कोभिड-१९ खोपको उत्पादन र वितरणबारे बुझ्नुपर्ने कुरा

यही नोभेम्वर ९ तारिकमा फाइजर कम्पनीले आफ्नो कोभिड-१९ विरुद्दको खोप ९० प्रतिशत उपयोगी पाइएको एक विज्ञप्ति मार्फत जानकारी दिएको छ। फाइजर र जर्मन कम्पनी बायोएनटेक मिलेर बनाएको उक्त खोप अहिले ४०,००० भन्दा बढी स्वयंसेवकहरुमा तेस्रो चरणको परिक्षणको क्रममा छ र यो नतिजा त्यहि परिक्षणको प्रारम्भिक परिणाम हो।

खोपको तेस्रो चरणको परीक्षणको क्रममा एक समूहलाई कोभिड-१९ को खोप दिने गरिन्छ भने अर्को समूहलाई कोभिड-१९ को खोप दिइँदैन। खोपको मात्रा पूरा भइसकेपछि निश्चित समयभित्र दुवै समूहमा कति जनालाई कोभिड-१९ को संक्रमण भयो भनेर परीक्षण गर्ने गरिन्छ र त्यसैको आधारमा खोपको उपयोगिता निर्धारण गरिन्छ।

फाइजरको खोप ९० प्रतिशत उपयोगी देखिनुको मतलव खोप लगाएका व्यक्तिहरुमा कोभिड-१९ को संक्रमणको सम्भावना खोप नलगाएका व्यक्तिहरु भन्दा ९० प्रतिशतले कम हुन्छ भन्ने बुझिन्छ। अर्को तरिकाले भन्नुपर्दा खोप नलगाएको समूहमा १०० जनालाइ कोभिड-१९ को संक्रमण हुँदा खोप लगाएको समूहमा जम्मा १० जना संक्रमित हुने भए।

कोभिड-१९ को खोप सुरक्षित र उपयोगी भएको प्रमाणित भएपछिमात्र यसले बजारमा जाने अनुमति पाउँछ। त्यसपछि पनि करोडौंको मात्रामा खोप उत्पादन गर्न धेरै समय लाग्ने गर्छ। ठूलो संख्यामा खोप उत्पादन गर्दा निर्माण प्रक्रियामा कुनै त्रुटि नहोस र यसको क्वालिटीमा कुनै कमी नहोस भनेर धेरै ध्यान दिनुपर्ने हुन्छ।

अमेरिकाको खाद्य तथा औषधि प्रशाशन (Food and Drug Administration) ले कोभिड-१९ को खोपलाइ प्रयोगको लागि अनुमति दिन तेस्रो चरणको परिक्षणमा कम्तिमा पनि ५० प्रतिशत उपयोगी हुनुपर्ने उल्लेख गरेको छ। त्यसैले पनि फाइजरको कोभिड-१९ खोपको प्रारम्भिक नतिजामा ९० प्रतिशत उपयोगी देखिनु उत्साहजनक छ। तर परीक्षण अझै नसकिएकोले यसको वास्तविक उपयोगिता थाहा पाउन अन्तिम नतिजा कुर्नुपर्ने हुन्छ।

कुनैपनि खोपको परीक्षण गर्दा यसको उपयोगितासँगै ध्यान दिनुपर्ने अर्को प्रमुख कुरा भनेको यो सुरक्षित छ कि छैन भन्ने पनि हो। फाइजरले गरेको पहिलो चरणको परिक्षणको नतिजा अनुसार यो कोभिड-१९ को खोप लगाउदा १ हप्ताभित्र खोप दिएको ठाउँमा हल्का दुख्ने, सुन्निने हुन सक्छ भने केहि दिन हल्का ज्वरो आउने, थकान महसुस हुने जस्ता प्रणालीगत परिवर्तनहरु पनि देखिन सक्छ।

तर यी बाहेक अरु गम्भीर समस्या पहिलो चरणको परीक्षणमा देखिएको थिएन जुन कुरा तेस्रो चरणको हजारौको संख्यामा गरिएको परीक्षणमा पनि प्रमाणित हुनु आवश्यक हुन्छ।

कोभिड-१९ को खोप सुरक्षित र उपयोगी भएको प्रमाणित भएपछिमात्र यसले बजारमा जाने अनुमति पाउँछ। त्यसपछि पनि करोडौंको मात्रामा खोप उत्पादन गर्न धेरै समय लाग्ने गर्छ। ठूलो संख्यामा खोप उत्पादन गर्दा निर्माण प्रक्रियामा कुनै त्रुटि नहोस र यसको क्वालिटीमा कुनै कमी नहोस भनेर धेरै ध्यान दिनुपर्ने हुन्छ।

खोपको निर्माण पछि यसको वितरण प्रक्रिया पनि उत्तिकै महत्वपूर्ण हुन्छ। जस्तै फाइजरको खोपलाई धेरैनै चिसो (माइनस ७० देखि ८० डिग्री सेल्सियस) मा राखेर ओसारप्रसार गर्नुपर्ने हुन्छ। त्यसैगरी तेस्रो चरणकै परीक्षणको क्रममा रहेको मोडर्ना कम्पनीको खोपलाई पनि चिसो (माइनस २० डिग्री सेल्सियस) तापक्रममा राखेर वितरण गर्नुपर्छ। त्यसैले फाइजर र मोडर्नाको जस्तो धेरै चिस्यान चाहिने खोपहरु वितरणको लागि नेपाल जस्तो स्रोत र साधन कमि भएको देशमा गार्हो हुनसक्छ।

अहिले १० भन्दा धेरै कोभिड-१९ विरुद्धका खोपहरु तेस्रो चरणको परीक्षणको क्रममा छन्। तेस्रो चरणको परीक्षणमा यिनीहरु कति सुरक्षित र उपयोगी देखिन्छन त्यसैमा यिनीहरुको भविस्य निर्धारण हुन्छ। त्यसपछि ठूलो मात्रामा उत्पादन गर्ने र वितरण गर्ने गरिन्छ। त्यसैले यी सबै प्रक्रिया पूरा गर्न अझै ६ महिना भन्दा बढी समय लाग्न सक्छ।

कोभिड-१९ को सुरक्षित र उपयोगी खोप उपलब्ध भएपछी सबै देशलाई समानरुपले खोप वितरण गर्नुपर्छ भन्ने आवाज उठेपनि जुन देशले खोप निर्माणमा लगानी गरेका छन् उनीहरुलेनै खोपको धेरै मात्रा प्रयोग गर्ने कुरा सजिलै अनुमान गर्न सकिन्छ। ती देशहरुमा पनि सबैभन्दा पहिले उच्च जोखिममा रहेका समूह जस्तै स्वास्थ्यकर्मीहरुमा यसको पहिलो प्रयोग गर्ने सम्भावना छ।

जति धेरै खोपहरु तेस्रो चरणको परीक्षणमा सफल हुन्छन त्यतिनै विश्वभर सहजरुपमा यो खोप उपलव्ध हुने सम्भावना बढी हुन्छ। यस्तोमा नेपाललगायतका अरु देशहरु जो सँग आफ्नै स्रोत र साधन छैन उनीहरुले समयमै खोप निर्माण गर्ने कम्पनि लगायतका अन्य दातृ निकायहरुसँग समन्वय र पैरवी सुरुगर्नु उचित हुन्छ।

डा. सन्तोष ढकाल, अमेरिकाको प्रतिष्ठित जोह्न्स हप्किन्स विश्वविद्यालयमा इन्फ़्लुएञ्जा र कोरोना भाइरसको संक्रमण र खोपको उपयोगिताको क्षेत्रमा अनुसन्धानरत् छन्।

 

 

 

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो