कोरोना कहरबीच छठको उल्लास (फोटोफिचर)
काठमाडौँ । छठ पर्वको मुख्य दिन आज बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ दिँदै देशभर छठ पर्व मनाइएको छ। कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको आज (शुक्रवार) मुख्य दिन हो । शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पुजा अन्त्य हुन्छ ।

कोभिड–१९ को महामारीका कारण आज (शुक्रवार) बेलुकी अधिकांश तराईवासी विभिन्न समुदायले प्राकृतिक नदी र तलाउमा गएर पूजापाठ गर्नुको साटो घर परिसरमै जलकुण्ड बनाएर गरी पर्वको विधिविधान पालना गरेका छन् । विगत वर्षमा राजधानीको कमलपोखरी, नागपाखरी, गहनापोखरी, गुह्येश्वरी मन्दिरअघिको वाग्मतीबाट गौरीघाटसम्मको नदी किनारमा बेहुली झैँ सिँगारेर छठ घाट बनाइएको हुन्थ्यो । यस वर्ष भने कोरोना सङ्क्रमणका कारण राजधानीमा भौतिक दूरी कायम गरेर अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ ।

विगतमा लाखौँ भक्तजनले कार्तिक शुक्ल षष्ठीको बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ दिने गरेकामा यस वर्ष सीमित ब्रतालुहरु मात्र कमलपोखरी, गुह्येश्वरी, नागपोखरीलगायत नदी किनार एवं जलाशयमा भेटिएका थिए । विगत वर्षमा राष्ट्राध्यक्षका नाताले राष्ट्रपति विद्यादेवी भण्डारीले गुह्येश्वरी, कमलपोखरीमा बनाइएको छठी माताको मूर्तिमा पूजा आराधना गर्ने परम्परा भए पनि यस वर्ष कोरोना महामारीका कारण प्रभावित भयो ।

उखुको लाँक्रा र केराको घरीसहित पूजा सामग्री लिएर भक्तजन नदी किनारमा बस्नेक्रम पनि यस वर्ष पातलो मात्र देखिन्थ्यो । विगत वर्षमा रातभर नदी किनारमा हालिएको पालमुनि जाग्राम बसेर बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिइने व्यवस्था गर्ने गरिएकामा यस वर्ष जिल्ला प्रशासन कार्यालय काठमाडौँले विगत नौ वर्षदेखि छठ मनाउँदै आएका व्रतालुलाई मात्र छठी घाटमा उपस्थित भएर पूजा आराधना गर्न अनुमति दिएको कमलपोखरी छठ समाजका अध्यक्ष राजेन्द्र सिंहले बताए ।

सूर्य षष्ठीसमेत भनिने कार्तिक शुक्ल षष्ठीका दिन अस्ताउँदो र सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिए वर्षभर सूर्यको आर्शिवाद पाइने विषय सूर्य पुराणलगायत पौराणिक एवं धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।






No ads found for this position


Facebook Comment