अमेरिकाको रेनल्ड्सवर्ग शहरले ग-याे तिहार मनाउने निर्णय

डिसी नेपाल
२६ कार्तिक २०७७ ७:४९

वासिंगटन डिसी। अमेरिकाको ओहायो राज्यस्थित रेनल्ड्सबर्ग शहरले यस वर्षदेखि दिवाली र तिहारलाई आफ्नो शहरको एउटा आधिकारिक रुपमा मनाउने गरी रिजोलुसन पास गरेको छ।

नोभेम्बर ९ का दिन सो शहरमा आयोजित एक कार्यक्रममा शहरको काउन्सिलका तर्फबाट पारित गरिएको रिजोलुसन सार्वजानिक गर्दै दिवाली र तिहारलाई आधिकारिक चाडका रुपमा मनाउने निर्णय गरिएको हो।

सो कार्यक्रममा नेपाली समुदायका तर्फबाट डा.दामोदर पौडेल तथा नेपाली भाषी भुटानी समुदायका तर्फबाट निल अधिकारी र दुर्गा सुवेदीले दिवाली र तिहार चाडको आ आफ्नो समुदायमा महत्वबारे बोलेका थिए।

तिहारको महत्वबारे सो शहरको काउन्सिल बैठकमा भुवन प्याकुरेलले प्रस्ताव राख्दै काउन्सिल अध्यक्ष तथा सदस्यहरुलाई शहरले मनाउने चाडको लिष्टमा राख्न कन्भिन्स गराएका थिए। प्याकुरेल रेनल्ड्सबर्ग शहरमा निर्वाचित जनप्रतिनिधि अर्थात् काउन्सिलम्यान हुन्। उनी अमेरिकी राजनीतिमा निर्वाचित हुने पहिलो नेपालीभाषी भुटानी पनि हुन्।

कार्यक्रममा ज्ञान, बुद्धि विवेक, शान्ति, प्रेम र समुन्नतिको उज्यालो छर्ने पर्वका रुपमा तिहार र दिवाली पर्व हिन्दू समुदायले मनाउँदै आएको जानकारी डा.पौडेल र प्याकुरलेलले दिएका थिए।

उनीहरुले तिहारका पाँच दिनका विशेषताहरुबारे सो शहरको काउन्सिल बैठकलाई जानकारी गराएका थिए। त्यसैगरी भारतीय हिन्दू समुदायका तर्फबाट डा.जे एस जिन्दलले दिवाली परम्परा र यसको आफ्नो समुदायमा महत्वबारे बोलेका थिए।

संभवत अमेरिकी शहरहरुमा मनाइने चाडपर्वमध्ये तिहार र दिवालीलाई आफ्नो आधिकारिक चाडका रुपमा घोषणा गर्नेमा ओहायो राज्यको रेनल्ड्सबर्ग नै पहिलो हो।

यसबारे प्रतिक्रिया दिँदै काउन्सिलम्यान प्याकुरेलले आफ्नो धार्मिक सांस्कृतिक पर्व अमेरिकामा पनि आधिकारिक चाडको रुपमा बनाउने गौरब प्राप्त भएको बताए। उनले भने, ‘हाम्रो चाडपर्व दशैंतिहार तथा धर्मसंस्कृति मनाउन नदिएर हामीलाई भुटानबाट खेदिएको थियो।

अमेरिकामा हाम्रो चाडलाई आधिकारिक चाड बनाएर निर्धक्कका साथ बनाउन पाउने निर्णय आफैं संलग्न भएको शहरको काउन्सिलबाट गराउँन पाउँदा म हर्षविभोर भएको छु। नेपाली भाषी भुटानीका लागि त त्यसकारणले पनि यो ऐतिहासिक दिन हो।’

यो घोषणासँगै सो शहरमा बस्ने नेपाली र नेपालीभाषी भुटानी तथा भारतीय हिन्दू समुदाय खुसी भएको डा. दामोदर पौडेलले डिसी नेपाललाई बताए। उनले काउन्सिलम्यान प्याकुरेलले यो काम गर्न ठूलो मेहनत गरेको र सफलता पनि प्राप्त भएको जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *