फेरि अर्को कार्यकालको लागि अमेरिकी राष्ट्रपति बन्न सक्छन् डोनाल्ड ट्रम्प !

डिसी नेपाल
३० कार्तिक २०७७ १६:०३

काठमाडौं। अमेरिकामा राष्ट्रपतिको निर्वाचन भइसकेको छ र डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले जितेको घोषणा पनि भइसकेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अझै हार मानेका छैनन् । ट्रम्पले अहिले हार स्वीकार गर्न नमाने पनि अहिले उनी राष्ट्रपति बन्ने सम्भावना भने निकै कम छ । तर, ट्रम्प फेरि पनि अमेरिकी राष्ट्रपति बन्न सक्छन् ।

२०२४ को अर्को राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीले फेरि ट्रम्पलाई नै उम्मेदवार बनाउने सम्भावना बलियो छ किनकि पार्टीसँग अहिले ट्रम्पको विकल्प देखिएको छेन । ४ वर्षपछि २०२४ मा हुने अमेरिकी राष्ट्रपतिको अर्को निर्वाचन जितेर ट्रम्प फेरि राष्ट्रपति बन्न सक्नेछन् । अमेरिकाको संविधानअनुसार कुनै पनि व्यक्ति २ कार्यकाल अमेरिकाको राष्ट्रपति बन्न पाउँछ र यो २ कार्यकाल लगातार हुनुपर्ने अनिवार्य छैन । अहिले ट्रम्पको एक कार्यकाल मात्रै पूरा हुँदै गरेकोले ट्रम्प २०२४ मा अर्को कार्यकालका लागि चुनाब लड्न पाउँछन् ।

यसअघि लगातार नभइ फरक फरक समयमा २ पटक अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका पनि छन् । स्टिभन ग्रोवर क्लिभल्याण्डले पनि ट्रम्पले जस्तै पहिलो कार्यकाल पूरा गरेपछि दोस्रो कार्यकालको लागि चुनाब लड्दा हारेका थिए । तर, आफूलाई हराउने राष्ट्रपति बेन्जामिन ह्यारिसनको एक कार्यकाल पूरा भएसँगै फेरि क्लिभल्याण्ड चुनाब लडे र जिते । अर्कोतर्फ रिपब्लिकन पार्टीले पनि २०२४ मा ट्रम्पलाई नै उम्मेदवार बनाउन सक्छ किनकि पार्टीसँग ट्रम्पजत्तिको शक्तिशाली र लोकप्रिय नेता छैन । यद्यपि त्यतिबेलासम्म ट्रम्पको उमेर ७८ वर्ष भइसक्नेछ ।

एक्सियोस र वाशिङटन पोस्टले हालै यस विषयमा रिपोर्ट प्रकाशित गरेका थिए । रिपोर्टमा ट्रम्पले आफ्ना निकट व्यक्तिहरुलाई आफू २०२४ मा पुनः राष्ट्रपति निर्वाचनमा लड्ने बताएको दावी गरिएको छ । सीएनएनको एक रिपोर्टअनुसार ट्रम्पले पार्टीभित्र आफ्नो पकड बलियो बनाइरहेका छन् । पछिल्लो समय उनले राष्टिय समितिमा आफ्ना कट्टर समर्थक रोमा म्याकडेनियललाई नियुक्त गरेका थिए । यो त्यो समिति हो जसले अन्तिम समयमा पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवारबारे निर्णय गर्छ ।

सीएनएनका अनुसार रिपब्लिकन पार्टीसँग अर्को चुनाबको लागि राष्ट्रपति पदका उम्मेदवारको धेरै विकल्प छैन । यदि कोही अगाडि आइहाले पनि ट्रम्पको तुलनामा उनीहरुको राजनैतिक कद निकै सानो छ । ट्रम्प पार्टीका सबैभन्दा लोकप्रिय नेता हुन् । २०२० को चुनाबमै चुनाबअघिका सर्वेक्षणमा ट्रम्पले हार्ने निश्चित बताइएका बेला उनले बाइडेनलाई कडा टक्कर दिएपछि उनको लोकप्रियता पनि प्रस्ट भइसकेको छ । पार्टीभित्र ट्रम्पका विरोधी नभएका होइनन् तर उनीहरुलाई पनि थाहा छ ट्रम्पको विरोध गर्दा सत्तामा फर्किन कठिन छ ।

२०२४ को निर्वाचनमा ट्रम्प अगाडि नआएको अवस्थामा उपराष्ट्रपति माइक पेन्स, अरकंसासका सिनेटर टम कटन, मिसौरीका सिनेटर जोश हवले, संयुक्त राष्ट्रसंघमा राजदूत रहेकी निक्की हेलीले राष्ट्रपति पदको लागि दावेदारी पेश गर्न सक्छन् । तर, ट्रम्पले आफैं चुनाब लड्छु भनेको अवस्थामा यी सबै पछि हट्नेछन् । रिपब्लिक पार्टीको सूत्रले पनि यसको पुष्टि गरेको छ । पार्टीमा ट्रम्पका विचारलाई स्वीकार पनि गरिन्छ । ९४ प्रतिशत रिपब्लिकनले ट्रम्पले पार्टीको एजेण्डा राम्रोसँग लागू गरेको मान्छन् । कट्टरपन्थी खेमामा ९७ प्रतिशत उनको पक्षमा छन् । यसले २०२४ मा ट्रम्प चुनाब लड्न चाहेका पार्टीभित्रबाट विरोध नहुने प्रस्ट देखिन्छ ।

पार्टीभित्रबाट यति सजिलो बाटो देखिए पनि ट्रम्पलाई २०२४ मा उम्मेदवार हुन सजिलो भने छैन । २०२४ मा ट्रम्प ७८ वर्षका हुनेछन् । अमेरिकाको अढाइ शताब्दी लामो इतिहासमा अहिलेसम्म सबैभन्दा बढी उमेरमा राष्ट्रपति निर्वाचित भएका जो बाइडेन हुन् । उनी ७७ वर्षको उमेरमा निर्वाचित भएका थिए । अहिलेको निर्वाचनमा प्रचारको क्रममा बाइडेनलाई बुढो भन्ने ट्रम्प अर्को निर्वाचनमा बाइडेनको अहिलेको उमेरभन्दा बूढो हुनेछन् । अर्कोतर्फ ट्रम्पमाथि धेरै आरोप छन् र पदबाट हट्नासाथ उनले आपराधिक मुद्दा खेप्नुपर्ने हुन सक्छ । यदि कानुनी झमेला भएन भने चाहिँ ट्रम्प फेरि चुनाब लड्न पनि सक्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *