पर्यटनमन्त्रीद्वारा पर्वतारोण शिक्षाको शुभारम्भ

रासस
२७ कार्तिक २०७७ १८:४९

फुङ्लिङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले हिमाल आरोहणमा बढी चासो राख्ने क्षेत्रमा रहेको ताप्लेजुङको फुङलिङ नगरपालिका–४ स्थित भानुजन माध्यमिक विद्यालयमा आज पर्यटन तथा पर्वतारोण शिक्षाको शुभारम्भ गरेका छन् ।

मन्त्री भट्टराईले विश्व पर्यटनको केन्द्रमध्ये नेपाल पनि एक भएकाले यहाँको पर्यटन प्रवद्र्धनसँगै आर्थिक विकास गर्न पर्यटन शिक्षाको आवश्यकता भएको बताउँदै हिमाल आरोहण गर्न वर्षेनी हजारौँ पर्यटक विदेशबाट आउने र स्वदेशी पनि हिमाल चढ्ने हुँदा त्यसमा सघाउन आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनका लागि पर्यटन शिक्षाको शुरु गरिएको बताए ।

सो अवसरमा पर्यटन तथा पर्वतारोण शिक्षाका लागि नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (नाथम) का कार्यकारी निर्देशक रोमनाथ ज्ञवाली र भानुजन माविमा प्रधानाध्यापक किशोर राईबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा प्रतिष्ठानले कक्षा ११ र १२ को पर्यटन र पर्वतारोहणसँग सम्बन्धित विषय अध्ययन अध्यापन गराउन प्रशिक्षक उपलब्ध गराउने, पर्यटन र पर्वतारोहण विषयका पाठयक्रम र अध्ययन सामाग्री उपलब्ध गराउने आवश्यकता अनुसार अन्य प्राविधिक र शैक्षिक सहयोग गर्ने र विद्यालयले पर्यटन तथा पर्वतारोहण विषय अध्यायन गराउने, अध्यापन गराउने उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *