यूएईमा डेढ लाख तलबको लोभ देखाएर साढे ३ लाखसम्म असुली, ४१ युवाको बिचल्ली

बिनेश खनाल
२७ कार्तिक २०७७ १८:४५

काठमाडौं। म्यानपावर व्यवसायीले आकर्षक तलबको लोभ देखाएर करोडौँ ठगी गरेको आरोप लगाउँदै ४१ जना युवाले वैदेशिक रोजगार विभागमा उजुरी गरेका छन। रोजगारीका लागि यूएई पुगेर अलपत्र परेर फर्किएका ती युवाहरुले लामो समयसम्म पनि क्षतिपूर्ति नपाएपछि अहिले सामूहिक रुपमा वैदेशिक रोजगार विभागमा पुगेर दवाव दिन थालेका छन्।

काठमाडौंको बानेश्वरमा रहेको ओशो रिकुटिङङ्ग एजेन्सी प्रालिले आफूहरुबाट जनही २ लाख ५० हजारदेखि साढे ३ लाखसम्म असुलेको भन्दै उनीहरुले विभागमा उजुरी गरेका थिए। फर्किएको ७ महिना वितिसक्दा पनि म्यानपावरले क्षतिपूर्ति उपलब्ध नगराएपछि ती युवाहरु अहिले आक्रोशित भएका छन।

ओशो रिकुटिङङ्गले डेढ लाखभन्दा बढी कमाइ हुने लोभ देखाएर आफूहरुलाई यूएईको शारजाह पुर्याएको पीडितमध्ये एक गोरखाका करिम मियाँले डिसी नेपाललाई बताए। उनीहरु विभिन्न चरणमा ओशो रिकुटिङङ्ग मार्फत शारजाहको इमिरेटस क्याव नामक ट्याक्सी कम्पनीमा ड्राइभिङङ्ग कामको लागि पुगेका थिए।

त्यहाँ पुगेपछि नेपालमा सम्झौताअनुसारको सेवासुविधा नपाएपछि लकडाउनकै बीचमा ४१ जना युवाहरु नेपाल फर्र्किएको मियाँले बताए। उनीहरुमध्ये कोही ६ महिनामै फर्किएका हुन भने कोही १ वर्षसम्म बसेर फर्किएका हुन्।

‘नेपालमा भनेअनुसारको सेवासुविधा नपाएपछि उल्टै ऋण गरेर फर्किएका हौँ। फर्किएको अर्काे दिन नै विभागमा आएर उजुरी गरेका थियौँ। तर, अहिलेसम्म सुनुवाइ नै भएको छैन,’ मियाँले भने।

नेपालमा उनीहरुसँग म्यानपावरले यूएईमा १५ सय दिराम तलब, दिनमा ८ घण्टा ड्यूटी र हप्तामा १ दिन विदा दिइने भनेर कागजी सम्झौता गरेको छ। म्यानपावरका कर्मचारी तथा एजेन्टले तलब बाहेक आकर्षक कमिशन आउने र मासिक डेढ लाखभन्दा बढी आम्दानी हुने आशा देखाएर ३ लाखभन्दा बढी रकम आफूहरुबाट लिएको इलामका राजेन्द्र कुमार राईले बताए। उनले भने, ‘धेरै कमाइ हुने भएपछि ३ लाख तिरेका थियौँ। तर, सबै झुट रहेछ। त्यहाँ पुग्दा यहाँ भनेजस्तो केही पनि सुविधा रहेनछ।’

नुवाकोटका बुद्धिराम तामाङका अनुसार १५ सय तलब तथा ड्युटी गरेको आधारमा अलग्गै कमिशन आउने बताइए पनि त्यहाँ तलबको व्यवस्था नै थिएन। डुयूटी गरेवापत घण्टाको आधारमा कमिशन मात्रै आउने तर, त्यो निकै कम आउने उनले सुनाए।

त्यस्तै उनीहरुले कम्पनीलाई दैनिक रुपमा ट्याक्सी भाडा बुझाउनु पर्दथ्यो। त्यस्तै बिग्रिएमा आफ्नै खर्चमा बनाउनु पनि पर्दथ्यो। ‘तलबको व्यवस्था नै रहनेछ। ट्याक्सी चलाएर आफूले कमाएको आधारमा पैसा पाइने रहेछ। तर, दिनभर कमाएको पैसाले ट्याक्सीको भाडा तिर्न समेत पुग्दैन्थ्यो,’ उनले भने

खानाबस्न पनि गाह्रो हुने अवस्था आएपछि म्यानपावरलाई दवाव दिएर आफूहरु फर्किएको मकवानपुरका देवराज कार्किले बताए। फर्किनका लागि म्यानपावरले केहिलाई टिकटको व्यवस्था गरिदिएको थियो। तर, केहिलाई भने टिकट पनि उपलब्ध नगराएको उनको भनाइ छ। फर्किँदासाथ आफूहरु ठगीएको भनेर उजुरी गरेपनि त्यसको अहिलेसम्म केही पनि सुनुवाई नभएको उनले गूनासो गरे। ‘विभागमा थुप्रैपटक धाइसक्यौँ। जहिले पनि हामी केही गछौँ मात्रै भन्छन्। तर, अहिलेसम्म केही क्षतिपूर्ति दिलाइएको छैन,’ उनले भने।

म्यानपावरमा पुगेर कुरा गर्दा सञ्चालक तथा कर्मचारीले उल्टै धम्की दिने गरेको उनीहरुको भनाइ छ। म्यानपावर सञ्चालकले प्रहरी प्रशासन, वकील र विभागका सबै कर्मचारीसँग आफ्नो सम्बन्ध भएकोले आफूहरुको केही नबिग्रने भन्दै उल्टै धम्की दिने उनीहरुले बताए। ओशो रिकुटिङङ्गले अहिले पनि ड्राइभर भिसामा यूएई पठाउनका लागि नयाँ युवाहरुसँग धमाधम अन्तरर्वाताहरु लिने गरेको उनीहरुले बताएका छन्।

उता वैदेशिक रोजगारका महानिर्देशक कुमार दाहालले भने ठगी गर्ने ओशो म्यानपावरका सञ्चालकलाई छलफलका लागि पटक–पटक विभागमा बोलाएको तर, उपस्थित नभएको बताए। युवाहरुको उजुरी परेपछि विभागमा उपस्थित हुन भन्दै तीन पटकसम्म पत्र काटिएको उनको भनाइ छ।

‘उजुरी परिसकेपछि हामीले विभागमा आउन भन्दै पत्र काटेका थियौँ। तर, सञ्चालकहरु आएनन्। अब कानूनी प्रक्रिया अपनाएर विभागले कारवाही गर्छ,’उनले भने।

बुधवारमात्रै विभागले ओशो म्यानपावरमा छापा मारेको उनले बताए। अनाधिकृत रुपमा ड्राइभरका लागि अन्तरवार्ता गराउने गरेको सूचना पाएपछि विभागले छापा मारेको थियो। छापा मार्दा म्यानपावरले अनाधिकृत रुपमा युवाहरुलाई ठग्ने गरेको पाइएपछि बिहीबारदेखि उक्त म्यानपावरको इजाजत रोकुवा गरिदिएको उनले बताए। यसबारे विभागले थप अनुसन्धान गरिरहेको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *