उदाउँदो सूर्यलाई अर्घ दिएर छठलाई विदाई गरियो

डिसी नेपाल
६ मंसिर २०७७ ११:१४
76
Shares

काठमाडौँ । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको छ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व बुधबारदेखि शुरु भएको हो। चतुर्थीमा स्नान गरी चोखो खाएर बसिन्छ । यस दिनबाट छठ पर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि नखाने विधि छ । कार्तिक शुक्ल सप्तमीका दिनअर्थात् आज बिहान उदाउँदो सूर्यलाई पूजासहित अघ्र्य दिएपछि यो पर्व सम्पन्न भएको हो।

मनोकांक्षा पूरा हुने विश्वासमा विशेष गरी महिलाले छठमा कठोर व्रत गर्ने गर्छन् । विशेष गरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँ लागायत पहाडी क्षेत्रमा समेत मनाउन थालिएको हो । विसं २०६३ पछि भने काठमाडौँको थापाथली, गौरीघाट र रानीपोखरीमा पनि विशेष महत्वका साथ मनाउन थालियो । विगत वर्षमा बेहुलीझैँ सिँगारी राजधानीमा मनाइने छठ यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण भौतिक दूरी कायम गरी मनाइएको छ । आज बिहान यी स्थलहरुमा उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ सम्पन्न भयो । शुक्रबार बेलुकी अस्ताउँदो सूर्यलाई जस्तै आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिन पनि व्रतालुमात्र राजधानीका छठ घाट गएका थिए ।

कमलपोखरीमा विगत वर्षहरुमा करिब १५ हजार मानिस उपस्थित भएर छठ पूजा गर्ने गरिएकामा यस वर्ष जिल्ला प्रशासन कार्यालयको आह्वानमा १५० जनाले भौतिक दूरी कायम गरी अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएको कमलपोखरी छठ समाजका अध्यक्ष राजेन्द्र सिंहले जानकारी दिए।

उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अघ्र्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । सूर्यको दर्शन गर्दा भक्तहरु लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि छ ।

पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रुपमा मानी विशेष पूजा गर्ने गरिएको धार्मिक विश्वास छ । कार्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकांक्षा पूरा भई इच्छाएको फल प्राप्त हुने धार्मिक विश्वासको चर्चा शास्त्रमा गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ््ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए। सूर्यषष्ठीसमेत भनिने कार्तिक शुक्ल षष्ठीमा सूर्यको पूजा आराधना गर्ने निर्देश शास्त्रमा गरिएको उनले जानकारी दिए।

सूर्य पूजा र दर्शन गरी विवाहिता महिला पुरुषले पति पत्नीको दीर्घायु एवं अविवाहिताले सुयोग्य वर वधु प्राप्तिको कामनाका लागि गर्छन् । सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको सङ्ख्या पनि धेरै छ।

सर्वप्रथम छठीमाताले सूर्यदेवलाई खुशी पारी यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ । महाभारतकालमा द्रोपदीसहित पाण्डव अज्ञातवासमा रहँदा सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए। पाण्डव मिथिलाको विराट राजाका दरबारमा बसेका बेला गरेको सूर्य पूजाका प्रभावले अज्ञातवास सफल भएको विश्वासमा यो पर्व मनाउन शुरु गरिएको भन्ने भनाइ छ । सूर्य पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसुयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरुआत भएको विश्वाससमेत गरिन्छ। पूर्णप्रसाद मिश्र /रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *