‘कोमा’ मा नेपाली चलचित्र उद्योग, तिहारपछि संचालनमा आउलान् फिल्म हल ?

तर्कबहादुर थापा
१९ कार्तिक २०७७ ७:४९

काठमाडौं। विश्वमा जस्तै नेपालमा पनि कोरोनाले विभिन्न क्षेत्रमा अपुरणीय क्षति पुर्याएको छ। गत चैत्र ११ गतेदेखि लागु भएको लकडाउनका कारण नेपालमा संचालित सम्पूर्ण कलकारखाना, व्यापार/व्यवसाय, उद्योगधन्दा तथा कार्यालयहरु बन्द भए। साउन ७ गतेसम्म भएको औपचारिक लकडाउनले अर्थतन्त्रका सम्पूर्ण ‘पिल्लर’हरुमा असर पुर्यायो।

साउन ७ गतेपछि नेपालमा औपचारिक लकडाउनको अन्त्य भयो। सामान्यतः व्यापार व्यवसाय खोलिए। उद्योगधन्दा पनि स्वास्थ्य सम्बन्धि मापदण्ड अपनाएर खोल्ने सरकारको आदेश भयो।

सार्वजनिक सवारी साधन, आन्तरिक तथा अन्तर्राट्रिय हवाई उडान पनि खोलिए। भदौ महिनामा स्थानीय सरकारले आ–आफ्नाे स्थानीय तहमा निषेधाज्ञाको अभ्यास गरे। असोजपछि प्राय सम्पूर्ण उद्योगधन्दा तथा व्यापार व्यवसाय र कार्यालहरु खुलेका छन्।

नेपालमा कोरोनाको महामारीकाबीच अन्य सम्पूर्ण उद्योग खुलेपनि चलचित्र उद्योग भने अहिलेसम्म खुल्न सकेको छैन। लकडाउन हुनु पूर्व बन्द भएको नेपाली चलचित्र उद्योग हालसम्म बन्द रहेको छ।

नेपाल चलचित्र विकास बोर्डका सदस्य नरेन्द्र महर्जन भने चलचित्र उद्योगले अपूरणीय क्षति व्यहोरेको सुनाउँछन्। नेपाली चलचित्र जगतका निर्माता, कलाकार तथा चलचित्र व्यवसायीहरुले विगत ८ महिनामा अर्बौंको नोक्सान व्यहोरेको सदस्य महर्जनको भनाइ छ।

उत्तरी छिमेक चीन र भारतको बलिवुड इन्डस्ट्री लगायत अन्यदेशरुको चलचित्र उद्योगमा अपनाइएका स्वास्थ्य सम्बन्धि मापदण्डहरुलाई गाईडलाइन बनाएर प्रतिबेदन तयार गरी सीसीएमसीलाई दिइसकेका छौं। अब सकभर तिहार पहिला नै चलचित्र उद्योग खुल्छ। यदि भएन भने तिहार लगतै खोल्छौं

डिसी नेपालसँग महर्जनले भने, ‘नेपाली चलचित्र उद्योगले अपूरणीय क्षति व्यहोरेको छ। बितेका ८ महिनामा चलचित्र जगतलाई भएको नोक्सानीको कुनै हिसाव गर्न सकिँदैन। सरकारबाट कुनै पनि अनुदान नपाउने यो उद्योगमा भएको नोक्सानीको असर नेपाली चलिचित्र निर्माता, कलाकार र सम्पूर्ण चलचित्र व्यवसायीलाई परेको छ।’

चलचित्र हलहरु खोल्ने विषयमा छलफल भए पनि काठमाडौं उपत्यकामा कोरोनाका संक्रमितहरु दैनिक बढ्न थालेपछि कार्य अधुरैरहेको उनको तर्क छ। उनले भने, ‘हामीले योबीचमा कुराकानी पनि गरेका थियौं। अहिले त कोरानाबाट मुख्यसचिवसहित अन्य कर्मचारीहरु पनि संक्रमित हुनु भएकाले हाम्रो बैठक बस्न सकेको छैन। अब सायद चाडैं यो समस्याको समाधान तर्फ हामी जान्छौं होला।’

महर्जनले तिहार पूर्व नै चलचित्र उद्योग संचालनमा आउन सक्ने संकेत पनि गरेका छन्। उनले भने, ‘हामीले अन्तर्राष्ट्रिय अभ्यास अनुसार चलचित्र हलहरुलाई कोरोना संक्रमण मुक्त बनाएर चलाउने सोच राखेका छौं। विश्व स्वास्थ्य संगठन र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार गरेको स्वाथ्य मापदण्ड अनुसार सम्पूर्ण तयारीका साथ ‘फिल्म हल’ संचालनमा ल्याउने छौं।’

‘एउटा सो सकिएपछि पुरै हललाई ‘डिस्इन्फेक्टेड’ गर्न सेनिटाइज गरिने छ। फिल्महल भित्र भएका सिटसंख्याको ५० प्रतिशतलाई मात्र प्रवेश दिइने छ। साथै टिकट अनलाइनबाट मात्र खरिद गर्ने व्यवस्था गरिने छ,’ महर्जनले भने।

उनका अनुसार फिल्म हेर्न जाने सबैले मास्क अनिवार्य लगाउनु पर्ने छ। फिल्म चलिरहँदा समेत क्रसचेकिङ हुने छ। र, स्वास्थ्य मापदण्डलाई पालना गरेको भेटिएमा संक्रमण रोग ऐन २०२० अनुसार कारवाही हुने पनि महर्जनले जानकारी दिए।

बलिउड र अन्य देशहरुको चलचित्र जगत चलायमान भएको सुनाउँदै महर्जनले नेपालमा पनि उक्त देशहरुले अपनाएको स्वास्थ्य सम्बन्धी मापदण्डहरुलाई गाइडलाइन गरेर प्रतिवेदन समेच ‘कोभिड क्राइसिस् म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)’मा बुझाइ सकिएको जानकारी दिए।

उनले भने, ‘उत्तरी छिमेक चीन र भारतको बलिवुड इन्डस्ट्री लगायत अन्यदेशरुको चलचित्र उद्योगमा अपनाइएका स्वास्थ्य सम्बन्धि मापदण्डहरुलाई गाईडलाइन बनाएर प्रतिबेदन तयार गरी सीसीएमसीलाई दिइसकेका छौं। अब सकभर तिहार पहिला नै चलचित्र उद्योग खुल्छ। यदि भएन भने तिहार लगतै खोल्छौं।’

चलचित्र वितरण गर्ने कम्पनी (एफडी)का सदस्य वीरेन्द्र शर्माले सरकारले कतिबेला लकडाउन गर्छ कतिबेला खोल्न भन्ने निश्चित नभएकाले चलचित्र उद्योग चलायमान हुन नसकेको बताएका छन्।

डिसी नेपालसँग उनले भने, ‘चलचित्र व्यवसायीले हल खोल्ने बारे विमर्श गर्नु भएको थियो। कोरोनाको सम्पूर्ण मापदण्ड अपनाएर फिल्महल खोलिए पनि पुनः लकडाउन भयो भने उहाँहरूको दोहोरो खर्च हुने भएका कारण पनि चलचित्र हल खोल्न व्यवसायीहरु राजी नभएका हुन्।’

हाल चलचित्रहरु पनि वितरका लागि नआएको उनको भनाइ छ। ‘चलचित्र तयारी अवस्थामा छन,’ उनले भने, ‘हाम्रो कम्पनी वितरण गर्न तयार छ। तर, कसैले पनि चलचित्र वितरण गर्न दिँदैनन्। हलमा एकपटक लगाएपछि सकियो। यस्तो अवस्थामा चल्दैन होला भन्ने पनि निर्माताहरुमा डर छ। त्यसैले पनि निर्माताहरुले चलिचित्र वितरणका लागि दिएका छैनन्।’

चलचित्र निर्माताहरु पनि पुरानो लगानी नउठेका कारण नयाँ लगानीको लागि आफूहरु उत्साहित नभएको बताउँछन्। उनीहरु चैत्रबाट प्रदर्शनका लागि तयार भएका चलचित्रहरु यथावत रहेको उदाहरणहरु सुनाउँदै यस्तो बेलामा नयाँ चलचित्रको बारेमा सोच्न पनि नसकिने बताउँछन्।

चलचित्रकर्मी एवन उप्रेतीले लकडाउन भएपछि कुनै पनि चलचित्र नगरेको तितो अनुभव सुनाए। उनले भने, ‘लकडाउन भएपछि चलचित्र उद्योग नै बन्द भयो। म मात्र होइन हामी धेरै चलचित्रकर्मीहरु अहिले साह्रै दुःखमा छांै। कतिपयलाई त ‘म्यूजिक भिडियो’मा पनि गएको देखिन्छ। मैल त्यो पनि गरेन। अब अपेक्षा गरौं चाडै नै हाम्रो उद्योग खुल्ने छ। हामी बेरोजगार बस्न पर्ने छैन।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *