नेपाल प्रहरीमा पाँच डिआइजी थप गर्ने प्रस्ताव मन्त्रिपरिषदमै अड्कियो

डिसी नेपाल
२३ कार्तिक २०७७ १०:२१

काठमाडौं। गृहमन्त्रालयले नेपाल प्रहरीको ५ डिआइजी थप्ने प्रस्ताव मन्त्रिपरिषदमा पठाएपनि त्यो अहिलेसम्म पास हुन सकेको छैन। मन्त्रिपरिषदले दरबन्दीका बारेमा कुनैपनि निर्णय नगरेका कारण ३ महिनादेखि डीआइजी थप गर्ने प्रस्ताव रोकिनुका साथै बढुवा हुन समेत सकेको रोकिएको छ।

डीआइजीका १२ दरबन्दी निलम्बनमा भएकाले ती मध्ये ५ पद कायम गरी बढुवा गर्ने प्रहरीको मागलाई ध्यानमा राखी मन्त्रालयले सो प्रस्ताव मन्त्रिपरिषदमा पठाएको थियो।

‘प्रहरीको माग अनुसार नै गृहमन्त्रालयले मन्त्रिपरिषदमा ५ दरबन्दी कायम गरी रिक्त ३ समेत ८ डीआइजी पदमा बढुवा गर्न प्रस्ताव पनि लगिसकेको छ, अब केही दिनमै मन्त्रिपरिषदबाट स्वीकृत हुन्छ होला ’, गृहमन्त्रालय स्रोतले भन्यो।

गृहमन्त्रालयका सहसचिव रामप्रसाद आचार्य संयोजक रहेको संगठन तथा ब्यवस्थापन सर्वेक्षण(ओएण्डएम) समितिले तीन महिना अघि नै डिआइजीको दरवन्दी थप गर्ने प्रस्ताव लगेको थियो। प्रहरी प्रधान कार्यालय र गृहमन्त्रालय पनि पाँच डीआइजी आवश्यक रहेको निष्कर्षमा पुगेपछि सो प्रस्ताव गएको हो।

२०७५ साल जेठमा प्रवेश गरेका विश्वराज पोखरेल, धिरजप्रताप सिंह,सहकुल थापाहरुको समूहका १५ एसएसपी पनि बढुवाको दौडमा छन्। उनीहरु मध्ये दरवन्दी थप भए ८ जना डिआइजीमा बढुवा हुनेछन्।

लागूऔषध ब्यूरो, साइबर ब्यूरो, जुनियर प्रहरी तालिम शिक्षालय भरतपुर, विमानस्थल सुरक्षागार्ड (एयरपोर्टं) र सुरक्षा निर्देशनालयमा डीआइजीकै दरबन्दी आवश्यक भएकाले पाँच डीआइजीका दरबन्दी कायम राख्नुपर्ने पक्षमा प्रहरी नेतृत्व र गृह मन्त्रालय रहेको थियो।

संघीयता लागू भइसकेको र संघमा थोरै संख्यामा प्रहरी रहने हुनाले सरकारले २०७६ चैतमा प्रशासनतर्फका २६ डीआइजीमध्ये १२ पद निलम्बन गरी १४ कायम गरेको थियो। निलम्बनमा राखिएका डीआइजीका दरबन्दी आवश्यक परे ओएण्डएम गरी पुनः कायम गर्नसकिने भनिएको थियो।

पाँच डीआइजी आवश्यक पर्ने देखेर प्रहरीको माग अनुसार गृहले मन्त्रिपरिषदमा प्रस्ताव लगेको थियो। तर मन्त्रिपरिषदले स्वीकृत नगरेकाले रिक्त रहेको तीन दरवन्दीमा पनि डिआइजी बढुवा हुन सकेका छैनन्। तत्कालीन आइजीपी ठाकुर ज्ञवाली, एआइजी तारिणी लम्साल र डीआइजी सूर्य उपाध्यायको अवकाशपछि ३ डीआइजी पद रिक्त रहेको छ।

तीन डीआइजी बढुवाका लागि हालका आइजीपी थापाकै समूहका एसएसपीहरु पनि दाबेदार छन्। त्यसबाहे डीआइजी बढुवाका दाबेदार एसएसपीहरुमा गणेशबहादुर ऐर, दिवेश लोहनी, पुरुषोत्तम कँडेल, दिलीप चौधरी, राजेशलाल कर्ण, देवबहादुर बोहरा, दिवेश लोहनीसहित ९ जना छन्।

२०७५ साल जेठमा प्रवेश गरेका विश्वराज पोखरेल, धिरजप्रताप सिंह,सहकुल थापाहरुको समूहका १५ एसएसपी पनि बढुवाको दौडमा छन्। उनीहरु मध्ये दरवन्दी थप भए ८ जना डिआइजीमा बढुवा हुनेछन्। प्रहरी प्रधान कार्यालयले एसएसपी एवं प्रवक्ता कुवेर कडायतले तत्कालै बढुवाको प्रकृया अघि नबढेको बताए।

‘अब केही समय लाग्छ होला तीन पद खाली छ त्यसबाहेक पनि केही तयारी छ कि भन्ने लागेको छ त्यसकारण अहिले बढुवाको लागि कुनै प्रकृया अघि बढेको छैन’, एसएसपी कडायतले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *