११ महिनासम्म कोरोनाभाइरस छिर्न नदिएको देशमा अन्ततः हिजो पहिलो संक्रमित भेटिए

डिसी नेपाल
२६ कार्तिक २०७७ १४:३७

काठमाडौं। कोरोनाभाइरसको संक्रमण मानिसमा फैलिन थालेको ११ महिना भयो । अघिल्लो वर्षको डिसेम्बर महिनाको अन्त्यतिर चीनमा देखिएको यो भाइरसको संक्रमण अहिलेसम्म विश्वका सबैजसो देशमा पुगिसकेको छ । तर, एउटा देश यस्तो थियो जसले यो भाइरसलाई अहिलेसम्म आफ्नो देशमा छिर्न दिएको थिएन । तर, अब भने त्यहाँ पनि कोरोनाभाइरस पुगेको छ । यो देशमा हिजो पहिलो संक्रमित भेटिएका छन् ।

प्रशान्त महासागरमा रहेको टापु देश भानुआटुमा हिजो कोरोनाभाइरसको पहिलो केस भेटिएको छ । अस्ट्रेलिया र पपुआ न्यूगिनीको नजिकै रहेको यो देशमा यसअघि एक जना पनि संक्रमित भेटिएका थिएनन् । यहाँ भेटिएका पहिलो संक्रमित यही देशका नागरिक हुन् । २३ वर्षका यी युवक नोभेम्बर ४ मा अमेरिकाबाट फर्किएका थिए । फर्किएलगत्तै क्वारेन्टाइरमा बसेका उनको ५ दिनपछि नियमित जाँचको क्रममा मंगलबार उनी संक्रमित भएको पुष्टि भएको समाचार एजेन्सी एपीले जनाएको छ

अधिकारीहरुले ती युवक फर्किएको विमानमा यात्रा गर्ने सबैलाई क्वारेन्टाइन गर्ने योजना बनाइरहेको बताएका छन् । यी संक्रमितको सम्पर्कमा आएकाहरुको पनि खोजी भइरहेको समाचारमा जनाइएको छ । अहिले विश्वमै सबैभन्दा धेरै संक्रमित देश अमेरिका हो । यहाँ लगातार ७ दिनदेखि प्रत्येक दिन १ लाखभन्दा धेरै नयाँ संक्रमित भेटिएका छन् । यहाँ कूल संक्रमितको संख्या १ करोडभन्दा धेरै भइसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *