकारी सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) का अध्यक्षसमेत छन् । अधिकारीले राष्ट्र, राष्ट्रियता, समृद्ध नेपाल र सामाजिक सद्भावका विषयमा रच्नुभएका लोकभाकासहितका छ गीत एल्बममा सङ्कलन गरिएका छन् ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद् डाविजय सुब्बा र प्रा केशव सुवेदीले गीतकार र गायकलाई शुभेच्छा व्यक्त गरेका थिए ।
कमला अधिकारीको निर्माण रहेको सो एल्बममा गायक, संकलक तथा रचनाकार अधिकारी हुन् । सङ्गीत संयोजन अशोक लोहरुङ राई गरेका छन् भने गायनमा दुर्गा परियार र विना भट्टराईले साथ दिएका छन् ।

यसैबीच प्रधानमन्त्री ओलीसँग आज अभिनेत्री मनिषा कोइरालाले प्रधानमन्त्री निवासमा भेट गरेकोको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *