दुर्घटनापछि ६२ दिनदेखि कोमामा थिए किशोर, मन पर्ने खानाको नाम सुनेपछि चमत्कार !

डिसी नेपाल
२६ कार्तिक २०७७ १०:४२

काठमाडौं। सडक दुर्घटनामा परेर ६२ दिनदेखि कोमामा रहेका १८ वर्षका एक किशोर मनपर्ने खानाको नाम सुन्नासाथ कोमाबाट ब्युँझिएका छन् । उत्तर पश्चिमी ताइवानमा भएको यो घटनाले डाक्टरहरु समेत आश्चर्यमा परेका छन् । उत्तर पश्चिमी ताइवानको सिन्चु काउन्टीका चियू थर भएका किशोर गएको जुलाईमा स्कुटर दुर्घटनामा परेका थिए । त्यतिबेलादेखि उनी कोमामा थिए ।

ताइवान न्यूजका अनुसार उनी टोन येन जनरल अस्पतालको आइसीयूमा थिए । अस्पतालको आइसीयू निर्देशक शी शुङ शीनका अनुसार उनी ६२ दिनसम्म कोमाको स्थितिमा थिए । अस्पतालमा भर्ना गर्दा उनको बाँच्ने सम्भावना अत्यन्तै न्यून देखिएको थियो । उनको दाहिने मृगौला, कलेजो लगायत भित्री अंगमा चोट लागेको थियो । डा. शुङका अनुसार उनको ६ सर्जरी गरिएको थियो । सर्जरीपछि उनको ज्यान त बच्यो तर उनी होशमा आउन सकेनन्, उनी कोमाको स्थितिमा पुगे ।

उनलाई लगातार होशमा ल्याउने प्रयास भइरहेको थियो तर हरेक प्रयास असफल भइरहेका थिए । तर, ६२ दिनपछि अचानक यस्तो चमत्कार भयो जसलाई विश्वास गर्न नै कठिन हुन्छ । रिपोर्टका अनुसार त्यस दिन चियूका दाजु अस्पताल पुगेका थिए । उनले मजाकमै भाइलाई आफूले भाइको मन पर्ने चिकेन फिलेट खान लागेको बताए । चियूलाई चिकेन फिलेट निकै मन पर्छ । आफ्नो मन पर्ने खानाको नाम सुन्नासाथ उनको शरीरमा हलचल हुन थाल्यो । दाजुले तत्काल डाक्टरलाई यसबारे जानकारी दिए । चियुको पल्स रेट बढ्न थाल्यो र केही बेरमा उनी होसमा आए । डाक्टरहरुका अनुसार चियू अब पूर्ण रुपमा ठिक छन् र उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *