ट्रम्पको पराजय हेर्न चाहेकी भनिएकी मेलानियाको प्रतिक्रियाले नयाँ तरंग

डिसी नेपाल
२४ कार्तिक २०७७ १२:५८

काठमाडौं। अमेरिकी राष्ट्रपतिको निर्वाचनमा बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्प पराजित भएका छन् । यद्यपि ट्रम्पले मतदान प्रक्रिया र मतगणनाका विषयमा कानुनी लडाइँ सुरु गरेका छन् । ट्रम्पले मरिसकेका अमेरिकीको नामबाट समेत मतदान भएको दावी गरेका छन् । उनले यो चुनाव चोरिएको भन्दै विपक्षीहरुलाई चोरसमेत भनेका छन् । ट्रम्प अझै पनि यो निर्वाचन परिणाम स्वीकार गर्ने पक्षमा छैनन् र बारम्बार ट्वीट गर्दै चुनाबमा धाँधली भएको दावी गरिरहेका छन् ।

यही बीचमा ट्रम्पकी पत्नी तथा प्रथम महिला मेलानिया ट्रम्पले निर्वाचनको विषयमा दिएको प्रतिक्रियाले नयाँ तरंग ल्याएको छ । मेलानियाले अमेरिकी नागरिक निष्पक्ष निर्वाचनको हकदार भएको बताउँदै प्रत्येक वैध भोटको गणना हुनुपर्ने तर अवैध भोट गणना गरिन नहुने बताएकी छिन् । उनले पूर्ण पारदर्शिताका साथ लोकतन्त्रको रक्षा गरिनुपर्ने बताएकी छिन् । मेलानियाको यो प्रतिक्रियाले कैयौं प्रश्नहरु उठाएका छन् किनकि निर्वाचनमा अवैध मतदान भएको कुरा ट्रम्पले उठाउँदै आएको मुद्दा हो ।

२ दिन अघिमात्र डेलीमेलले ट्रम्प परिवारका पूर्व सहयोगीहरुको हवाला दिँदै मेलानियाको ट्रम्पसँग सम्बन्ध राम्रो नभएको र उनीहरुको वैवाहिक सम्बन्ध लेनदेनको मात्र भएको दावी गरेको थियो । रिपोर्टअनुसार मेलानिया ट्रम्पसँग सम्बन्धविच्छेद गर्न चाहिरहेकी छिन् तर ट्रम्प पदमा हुँदा शक्तिशाली हुने र यो बेला सम्बन्धविच्छेदसहित सम्पत्तिको माग गर्दा ट्रम्पले समस्या पार्न सक्ने भएकोले ट्रम्प पदबाट हट्दासम्म मेलानियाले प्रतिक्षा गरिरहेको दावी गरिएको थियो । यदि मेलानियाले ट्रम्प पदबाट हटुन् भन्ने चाहेकै भए उनले ट्रम्पले गर्दै आएको धाँधलीको दावीलाई किन समर्थन गरिन् भन्ने प्रश्न उठेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *