आतंकवादीले गाउँलेहरुलाई फुटबल मैदानमा जम्मा गरेर ५० जनाभन्दा धेरैको टाउको छप्काए

डिसी नेपाल
२५ कार्तिक २०७७ १६:११

काठमाडौं। आतंकवादीहरुले उत्तरी मोजम्बिकमा ५० जनाभन्दा धेरै गाउँलेको टाउको छप्काएका छन् । इस्लामिक लडाकूहरुले गाउँमा रहेको एक फुटबल मैदानलाई ‘हत्या स्थल’मा परिणत गरेर गाउँलेहरुलाई त्यहाँ ल्याइ काटेका हुन् । मोजाम्बिकको सरकारी मिडियालाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार अर्को एक गाउँमा पनि गाउँलेहरुको टाउको काटिएको छ ।

इस्लामिक लडाकूहरुले २०१७ देखि मोजाम्बिकको काबो डेल्गाडो प्रान्तमा गर्दै आएका भयानक आक्रमणको सिलसिलामा यो पछिल्लो घटना हो । मुस्लिम बाहुल्य यो प्रान्तमा अहिलेसम्म २ हजारभन्दा धेरै मारिइसकेका छन् र १ लाख ३० हजारभन्दा धेरै विस्थापित भइसकेका छन् । यी लडाकूहरु इस्लामिक स्टेटसँग सम्बन्धित छन् । दक्षिणी अफ्रिकामा इस्लामिक राज स्थापित गराउनको लागि इस्लामिक स्टेटले गरिबी र बेरोजगारीले पीडित युवाहरुलाई आफ्ना लडाकूको रुपमा भर्ती गर्ने गरेको छ ।

बीबीसीका पत्रकार जोस टेम्बेले राजधानी मापुटोबाट जनाएअनुसार पछिल्लो आक्रमण ती लडाकूहरुले गरेका सबैभन्दा क्रुर आक्रमणमध्येको एक हो । यो आक्रमणपछि त्यहाँका नागरिक त्रसित छन् र उनीहरुले यो द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्न आग्रह गरिरहेको टेम्बेले बताएका छन् । आक्रमणकारी बन्दूकधारीहरुले अल्लाहो अकबर भन्दै गोली चलाउँदै शुक्रबार राती नान्जाबा गाउँमा प्रवेश गरेको मोजाम्बिक न्यूज एजेन्सीले आक्रमणमा बाँचेकाहरुलाई उद्धृत गर्दै जनाएको छ । यो गाउँमा २ जनाको टाउको काटिएको र कैयौं महिलाहरु अपहरण गरिएको एजेन्सीले जनाएको छ ।

लडाकूहरुको अर्को समूहले मुआटिडे गाउँमा पनि आक्रमण गरेको र त्यहाँ ५० भन्दा धेरै मानिसहरुको टाउको छिनाइएको एजेन्सीले जनाएको छ । भाग्न खोजेका गाउँलेहरुलाई समातेर स्थानीय फुटबल मैदानमा लगिएको र शुक्रबार रातीदेखि आइतबारसम्म जारी अत्याचारका क्रममा उनीहरुको टाउको छिनाएर शरीर टुक्रा टुक्रा पारिएको मोजाम्बिकको निजी स्तरको मिडिया पिनाकल न्यूजले जनाएको छ ।

मोजाम्बिकको सरकारले आफ्ना सैनिकलाई विशिष्टीकृत प्रशिक्षण आवश्यक भएको बताउँदै यो विद्रोह रोक्न अन्तर्राष्ट्रिय सहयोगको लागि अपिल गरेको छ । गएको अप्रिलमा पनि काबो डेल्गाडोमा एक गाउँमा भएको आक्रमणमा ५० जनालाई कसैको टाउको छिनाएर अनि कसैलाई गोली हानेर मारिएको थियो । यही महिनाको सुरुमा पनि यही प्रान्तमा ९ जनाको टाउको छिनाइएको थियो । मानवअधिकारवादी समूहहरुले मोजाम्बिकको सुरक्षा फौजले पनि विद्रोह रोक्ने क्रममा मानव अधिकार उल्लंघन, अपहरण शैलीमा गिरफ्तारी, यातना र हत्या गरेको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *