मार्ने उद्देश्यले चक्कु प्रहार गरिएकी अभिनेत्रीलाई निको नहुँदै फेरि आयो हत्याको धम्की

डिसी नेपाल
६ मंसिर २०७७ ११:०६

मुम्बइ। बलिउड अभिनेत्री मालवी मल्होत्रालाई फेरि ज्यान मार्ने धम्की आएको छ । केही दिनअघि उनीमाथी घातक आक्रमण भइसकेको छ । उनीमाथि उनकै मित्र योगेश महिपाल सिंहले आक्रमण गरेका थिए । अहिले उपचार गराइरहेकी अभिनेत्री मालवीलाई फेरि ज्यान मार्ने धम्की आएको छ । उनले यस विषयमा मुम्बइ पुलिसलाई जानकारी गराउँदै सुरक्षा मागेकी छिन् ।

एक भारतीय अखबारसँग कुरा गर्दै मालवीले धम्की १८ नोभेम्बरका दिन दिइएको बताएकी छिन् । डाक्टरको सल्लाहअनुसार हल्का हिँडडुल गर्नको लागि बेलुकी मातापितासँग बाहिर निस्किएकी मालवीलाई मोटरसाइकल सवार एक व्यक्तिले धम्की दिएका हुन् । घरबाहिर निस्किएकी मालवीको छेउमै मोटरसाइकल लिएर आएका ती व्यक्तिले उनलाई अब उनी र उनको परिवार नबच्ने धम्की दिएका थिए । मुम्बइ पुलिसले सुरक्षा दिने आश्वासन दिएको उनले बताएकी छिन् ।

मालवीका अनुसार मुम्बइ पुलिसले उनलाई सुरक्षा दिनुको साथै हतियारको लाइसेन्स समेत दिने आश्वासन दिएको छ । मालवीले आफू र आफ्ना मातापिता निकै डराइरहेको बताउँदै छिटै घर परिवर्तन गर्ने तयारी गरिरहेको बताइन् । यसअघि उनीमाथि आक्रमण गर्ने योगेश पुलिस हिरासतमा छन् । मालवीले यो धम्कीको पछाडि पनि योगेशकै भूमिका रहेको दावी गरिन् । नोभेम्बर २४ मा योगेशको अदालतमा पेशी भएकोले त्यो दिन अदालतले उनलाई धरौटीमा छाड्न सक्ने सम्भावनाले मालवीले आफू त्रसित रहेको बताइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *